Comments Add Comment

बजेट नपाएपछि ‘यूएचटी मिल्क’ उत्पादन गर्ने योजना अलपत्र

२ मंसिर, काठमाडौं । युरोपेली स्टान्डर्डको यूएचटी दूध उत्पादन गर्ने दुग्ध विकास संस्थान (डीडीसी) को योजना अलपत्र परेको छ । तीनवर्ष अघिदेखि डीडीसीले यूएचटी उत्पादन गर्ने योजना बनाएपनि बजेट अभावमा प्रक्रिया समेत थाल्न नसकिएको प्रवक्ता इश्वरीप्रसाद अधिकारीले बताए ।

नेपालमा अझै सहजै स्टेरलाइज्ड दूध उत्पादन हुन सकेको छैन । अल्ट्रा हिट टि्रटेड -युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी बिक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न सकेका छैनन् ।

विदेशबाट आयात हुने यूएचटी मिल्कलाई स्वदेशी उत्पादनले प्रतिस्थापित गर्नेे उद्देश्यका साथ नेेपालमै उत्पादन थाल्ने योजना तयार गरिएको थियो ।

संस्थानले यूएचटी दूध उत्पादनका लागि तयारी थालिसकेपनि आवश्यक बजेट उपलब्ध नहुँदा समस्या भएको अधिकारी बताउँछन् ।

प्लान्ट निर्माणका लागि सरकारसँग बजेट मागेको डीडीसीलाई अनुदान दिन सरकारले चासो देखएको छैन । यूएचटी दूध प्लान्टको स्थापनाका लागि ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले यो रकम उपलब्ध गराए जतिसक्दो छिटो उत्पादन थाल्ने गरी तयारी अघि बढाइने अधिकारीको भनाइ छ ।

सरकारको बेवास्ता

अघिल्लो आर्थिक वर्षको बजेट भाषणमै युएचटी मिल्क उत्पादनका लागि प्लान्ट स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको उल्लख गरिएको थियो । तर, उपलब्ध गराउन अर्थ मन्त्रालयले चासो नदेखाएपछि समस्या भएको डीडीसीले जनाएको छ ।

सरकारले अनुदान उपलब्ध गराए लगतै डीडीसीले प्लान्ट स्थापनाका लागि काम थाल्ने डीडीसीका प्रवक्ता अधिकारीले बतउँछन् ।

यूएचटी दूधको प्लान्ट बुटवलमा राख्ने योजना बनाइएको छ । प्रतिघण्टा ५ हजार लिटर दूध उत्पादन हुने गरी प्लान्ट निर्माण गर्ने योजना कागमै सीमित भएको छ ।

दूध उत्पादनको मुख्य सिजनमा पूर्ण क्षमतामा चलाएर युएचटी दूधका लागि बजार स्थापित गर्न सकिने डीडीसी बताउँछ । प्लान्ट स्थापनाका लागि बुटवल औद्योगिक क्षेत्रको जग्गा भाडामा लिने योजना छ ।

अहिले बुटवलको औद्योगिक क्षेत्रमा डीडीसीको आफ्नै आयोजना पनि सञ्चालनमा छ । यही क्षेत्रमा यूएचटी प्लान्ट राखेर नयाँ किसिमको दूधको उत्पादन थालिनेछ । यो दूध डीडीसीका विक्री केन्द्रमार्फत देशभर वितरण गर्ने भनिएको थियो ।

कस्तो हुन्छ युएचटी मिल्क ?

यूएचटी दूध उच्च तापक्रममा प्रशोधन प्याकिङ गरिने दूध हो । जुन छाटो समयमै दूध जम्ने वा ब्याक्टेरिया संक्रमणको शिकार हुने सम्भावना हुँदैन ।

फ्रुट जुसहरु कागजका बट्टामा प्याक गरेर बेचिए जस्तै यो दूध पनि सोही अवधारणा र स्वरुपमा प्याक गरिन्छ ।
यसलाई उत्पादन भएको ६ देखि १० महिनासम्म प्रयोग गर्न सकिन्छ । फ्रिजमा नराखेपनि यो बिगि्रँदैन भने यसलाई जहाँ पनि लैजान सकिन्छ । यो तयारी दूध भएकाले बजारमा किनेर सिधै सेवन गर्न सकिन्छ ।

यसमा दूधमा हुनुपर्ने सबै पौष्टिक तत्वलाई कायम राखिएको हुन्छ । विशेष गरेर तताउनु नपर्ने र पसलहरुबाट किनेर सिधै सेवन गर्न सकिने भएकाले यसमा उपभोक्ताको आकर्षण उच्च हुने विश्वास गरिएको छ । यो दूधमा कुनै प्रकारका नमिठो गन्ध आउँदैन । यो खानका लागि पौष्टिकसँगै अत्यन्तै सुरक्षित पनि मानिन्छ ।

डीडीसीले अहिले साना बोतलमा यस्तै प्रकारको दूध थोरै मात्रामा उत्पादन गरिरहेको छ । तर, त्यो प्रभावकारी नभएकाले उपभोक्ताको आकर्षण छैन ।

त्यसैल अब आधुनिक प्याकिङ पद्धतिमा जाने योजना छ । अहिले उत्पादन भएको यूएचटी दूध सबै ठाउँमा पुर्‍याउन सकिएको छैन ।

अहिले नेपाली बजारमा युरोपसहित भारतबाट विभिन्न ब्राण्डका युएचटी मिल्क आउने गरेका छन् । तर, विदेशबाट आयात गरिएका यस्ता दूध सामान्य भन्दा निकै महंगो पर्छ ।

भारतबाट आएको दूध लिटरको २०० रुपैयाँसम्म पर्छ भने तेस्रो मुलुकबाट आएका दूधको मूल्य ३०० भन्दा रुपैयाँ भन्दा माथि छ । तर, डीडीसीले यूएचटी प्लान्ट स्थापना गरेर उत्पानन थाले १ सय रुपैयाँसम्म बिक्री गर्न सकिने अनुमान छ ।

सन् १९७० को दशकदेखि उत्पादन सुरु भएको युएचटी दूधको आधुनिक स्तरको उत्पादन नेपालमा अझै हुन सकेको छैन । युरोपमा प्रत्येक १० मध्ये ७ जनाले यो दूधको प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment