Comments Add Comment

सडेन अट्याकः तपाईलाई पनि हुनसक्छ

एक मदिराप्रेमी पत्रकारको 'कन्फेशन'

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र एवं मेरा मित्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको खबरले स्तब्ध छु । केही समयअघि प्रचण्डकै अनन्य सहयात्री पोष्टबहादुर बोगटीको पनि हृदयघातबाटै निधन भएको थियो ।

हृदयघात खासमा खानपानसँग सम्बन्धित समस्या हो । मांस, मदिरा मात्र हैन, अस्वस्थ खानपान र जीवनशैली पनि यसको मुख्य कारण हो । पूर्वी दर्शन र हाम्रा ऋषिमुनिहरुले सात्विक र सकारात्मक जीवनशैलीमा जोड दिएका छन् । आधुनिक समाजले ती मूल्य र मान्यताहरुलाई भुल्दै गएका कारण आज हामी ‘सडेन अट्याक’को शिकार भइरहेका छौं ।

नारायण गोपाल, हरिभक्त कटवाल, भूपि शेरचन, पारिजात, आदि ख्यातिप्राप्त नेपाली सपुतहरुको पनि अल्पायुमै निधन हुनुमा मदिराकै मुख्य भूमिका रहेको तथ्य कसैबाट छिपेको छैन ।

निकट अतीतमै मेरा धेरै मित्रहरुलाई मदिराले लग्यो । स्पेशटाइम दैनिकमा सँगै काम गरेका प्रकाश श्रेष्ठ दाई हेर्दाहेर्दै गए । लेखक गोविन्द वर्तमान र अग्नि शिखा दाइ पनि आँखै सामु बिते । मेरा मित्रहरु गायक खेमराज गुरुङ र सुनील बर्देवाको पनि ‘अनएक्सपेक्टेड डेथ’ भयो ।

हरेक दिन कसै न कसैलाई हर्ट अटयाक भएका खबरहरु हामी सुनिरहन्छौं । मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बारम्बार भन्नुहुन्छ, ‘रेड मिट नखाउँ । रक्सी छुँदै नछोउँ, ती विष हुन् विष ।’ तर, उहाँको सल्लाह मै हुँ भन्ने लेखक, पत्रकार, नेता, वकिलमात्र हैन, डाक्टरहरुले समेत मानिरहेका छैनन् र अनेक समस्या भोगिरहेका छन् ।

अस्तिसम्म ‘२० वर्षपछि यो देशलाई स्वीटजरल्याण्ड बनाउँछु’ भनेर भाषण गर्ने नेता ‘सडेन अटयाक’ भएर सिल्टुमुर खान्छ । आफ्नो मुटुको जतन नगर्नेले कसरी देश बनाउँछ ?

डा. अरुणा उप्रेती भनिरहनुभएको छ, बजारका जंक फुड, फास्ट फुड नखाउँ ।’ तर, कसैले सुनिरहेको छैन । अनि हुन्छ, ‘सडेन अटयाक’ । अनि हुन्छ रुवाबासी र तनाव । प्रायः ५० वर्षपछि लाग्ने मुटुको रोग अचेल २५ वर्षपछिका तन्नेरीहरुलाई पनि लाग्न थालेको छ भने यसको मूल कारण हाम्रो खानपान र जीवनशैली नै हो, जुन बिगि्रएको छ, बरालिएको छ ।

आफ्नै अनुभव

कुनैबेला मलाई पनि हृदयघातको उच्च खतरा थियो । एकपटक मेरो रक्तचाप हवात्तै बढेर हवात्तै घटेको थियो । किन त्यसो भयो भनेर चिकित्सकलाई देखाउँदा उनले मलाई ‘तपाई मदिरा पिउनुहुन्छ ?’ भनेर सोधेका थिए ।

निश्चय नै पत्रकारितामा सक्रिय रहने क्रममा मैले पनि धेरै वर्ष मदिरा पिएको थिएँ । उही रामकृष्ण ढकालको गीतले भनें झैं ‘माछा पानीमा पौडिएसरी, नसोध जीवनमा कति खाइयो ।’

भयो के भने, ०४७ सालको परिवर्तनताका म भर्खर १७/१८ वर्षको ठिटो थिएँ र ‘समालोचना दैनिक’ भन्ने पत्रिकामा काम गर्थें । मुलुकमा च्याउ उमि्रएझैं एनजीओ/आइएनजीओ खुलेका थिए र तिनले तारे होटलहरुमा गोष्ठि सेमिनार आयोजना गरिरहन्थे ।

गाउँमा मासु भात खान दशैं कुर्नुपर्ने आर्थिक लेभलका हामी केही ठिटा पत्रकारहरु पाँचतारे होटलका ती परिकार फोकटमा खान पाउँदा दंग पथ्र्यौं । सुरुमा परिकारले लोभ्यायो । संगत गुनाको फल, साथीहरुको लहैलहैमा पछि बियर हुँदै भोडका, रम र ह्वीस्कीको पारखी भइयो ।

अवस्था कस्तो भने, स्वास्थ्य चेतना जगाउन भनेर तारे होटलमा गोष्ठिको आयोजना हुन्थ्यो, रातपरेपछि ककटेल वीथ डिनर । कुनै संस्थाले कुनै गाउँमा एक लाखको अनुदानमा कुनै कार्यक्रम सञ्चालन गरेको हुन्थ्यो, त्यसको झ्याली पिटनकै लागि एनजीओहरु ३ लाख खर्च गर्थे । गाउँका गरीबहरुको फोटो प्रदर्शनी हुन्थ्यो, अनि ककटेलमा तिनै गरीबहरुको विपन्नताको खिल्ली उडाइन्थ्यो ।

पृथ्वीको एटमस्फीयरको ओजोन तहमा प्वाल परेर ग्लोबल वार्मिङको समस्या भयो भनेर कार्यक्रम आयोजना गर्नेहरु नै साँझ चुरोटका धुवाँ उडाउँथे । त्यो देखेर मलाई पनि चुरोट तानूँ तानूँ लाग्थ्यो । यसरी चुरोट पनि तान्ने बानी लाग्यो । बजारमा भर्खर शिखर चुरोट आएको थियो, फिल्टरवाला ।

चिल्लो निमन्त्रणा कार्डको तल ‘फलोड बाइ ककटेल एण्ड डिनर’लेखेको देखेपछि समय र भेन्यू डायरीमा टिपिहाल्थ्यौं । साँझ तिनै होटलमा छिथ्र्यौं । काठमाडौं अहिलेभन्दा उबेला निकै जाडो हुन्थ्यो । कार्यक्रम कहिले सकिएला र पेग लगाउँला भनेर ब्यग्र प्रतिक्षा गरिन्थ्यो ।

त्यहाँ पत्रकारका नाममा गैरपत्रकारहरुको पनि बाक्लै भिड हुन्थ्यो । होटलका म्याजेर गुनासो गरिरहेका हुन्थे, ‘तीन सय जनालाई डिनर अर्डर गर्ने, पाँच सय बोलाउने ?’

कहिले सोल्टी, कहिले ब्लू स्टार (अहिले यो होटल छैन) अनि कहिले टिभौली, कहिले क्रिस्टल त कहिले याक एण्ड यति होटलमा आयोजना हुने पार्टीमा पत्रकारका हैसियतले उपस्थित भई साँझपख मातेर (अझ कहिलेकाँही बाटोमै छाद्दै) घर फर्केने क्रम लगातार १५ वर्षसम्म अर्थात ०६४/०६५ सालसम्म चलिरह्यो ।

रिपोर्टिङबाट सरुवा भएर ‘अन्नपूर्ण पोष्ट’को डेस्कमा गएपछि मात्रै होटल धाउने क्रम टुटेको हो ।

होटलमा कार्यक्रम नहुँदा पाटनको कृष्ण मन्दिर पछाडि रहेका बारा, छोयला, कचिला र चटामरी पसलमा पनि गइन्थ्यो । जगका जग छयाङ या कहिले अयला बजाएर राति १० बजे लगनखेलतिर सान झार्दै, ‘गिरिजाबाबुले देश बिगारे, सिद्धिलाल कमरेड जिन्दावाद’ भन्दै हिँड्थ्यौं । पुलिसले ‘राति राति किन हल्ला गरेको ?’ भन्दै सोध्थे । ‘कसलाई थर्काएको ? चिन्या छ, को हो ?’, म कड्किदै भन्थें ।

कडकिएको स्वरमा कराएको देखेपछि प्रहरी हच्किन्थे, कतै यो कुनै ठूलै मान्छे हुनसक्छ भनेर ।

हामी प्रेस पास देखाउँथ्यौं । त्योबेला प्रेस पासको भ्यालु अहिलेजस्तो सस्तो र हल्का कहाँ थियो र ? पत्रकार भनेपछि जो पनि डराउँथे र डरभावले ओतप्रोत भएर सम्मान पनि गर्थे । प्रेस पास देखेपछि प्रहरी अवाक् हुन्थे, हामी अगाडि बढथ्यौं । र, राति एक बजेतिर वीर अस्पतालमा आएर चिया/चुरोट खाएपछि मात्रै त्यो साँझको रमझम सकिन्थ्यो । डेरामा पुग्दा उही बिहानको तीन/चार बजेको हुन्थ्यो ।

दिनहुँको अखाडा थियो, पुतलीसडक । पुस्करको सेकुवा या प्रेम सेकुवाको सुवास फुटपाथसम्म आउने । पत्रकार राजेश मिश्र, केदार कोइराला, अनुप थपलिया सुरुची साप्ताहिकमा काम गर्थे । अलि पर देशान्तरमा विष्णु निष्ठुरी र राजेश ढुंगानाको जक्सन ।

सिंहदरबार छेउमै ‘प्रतिपक्ष साप्ताहिक’को कार्यालय । नारायण ढकाल, हरी रोका, विमल निभा, स्यामल दाइ आदिको अखडा । बागबजारतिर गोपाल बुढाथोकीको हालीमुहाली । बागबजारकै भित्रतिर किशोर श्रेष्ठको रजगज । डिल्लीबजार उकालोतिर ‘प्रकाश साप्ताहिक’का बोधराज त्रिपाठीको रौनक । डिल्लीबजार पिपलबोटनेर जसोधा प्रधान दिज्यू र पुष्प प्रधान दाजुको हैकम । अलि पर ज्ञानेश्वर आसपास पदमसिंह कार्की, मनरञ्जन जोशीहरुको चहलपहल ।

यो प्रसँग यहाँ किनभने, उहाँहरुको जमघटमा फोकटमा मदिरा पिउन पाउँदा म औधि रमाउँथे । कालीमाटीमा ‘भुन्टीको पसल’मा शम्भु श्रेष्ठ दाजुले पनि धेरै बियर पिलाए । किनकि, सबै मलाई ‘भाइ’ भनेर माया गर्थे । माया गर्नेहरुको सूचीमा अग्रपंक्तीमा हुनुहुन्थ्यो, वरिष्ठ पत्रकारहरु बालमुकुन्ददेव पाण्डे, मुकुन्द पराजुली, हरिहर वीरही, जनार्दन आचार्य, कमल जोशी, योगेश उपाध्याय, किशोर नेपाल, जिवेन्द्र सिम्खडा, श्री आचार्य, देवप्रकाश त्रिपाठी, रेवतीरमण सुवेदी आदि आदि ।

उता, मैतीदेवीको गि्रन हाइट रेस्टुरेन्टमा ‘डियर काजल’को डान्स हेर्न जाँदा कसमस विश्वकर्मादेखि पूर्व अधिराजकुमार निराजनसम्म भेट हुन्थ्यो । निराजन पनि भोड्का क्रेजी । अनि त्यतै कतै नवीन के भट्टराईहरुसँग दोस्ती हुन्थ्यो र अनि सुरु हुन्थ्यो, रमझम ।

ती दिनहरुमा पुतलीसडकमा पत्रकार मित्रहरु ऋषि धमला, राजकुमार रेग्मी, मुकुन्द दाहाल, राजेन्द्रराज तिमिल्सिना, बालकुमार नेपाल, हेमन्त काफ्ले, जयप्रकाश त्रिपाठी आदि दिनहुँ भेट भइरहन्थे । यी त मेरा साँझका यार नै भए ।

साँझ परेपछि ‘वेदरले च्यालेन्ज गर्‍यो’ भन्दै भट्टीतिर छिरिन्थ्यो । फण्डिङको चिन्ता थिएन, धमला नै हाम्रा प्रायोजक हुन्थे । यस मामलामा उनी अहिले पनि उदार नै छन् रे, धेरै भो संगत नभएको । धमलाको प्रायोजनमा जाँड नखाने पत्रकार कमै होलान् । त्यही भट्टी-संगतै फल त हो, रिपोर्टर्स क्लवको स्थापना पनि, जुन अहिले चर्चामा छ । अब नामै क्लव भएपछि र त्यसमा स्थापनाकालदेखि संलग्न भएपछि पुतलीसडकका मेरा कुनै साँझ मदिरारहित भएनन् ।

अहो, जिन्दगी बडा बिन्दास थियो । रमाइलो के भने गोजीमा सुको नहुँदा पनि यो ज्यान हर दिन मातेकै हुन्थ्यो । अजिँगरको आहारा दैवले जुराउँछ भनेझैं मदिराको प्यास बुझाइदिने मूर्गाहरु हरेक दिन भेटिन्थे, कहिले पुतली सडकका भट्टीमा, कहिले तारे होटलहरुमा ।

यति मात्र हैन, ‘फलानोलाई ठोकेर मेरो प्रशंशामा लेख है’ भन्दै गोजीमा यसो एक दुई हजार घुसारिदिनेहरु पनि हुन्थे । फिल्मवालाहरु ‘फिल्म राम्रो छ’ भनेर लेख्न भन्थे र साँझ कक्षपती ब्रदरहरुको नाङ्लो क्याफेमा बार्बेक्यू र चिकनका सपेटासहित ह्वीस्की खान निम्त्याउँथे ।

मजबुरीका नाम महात्मा गान्धी ! दारुको जोहो गर्न पनि हामी झूर चलचित्रलाई ‘सत्यजित रेकै हाराहारीको चलचित्र’ भनेर फिल्म रिभ्यू लेखिदिन्थ्यौं । रिभ्यू छापिएपछि निर्माता झन खुशी हुन्थे अनि त्रिपुरेश्वरको ‘मुगल महल गजल’ मा डाक्थे र छादुञ्जेल मदिरा पिलाउँथे ।

यसरी विस्तारै मदिराको कुलतमा लागियो । हुँदा हुँदा अल्कोहोलिक नै भइयो ।

भन्न त मानिसहरुले ‘धेरै मदिरा नखाउ’ भनेकै हुन् । तर, मलाई सल्लाह दिनेहरु पनि मातेर झ्याप भएको देखेपछि चाँहि उनीहरुको गफ फाल्तु लागेको थियो ती दिनहरुमा ।

म एक प्रकारले जडयाँहा नै भएँ । सुरुसुरुमा मलाई लाग्थ्यो, नारायण गोपाल, भक्तराज आचार्य, भूपि शेरचन, पारिजातजस्ता हस्तीहरुले रक्सी खान हुन्छ भने मैले किन हुन्न ? दुई मुलुकका राष्ट्रप्रमुख या सरकार प्रमुखवीच मदिराले टोष्ट हुन्छ भने हामीले खान किन नहुने ? मदिरा खान हुन्न भने उत्पादन गर्न किन दिएको ? आदि प्रश्नहरुले म आफ्नो कुलतलाई सही साबित गर्ने कोशिस गर्थें ।

यसरी भयो, ‘यू टर्न’

जसै मेरो ब्लड प्रेसरमा हल्का गडबडी देखिन थाल्यो, अनि मलाई लाग्यो, ती दिनहरुमा लगातार १७/१८ वर्ष यो ज्यानमा जे जति मदिरा हुलियो, खान हुने र नहुने जे जे चिज खाइयो, त्यसकै रिजल्ट रहेछ यो । आखिर गीतामा भनिएकै छ- जस्तो कर्म उस्तै फल ।

कर्मको फल यो जुनीमा नभए अर्को जुनीमा पनि भोग्नुपर्छ भनेर योगी विकाशानन्दजी बारम्बार भन्नुहुन्छ । नभन्दै मैले त यही जुनीमा त्यसको फल भोग्न थालेका संकेतहरु देखिए । मेरो प्रारब्ध यही जुनीमा देखियो ।

मदिरा स्वास्थ्यका लागि हानिकारक रहेछ भन्ने कुरा जानकारीको लेभलमा हैन, बोधकै लेभलमा दिमागमा घुस्नुपर्दोरहेछ । हैन भने थाहा पाईपाई मानिस यो कुलतमा फस्दोरहेछ ।

मदिराका धेरै नकारात्मक प्रभावहरु छन् भन्नेबारेमा मैले भन्न नपर्ला । मुटु, कलेजो, आन्द्रा, किड्नी, फोक्सो सबै यसले खराब गर्छ । सुगर, ब्लड प्रेसर, हट अटयाक, युरिक एसिड, किड्नी फेलियर, पागलपन मात्र हैन, क्यान्सरसमेत हुन्छ, मदिराबाट । मदिरा नै हो, आजको समाजमा टेन्सन, डिप्रेशन र फ्रस्टेशनको कारण । यी सारा नकारात्मक पक्षबारे विज्ञ चिकित्सकले बताउलान् ।

मैले के थाहा पाएँ भने मदिरा पिउने मानिसको शरीरमा भिटामिन बि-१ को कमी हुँदोरहेछ । मुटुको माँसपेेशी र धमनीहरुलाई बलियो बनाउन आवश्यक यही भिटामीनको कमी भएपछि मुटु त्यसै पनि कमजोर हुने नै भयो । अल्कोहोलिक भइसकेपछि प्राकृतिक श्रोतबाट शरीरमा भिटामीन बि-१ को कमी हुन्छ ।

रक्सीसँग मासु खाँदा शरीरमा टक्सिनसँगै कोलस्टोरलको मात्रा बढदै जान्छ । पोलेका, तारेका र सेचोरेटेड फ्याट भएका दालमोट, चिप्स आदि स्न्याक्स खाँदा शरीर विजातीय तत्वहरुको गोदाम बन्छ ।

त्यसमाथि चुरोटका कारण निकोटिन । ठीक यसैबेला भिटामिन बी-१ को कमी भएपछि कमजोर मुटुका नलीहरुमा जाम हुन्छ । अनि रक्तसंचार अवरुद्ध हुन जान्छ र मुटुमा दबाव पर्छ । अनि हामीलाई हृदयघात हुँदोरहेछ ।

जब मैले यो थाहा पाएँ, अनि म उपचारतिर लागें । यसको उपचार विधि मानिसको शरीरको अवस्था र रोगको प्रकृतिअनुसार भिन्नाभिन्नै हुनसक्छ । एउटा अल्कोहोलिक मानिसका लागि निश्चित औषधि केही हुँदैन, बस् इच्छाशक्ति नै उसको ठूलो अस्त्र हो ।

तर, मदिराको दलदलबाट सुरुमा निकाल्नका लागि केही मेडिकल विधिहरु रहेछन्, जुन मैले अपनाएँः

१) चिकित्सकले मलाई एक महिनासम्म भिटामीन बि-१ को चक्की -थाइमेन हाइड्रोक्लोराइड’ दिए, जुन मैले साँझ-बिहान खानापछि खानुपथ्र्यो । मदिराले कमजोर बनाएका मेरा नशा र स्नायुहरु यसले बलियो बनाउँदै लग्यो ।

२) मेरो अल्कोहलले भरिएको पेट साफ गर्न मलाई लेक्टोलुज सोलुसन (ओरल सस्पेन्सन) दिइयो । राति सुत्नेबेलामा चार बिर्को सात दिनसम्म खाएँ । यसले आन्द्रालाई निकै तिब्र गतिमा सफा गरिदियो, केही दिन पातलो दिसा आए पनि यसले भित्रका सबै विकार बाहिर निकालिदियो ।

३) मदिराका कारण शरीरमा एसिडको मात्रा धेरै बढेको हुन्छ । कसै कसैको आन्द्राको भित्ता रातो भएर खिइएको पनि हुन सक्छ । अतः एक महिनासम्म हरेक बिहान खाली पेटमा मलाई ‘पेन्टाप्राजोल’ भन्ने एन्टासिड पनि दिइयो ।

४) मदिरा च्वाट्टै छाड्दा छटपटी नहोस् भनेर मलाई एक महिनासम्म साँझ-बिहान निदाउने अर्थात लठ्याउने औषधि पनि दिइयो, जसको नाउँ यहाँ गोप्य राखिएको छ । किनकि, यो औषधि चिकित्सकको भरपर्दो प्रेस्क्रिप्सनविना खरिद विक्री गर्न निषेध छ । यो औषधि पहिलो एक साता दिनको तीन टाइम, अर्को साता दुई टाइम र बाँकी दिनमा राति सुत्ने बेलामा एक टाइम दिइयो ।

म आज मदिरा खान्नँ

एक महिनासम्म यति उपचार गरिसकेपछि र ‘म आज एक दिन मदिरा खान्न’ भन्ने सूत्र लगाउन मलाई काउन्सिलिङ गरियो । एकजना महिला चिकित्सकले मलाई करीब एक घन्टासम्म परामर्श गर्नुभयो । ‘म आज एक दिन मदिरा खान्न’ भनेर हरेक दिन संकल्प गर्नुपर्नेरहेछ । अर्थात सदाका लागि खान्न हैन, आज एक दिन खान्न ।

आखिर भोलि त कहिल्यै आउनेवाला छैन । किनकि, हरेक दिन ‘आज’ हुन्छ । यही दृढ इच्छा राखिसकेपछि म मदिराको कुलतबाट मुक्त भएँ ।

एलोपेथिक उपचारको यो चरणपछि म अचेल ध्यान, योग र प्राणायामको संगतमा छु र जीवनमा केही गर्ने आशाका साथ अघि बढिरहेको छु ।

तमाम मदिराप्रेमीहरुलाई मेरो आग्रह छ, हामी मदिराबाट मुक्त हुन सक्छौं । अल्कोहोलिक मानिस केही चिकित्सकीय प्रकृया र दृढ इच्छाशक्ति राख्दै आफ्नो स्वाभाविक जीवनमा र्फकन सक्छ भन्ने एक उदाहरण मै हुँ । यसबारेमा विजयकुमारको कृति ‘खुशी’को एउटा च्याप्टरबाट पनि मैले प्रेरणा लिएको हुँ ।

यो अवधिमा मैले खानपिन सुधारें । मदिरा चटक्कै छोडियो । माछा मासु पनि सो अवधिभर चटक्कै त्यागियो । खासगरी डिप फ्राइड, पोलेको र तारेको र प्याकेटका चिजहरु खाइएन । फलफूल र सागसब्जीमा धेरै जोड दिएँ । एक भाग अन्न, दुई भाग सब्जी ।

अन्नमा पनि भातको साटो फापर, मकै र गहुँको पिठो मिसाएर गिलो रोटी बनाएर खाएँ । फाइबरयुक्त खानाहरुमा जोड दिएँ । खाजामा पोरिज (एक प्रकारको गहुँको चिउरा) मा किसमिस मिसाएर खाएँ ।

डा. योगी विकासानन्द, आचार्य श्री ओशो मैत्रेयलगायतका गुरुजीहरुका अमृतवाणीहरुबाट प्रेरणा लिएँ ।

अनि मलाई बोध भयो, हाम्रो जीवनमा सुख र दुःखका कारण हामी आफै रहेछौं । हाम्रा शत्रुहरु हामीभित्रै रहेछन् । यो स्वादे जिब्रोलाई नियन्त्रणमा राख्ने हो भने, अनावश्यक महत्वाकांक्षा नराख्ने हो भने, सात्विक, स्वस्थ खानपान र सकारात्मक सोचका साथ अघि बढ्ने हो भने यो हृदय खुशी हुन्छ, अनि हृदयाघात हुने सम्भावना पटक्कै हुँदैन ।

एउटा कुरा भनुँ, हृदयाघात हुनु भनेको खासमा हाम्रो मुटुले आत्महत्या गरेको हो । जसरी चारैतिरबाट समस्याले घेरिएपछि मानिसले आत्महत्या गर्छ, मुटुको अवस्था पनि त्यस्तै हुन्छ ।

र, मुटुलाई आत्महत्याको अवस्थासम्म नपुर्‍याउने एउटै उपाय हो, मुटुलाई माया गर्ने, जीवनशैली सुधार्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment