Comments Add Comment

उफ ! उकुसमुकुस काठमाडौं (फोटो फिचर)


काठमाडौं ।  ‘लुट’का हाकु काले भनेजस्तै ‘रहरलाग्दो’ छैन, काठमाडौं शहर । डेनी डेन्जोङ्पाले गाएजस्तै ‘मोटरमा राखेर कान्छीलाई घुमाउन’ सजिलो छैन, काठमाडौं शहर ।

भानुभक्तले ‘अमरावती कान्तिपुरी नगरी’ संज्ञा दिँदै बयान गरेको काठमाडौंमा अहिले धुलो र धुवाँको साम्राज्य छ । शहरभित्रको तस्वीर वास्तवमै कुरुप छ ।

उकुसमुकुस धुलो-धुवाँ र पट्यारलाग्दो कोलाहलले कान्तिपुरी नगरी बसिनसक्नु छ । कचौराजस्तो उपत्यका आफैंमा फोहोर र दुर्गन्धको डंगुर बन्दैछ । त्यसैले त, राजधानीमा पाइला टेक्नासाथ नव आगन्तुकको मुखबाट फुत्किहाल्छ, ‘उफ् ! काठमाडौं ।’

काठमाडौं, मुलुककै राजधानी । पुरातात्विक महत्वको धरोहर । मन्दिरै-मन्दिरको शहर । रोजगार र करिअरको अखाडा । यस कोणबाट हेर्दा राजधानी शहर वास्तवकै ‘शहर’जस्तो हुनुपर्ने हो । यो शहर नियाल्नासाथ स्वतःस्फूर्त ‘आहा !’ भन्नुपर्ने हो । तर, राजधानीको दुरावस्था देखेर मन खुम्च्याउँदै भन्नुपर्छ, ‘छ्या, काठमाडौं ।’

हो, काठमाडौं विकासकै चरणमा छ । तर, विकासका नाममा बेथितीले हद नाघेको छ । अहिले काठमाडौंका लगभग कुनै सडक धुलोविहीन छैनन् । वर्षाममा सडकमा जमेको हिलो अब धुलोका रुपमा साम्राज्य जमाउँदैछ ।

समान्यतया देशकै सबैभन्दा बढी व्यवस्थित र विकसित हुनुपर्ने शहर हो, राजधानी । तर, चरम अव्यवस्थाको शिकार हुँदा यहाँका बासिन्दा र आगन्तुक राजधानी काठमाडौंलाई ‘लाजधानी’को संज्ञा दिन्छन् ।


अहिले कलंकी-कोटेश्वर चक्रपथ फराकिलो बनाइँदैछ । कलंकी-नागढुंगा सडक पनि विस्तारकै क्रममा छ । तर, अनेक बहानामा काम लम्ब्याइँदैछ ।

सडक निर्माणका क्रममा धुलो/हिलो नियन्त्रणका लागि कुनै प्रयास नहुँदा काठमाडौंको आकाश धुलोको भारी बोकिरहेको छ । यहाँ बस्ने र आइपुग्नेहरु त्यही विषाक्त धुलो पान गरिरहेका छन् ।

ढुक्कसँग सास फेर्न नदिने काठमाडौंमा आनन्दसँग हिँड्न पनि पाइँदैन । सडक र पेटीहरुमा बटुवाको हैन, व्यापारीको राज छ ।

यहाँका बासिन्दाका अनेक प्रवृत्ति पनि शहरमा प्रदुषण बढ्नुको कारक हो । शहरका बासिन्दामै जागरणको अभाव लाजमर्दो विषय हो । र, विकासे अड्डाहरुको बेवास्ताले काठमाडौं अझ धुलो रुपी कुहिरोबाट छोपिँदैछ ।


धुलोसँग लडाइँ गर्नेहरु यसका कारण लाग्ने दीर्घकालीन रोगबारे जानकार छन् । तर, गर्नुपर्नेहरुले केही नगरेपछि ‘रहरको शहर’मा बाँचेकाहरुलाई अकालमै इहलीला समाप्त हुने कुराको त्यति धेरै चिन्ता पनि छैन ।

हो, वर्षाभर सडकमै हिलो छिचोलेको काठमाडौं हिउँद लागेपछि धुलोमा रुमलिएर आफूलाई बचाउँदैछ । काठमाडौंका तस्वीरमा देखिएका दृश्यकै कारण शहरमा अस्पताल र मेेडिकलको व्यापार भने दिनानुदिन उकालो लाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment