Comments Add Comment

हटेन कोलकाता बन्दरगाहको जाम, उपयोग भएन विशाखापटनम

६ सय कन्टेनर अलपत्र, व्यवसायीलाई बिलम्ब शूल्कको भार

कोलकाता बन्दरगाह

५ मंसिर, काठमाडौं । नेपालले उपयोगमा ल्याइरहेको भारतको एक मात्र बन्दरगाह कोलकातामा पछिल्लो समय बढेको अत्यधिक जामले आयातकर्ता आजित भएका छन् ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेका अनुसार ४ मंसिरसम्म नेपाल आउने तरखरमा रहेका ६ सय कन्टेनर कोेलकातामै अलपत्र छन् ।

उक्त बन्दरगाहमा जामको समस्या पूरानै हो । यस वर्ष त्यो उत्कर्षमा पुगेको सचिव घिमिरेले बताउँछन् ।

जामकै कारण कन्टेनर १५ देखि २० दिनसम्म कोलकातामै अलपत्र पर्नु सामान्यजस्तै हुन थालेको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका कोषाध्यक्ष नरेशकुमार अग्रवाल बताउँछन् । जबकि, सामान्य अवस्थामा बढीमा पाँच दिनभित्र कन्टेनर बन्दरगाहबाट छुटिसक्छन् ।

मन्त्रालयका अनुसार दशैंयता करिब १५ सय कन्टेनर कोलकातामा फसेका थिए । एसोसिएसनका कोषाध्यक्ष अग्रवाल भने अहिले पनि करिब नौ सय कन्टेनर अलपत्र रहेको बताउँछन् ।

‘नेपाली महावाणिज्य दूतावास, नयाँदिल्लीस्थित नेपाली दूतावास, भारतीय वाणिज्य मन्त्रालय, रेल्वे प्राधिकरण र नेपालको परराष्ट्र मन्त्रालयमार्फत् जाम हटाउन पहल भइरहेको छ,’ सचिव घिमिरे भन्छन् ।

यसकारण जाम

वाणिज्य मन्त्रालयका अनुसार दैनिक औसत ९० वटा कन्टेनर कोलकाताबाट छुट्छन्, नेपालका लागि । गत दशैं र तिहारमा यो संख्या करिब आठ सयसम्म पुग्यो । सोही चापका कारण अहिले जाम नघटेको हो ।

कोलकातामा भारतीय कार्गो र कन्टेनरको जाम पनि अत्यधिक छ । क्षमताभन्दा अत्यधिक कन्टेनर आवागमनले उक्त बन्दरगाह अस्तव्यस्त बनेको हो । कोलकाताबाट नेपाल र भुटान तथा पश्चिमबंगाल, विहार र पूर्वोत्तरका भारतीय राज्यहरुका लागि कार्गो र कन्टेनर छुट्छन् ।

व्यवसायीले कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट वस्तु आयात गर्छन् । उनीहरुले कोलकाता नजिकको हल्दिया र आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाह उपयोगमा ध्यान पुर्‍याउन सकेका छैनन् ।

वैकल्पिक बन्दरगाहको उपयोग हुन नसक्दा पनि जाम बढेको सचिव घिमिरे बताउँछन् ।

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा रेलमा कन्टेनर बोक्ने वागनको उपलब्धता सहज नहुँदा पनि समस्या परेको बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा भने सरकारको लापरवाहीका कारण बन्दरगाहमा जाम बढेको दाबी गर्छन् । भन्छन्, ‘तेस्रो मुलुकबाट आयात गरेर ल्याइएको वस्तु अनलोड हुने वीरगञ्जस्थित सुक्खा बन्दरगाहको असुविधाको असरले पनि जाम बढाउन मद्दत गरेको छ ।’

रेलमा लोड/अनलोड गर्न एउटा मात्रै लिक हुँदा र्‍याक आएपछि समस्या हुँदै आएको उनी बताउँछन् । इन्टरमोडल यातायात विकास समितिले प्रभावकारी काम नगर्दा त्यसको मूल्य व्यवसायीले तिर्नुपरेको गुनासो उनको छ ।

कोलकाताको झण्झटबाट उम्किने एक मात्र उपाय वैकल्पिक बन्दरगाहको उपयोग हो । र, नेपाली व्यवसायीसँग आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाह उपलब्ध छ

तेस्रो मुलुकबाट हुने आयात सहज बनाउन काँकडभिट्टा, विराटनगर र भैरहवाका सुक्खा बन्दरगाहलाई रेलमार्गमा जोड्नुपर्ने व्यवसायीको भनाइ छ । हाल वीरगञ्ज सुक्खा बन्दरगाह मात्रै रेलमार्गमा जोडिएको छ ।

एसोसिएसनका कोषाध्यक्ष अग्रवालका अनुसार अहिले एउटा कन्टेनरले सामान्यतया दुईदेखि तीन लाख रुपैयाँ बिलम्ब शुल्क बुझाउनुपर्ने बाध्यता छ । उक्त शुल्क व्यवसायीले उपभोक्ताबाट असुल्छन् ।

विकल्प विशाखापटनम

पूर्वसचिव ओझाको भनाइमा कोलकाताको झण्झटबाट उम्किने एक मात्र उपाय वैकल्पिक बन्दरगाहको उपयोग हो । र, नेपाली व्यवसायीसँग आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाह उपलब्ध छ ।

८ फागुन ०७२ मा नेपालले विशाखापटनम बन्दरगाह उपयोग गर्न पाउनेगरी द्विपक्षीय ‘लेटर अफ एक्स्चेन्ज’ भएको थियो । ११ असार ०७३ देखि उक्त बन्दरगाहबाट नेपालले कारोबार थालेको थियो ।

गत ३० जेठमा पहिलो पटक विशाखापटनमबाट रेलमार्फत् वीरगञ्जसम्म सामान आएको थियो ।

सचिव घिमिरे व्यवसायीले विशाखापटनमलाई प्रयोगमा ल्याउन नसकिरहेको बताउँछन् । ‘दुई सरकारबीच बन्दरगाह उपयोगमा ल्याउने सम्झौता भइसकेको छ,’ उनी भन्छन्, ‘कुन रुट र कहाँबाट ल्याउने भन्नेमा सरकारले निर्धारण गर्दैन, त्यो आयातकर्ता र निर्यातकर्ताबीचमा हुने हो ।’

सम्झौताको उपयोग गर्न व्यवसायी नै उत्सुक नभएको उनको भनाइ छ ।

पहिलेदेखि नै प्रयोगमा ल्याइएकाले कोलकाता बन्दरगाहबाट झट्टै विमुख हुन नसकिएको एसोसिएसनका कोषाध्यक्ष अग्रवाल बताउँछन् । विशाखापटनममा मस्र्ट सिपिङ लाइन नामक एक मात्र सिपिङ कम्पनी भएको र त्यसले ठूलो कारोबारमा मात्रै ध्यान दिएकाले साना व्यवसायी त्यता आकषिर्त हुन नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment