Comments Add Comment

पत्रपत्रिका समाचार: आक्रमणकारीलाई सीधै गोली हान्न गृहको आदेश


३ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुले उम्मेदवार लक्षित आक्रमणका घटनाहरुलाई समेट्दै चुनावी असुरक्षा बढेको समाचार लेखेका छन् ।

नयाँ पत्रिका दैनिकले निर्वाचनको वातावरण बिथोल्न सक्रिय समूहलाई सीधै गोली हान्न गृहमन्त्रालयले आदेश दिएको समाचार लेखेको छ ।

समाचारमा लेखिएको छ, ‘बम विष्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विष्फोट गराउँदै गरेको वा विष्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्ने समेत आदेश दिइएको छ ।’

तर, गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिएको उल्लेख छैन ।

 

चुनावी प्रचारमा सरकारी गाडीको दुरुपयोग

सरकारी सुविधाका गाडी प्रयोग गरेर निर्वाचन प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हुने भए पनि मन्त्री तथा राज्यमन्त्रीले यसको बेवास्ता गरेका छन् ।
नयाँ पत्रिका दैनिकका अनुसार बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेको लेखेका छन् ।

गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेको समाचारमा उल्लेख छ ।

चुनावी सुरक्षामा लापरबाही 

आजको अन्नपूर्ण पोस्ट दैनिकले चुनावी सुरक्षामा लापरवाही भएको समाचार लेखेको छ ।

अन्नपूर्णले लेखेको छ– कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको सरकार र सुरक्षा निकायले विप्लव समूहको ‘शक्ति’ को सही अनुमान गर्न र त्यसअनुसारको सुरक्षा रणनीति बनाउन नसक्दा हिंसाका घटना बढ्दै गएको  छ।’

दलित कोटामा गैरदलितको मस्ती

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरु दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसदेखि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् ।

‘गोरखापत्र दैनिकले दलितको कोटामा गैरदलितको मस्ती’ शीर्षकको समाचारमा लेखेको छ– निर्वाचन आयोगले १७ कात्तिक ०७४ मा प्रकाशित गरेको सूचीमा दलहरुले दलित कोटामा गैरदलितलाई उठाएका मात्रै छैनन्, प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ मा उल्लेखित दलित कोटाभन्दा कम सूची बुझाएका छन् ।’

बौद्धिक बैरीको घेरामा बाबुराम


बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भएको छ । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएको समाचारलाई आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

अन्नपूर्णले लेखेको छ– शनिबार वक्तव्य जारी गर्दै उनीहरूले गोरखाका ‘पारखी जनतालाई अवसरवादी चिन्न अपिल’ गरे । नयाँ शक्ति पार्टी संयोजक भट्टराई गोरखा–२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् ।

श्रम गरे कैदमा छुट

कारागारमा कैद भुक्तान गरिरहेकाहरुले श्रम गरेमा कैदमा छुट पाउने भएका छन् ।

गोरखापत्र दैनिकका अनुसार, सर्वोच्च अदालतले कारागारभित्र श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य रुपमा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ ।

कैदीबन्दीलाई कारागारमा काम लगाइए पनि श्रम गरेअनुसार कैद कट्टीको व्यवस्था नभएको भन्दै दायर रिटमा सर्वोच्चले कारागार नियमावलीको प्रचलित व्यवस्था कार्यान्वयन गर्न परमादेश जारी गरेको हो ।

लोडसेडिङ बढ्न सक्ने

भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयालमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबार राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, यसको असर ढल्केबर–मुजम्फ्फपुर प्रसारण लाइनमार्फत नेपालले आयत गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ ।

टनकपुरको बिजुली कोहलपुरसम्म अपूर्ति हुँदै आएको थियो । टनकपुर बन्द भएपछि प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत अन्यत्र खपत हुने बिजुली त्यता पठाउँदा उपत्यकालगायत प्रमुख सहरमा लोडसेडिङ हुने सम्भावना बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment