Comments Add Comment

प्रेस रिम्भूः १३ जिल्लामा सुरक्षा चुनौती, तर किन तोकिएन गृहमन्त्री ?

५ मंसिर, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुले प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा संयन्त्रहरुलाई दिएको निर्देशनलाई प्राथमिकता दिएर समाचार छापेका छन् ।

कान्तिपुर दैनिकले ‘चुनौती चिर्नुस्’ शीर्षक दिएर समाचार लेखेको छ जसमा कुनै पनि मतदाता र उम्मेदवार असुरक्षित भएको खबर सुन्नु नपरोस् भनेर प्रधानमन्त्रीले भनेको उल्लेख छ ।

प्रधानमन्त्री देउवाले शान्तिपूर्ण रुपमा निर्वाचन गराउन कुनै कसुर बाँकी नराख्न तथा निर्वाचनविरोधी तत्वलाई कारबाही गर्न निर्देशन दिएका छन् । मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाई जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउनसमेत उनले निर्देशन दिएको समाचारमा उल्लेख छ ।

किन तोकिएन गृहमन्त्री ?

चुनावमा सुरक्षा चुनौती बढीरहे पनि सरकारले गृहमन्त्री भने तोकेको छैन । माओवादी नेता जनार्दन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री देउवा आफैले गृहमन्त्रालय सम्हालेका छन् तर, उनले प्रदेश ३ को सुरक्षा बैठकमा उपस्थित हुने गरी पहिलोपटक गृहमन्त्रालय टेके । कार्यक्रममा करिब आधा घण्टा बसेका देउवा त्यसलगत्तै बालुवाटार पुगे ।

कान्तिपुर दैनिक लेख्छ- गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला पलपलमा गृहमन्त्रीको ठाडो  निर्देशन आवश्यक पर्छ, तर यस्तो बेलामा प्रधानमन्त्री व्यस्त हुँदा कतिपय तत्काल लिनुपर्ने एक्सन र काम कारबाही प्रभावित भइरहेको छ । माओवादी मन्त्री शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्रीले पार्टीभित्रका कोही विश्वासपात्रलाई गृहको जिम्मेवारी सुम्पने ठानिएको थियो ।

तर पार्टीभित्र गृहमन्त्रीका आकांक्षी धेरै भएको र चुनावको मुखमा महत्वपूर्ण मानिने मन्त्रालय कसैलाई सुम्पिँदा त्यसले पार्टीभित्र कलह बढाउने आंकलन गरी देउवाले गृहको जिम्मेवारी आफैंले लिए । फोरम लोकतान्त्रिक छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेतसम्म गृहमन्त्रीको आकांक्षी थिए ।

१३ जिल्लामा सुरक्षा चुनौती

अन्नपूर्ण पोष्ट दैनिकले १३ जिल्लामा सुरक्षा चुनौती रहेको समाचार लेखेको छ । दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा सुरक्षा चुनौती रहेको समाचारमा उल्लेख छ ।

यसैगरी धादिङ, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं र भक्तपुर जिल्लामा पनि सुरक्षा चुनौती छ । तर, भक्तपुर र मकवानपुरमा भने सुरक्षा चुनौती सामान्य रहेको समाचारमा उल्लेख छ ।

‘सूचना संयन्त्र असफल’

नयाँ पत्रिका दैनिकले सुरक्षा संयन्त्र असफल हुँदा निर्वाचन विरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेको समाचार लेखेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

समाचारमा लेखिएको छ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई दर्जनभन्दा बढी स्थानमा हिंसात्मक आक्रमण गरिसकेको छ । तर त्यससम्बन्धी सूचना प्रहरीले पाएर पनि रोक्न नसक्नुले सूचना संयन्त्र असफल भएको निष्कर्ष निकालिएको हो ।

विप्लव कार्यकर्ता खोज्न बल्ल खटियो प्रहरी

नागरिक दैनिकले विप्लवका नेता खोज्न बल्ल प्रहरी खटिएको समाचार छापेको छ ।

समाचारमा लेखिएको छ- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बनाएको छ ।

गत कात्तिक २४ गतेबाट विप्लव समूहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु गरेको थियो । दर्जनभन्दा बढी स्थानमा उम्मेदवारको ज्यानै लिनेगरी बम प्रहारको घटना भए पनि सुरक्षा परिचालन सुस्त थियो । सामान्य घरेलु बम विस्फोटसँगै शक्तिशाली धराप नै थाप्न थालेपछि गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निकायले खोजी र पक्राउको क्रम बढाएका हुन् ।

यसैगरी राजधानी दैनिकले सुरक्षा सतर्कता बढेको र मुलुकभरबाट २ सय बढी पक्राउ परेको समाचार पहिलो पृष्ठमा छापेको छ ।

मतदाता अझै अन्योलमा

कान्तिपुर दैनिकमै सही तरिकाले मतदान कसरी गर्ने भन्ने विषयमा आम मतदाताको चासो बढी देखिएको समाचार पनि छ । निर्वाचन आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा सबैभन्दा बढी जिज्ञासा मतपत्र र मतदानको तरिकाबारेमा आउने गरेको छ ।

आयोगले निर्वाचन लक्षित प्रश्नको उत्तर दिन सञ्चालनमा ल्याएको कल सेन्टरमा दैनिकजसो ५० देखि ६० जिज्ञासासहितका फोन आउने गर्छन् । ‘फोनकर्तामध्ये अधिकांशको चासो मतपत्र र मतदानकै तरिकाबारे हुने गर्छ,’ कल सेन्टरका कम्प्युटर अधिकृत श्रीराम क्षतीले भने, ‘त्यसबाहेक मतदाता नामावलीमा आफ्ना नाम भए/नभएको र त्यसका त्रुटिबारे प्रश्न आउँछन् ।’

चुनावमा भत्तामै ८ अर्बभन्दा बढी खर्च

कारोबार दैनिकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको समाचार लेखेको छ ।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ ।

यो जनशक्तिका लागि सरकारले निर्वाचनका लागि विनियोजन गरेको कुल बजेटको आधाभन्दा बढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो । अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब रुपैयाँ विनियोजन गरेको समाचारमा उल्लेख छ ।

र, यो पनि

नेपाली वैज्ञानिकले ब्रह्माण्डमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएको समाचारलाई नागरिक दैनिकले भित्री पृष्ठमा स्थान दिएको छ ।

दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालयका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् । पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरुको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ ।

सिन्धुली भिमानका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हुन् । जर्मनी हाइलेडवर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका पौडेलले यसअघि सना तारापुञ्जमा ब्ल्याकहोल हुन्छ भन्ने पत्ता लगाएका थिए । यसअघि आकाशगंगा जस्तो ठूलो तारापुञ्जमा मात्रै ब्ल्याकहोल हुन्छ भनेर खगोल विज्ञानको अध्ययन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment