Comments Add Comment

ताप्लेजुङमा पाँच प्रतिशतले धान उत्पादन बढ्ने

कृषि कार्यालय प्रमुख भन्छन्- जिल्लाको माग भने धान्दैन

५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा पाँच प्रतिशतले बढ्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यसबाट २२ हजार ४ सय २४ मेट्रिक टन धान उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख नरेश चन्द्र घिमिरेले बताए ।

अघिल्ला वर्षहरुमा धान रोप्ने समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको थियो । विगतमा असिना र रोग किराको संक्रमण पनि बढी भएपनि यो वर्ष त्यस्तो समस्या नभएको घिमिरेको भनाइ छ ।

यस वर्ष धान उत्पादनमा बद्धि भए पनि जिल्लाको मागलाई भने धान्न नसक्ने कार्यालयको भनाइ छ । ताप्लेजुङ हिमाली जिल्ला भएको र सबै क्षेत्रमा धान खेती नहुने हुँदा यस वर्ष पनि करिब पाँच मेट्रिक टन धान आयात गर्नुपर्ने सम्भावना रहेको कार्यालय प्रमुख घिमिरे बताउँछन् ।

ताप्लेजुङको नगरपालिका सहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फुलबारी, सिनाम, हाङ्देवा, फुरुम्बु लगायत स्थानलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएको छ ।

यी क्षेत्रमा उत्पादित धानले जिल्लाको ६० प्रतिशत माग धान्दै आएको छ । अन्य स्थानमा पनि केही प्रतिशत धान उत्पादन हुने भए पनि पछिल्लो समय किसानहरूले धान खेती मासेर अलैंची खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment