Comments Add Comment

प्रदेश ४ मा समानुपातिक बन्दसूचीः २० दलका ३१९ उम्मेदवार

५ मंसिर पोखरा । प्रदेश नम्बर ४ मा प्रदेशसभातर्फ समानुपातिकको २४ सिटका लागि २० दलका ३ सय १९ उम्मेदवार निर्वाचन आयोगको अन्तिम बन्द सूचीमा परेका छन् ।

मंसिर १० र २१ गते २ चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको सूचीका उम्मेदवारको छानबिन गरी आयोगले प्रदेशसभातर्फ मुलुकभर ३ हजार ५ सय ६५ जना उम्मेदवारको अन्तिम सूची कायम गरेको छ ।

प्रदेश नम्बर ४ को प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकबाट २४ गरी ६० जनाको प्रतिनिधित्व रहने छ । यस प्रदेशमा समानुपातिकका लागि माओवादी केन्द्र र एमालेले अलग-अलग सूची बुझाएका छन् । प्रत्यक्षतर्फ चुनावी तालमेल गरे पनि समानुपातिकका २४ वटै सिटमा उनीहरुले आआफ्नै सूची बुझाएका हुन् । कांग्रेसले भने २३ जनाको नाम मात्रै पठाएको छ ।

यो क्षेत्रमा नयाँ शक्ति, राप्रपा र राप्रपा प्रजातान्त्रिकले २४ वटै सिटका लागि नामको सूची बुझाएका छन् । संघीय समाजवादी फोरम र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले २३-२३ जनाको नामको सूची बुझाएका छन् । समानुपातिकका उम्मेदवारी दिनेहरुमा राष्ट्रिय शिवसेना-राष्ट्रिय नागरिक पार्टीको गठबन्धन, नेपाली कांग्रेस विपी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति आन्दोलन नेपाल, विवेकशील साझा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन छन् ।

यसैगरी एकीकृत राप्रपा राष्ट्रवादी, नेपाल जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी, मजदुर किसान पार्टी, नेकपा मालेले प्रदेश नम्बर ४ मा समानुपातिकका उम्मेदवार उठाएका छन् ।

प्रदेशमा समानुपातिक प्रणालीमा सिट प्राप्त गर्न कुल सदर मतको कम्तीमा १.५ प्रतिशत मत प्राप्त गर्नुपर्ने काुननी व्यवस्था छ । राष्ट्रिय दलको मान्यता पाउन भने समानुपातिकमा ३ प्रतिशत मत र १ सिट प्रत्यक्षबाट जित्नु पर्छ । प्रदेश नम्बर ४ को समानुपातिकका लागि ८२ वटा चिहृन भएको मतपत्रको व्यवस्था गरिएको छ ।

यो प्रदेशका लागि लागि सुरुमा ८२ दलले निर्वाचन आयोगमा दल दर्ता गराएको भए पनि समानुपातिक उम्मेदवारको सूची भने धेरै कमले बुझाएका हुन् । दल दर्ताका आधारमा मतपत्र छापिएकाले समानुपातिकको मतपत्र प्रत्यक्षको भन्दा ठूलो छ ।

प्रदेश नम्बर ४ को प्रदेशसभामा जनसंख्याको आधारमा आदिवासी जनजातिको सबैभन्दा बढी ४२.३७, खस आर्यको ३७.२४ र दलितको १७.४४ प्रतिशत सहभागिता रहनेछ । यसैगरी, थारु १.७२, मुस्लिमको ०.५२ र मधेशीको ०.७१ प्रतिशत प्रतिनिधित्व हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची आइतबार सार्वजनिक गरेको थियो । दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।

आयोगले २ सय ५६ जनाको नाम कटौती गरेको छ । ३ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । २ सय ५३ जनाको दाबी विरोध तथा कानुनबमोजिम योग्यता नपुगेकाले उम्मेदवारी रद्द भएको आयोग प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताए ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ प्रदेश १ मा ५ सय ७७, प्रदेश २ मा ८ सय ४, प्रदेश ३ मा ७ सय ७४, प्रदेश ४ मा ३ सय १९, प्रदेश ५ मा ६ सय ४, प्रदेश ६ मा २ सय ६ र प्रदेश ७ मा २ सय ८१ जनाको उम्मेदवारी कायम भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण आयोगले सार्वजनिक गरेको थियो  ।

आयोगका अनुसार ५८ सय ३८ उम्मेदवारमध्ये  समावेशी समूहअनुसार आदिवासी जनजाति ७ सय ६७ पुरुष, ८ सय ८१ महिला र १ अन्य  गरी जम्मा १६ सय ४९, खस आर्य  ८ सय ४५ पुरुष र ९ सय ४७ महिला गरी १ हजार ७ सय ९२,  थारू १ सय ५५ पुरुष र २ सय ४९ महिला गरी ४ सय ४, दलित ३ सय ३६ पुरुष र ४ सय ५९ महिलासहित ७ सय ९५ जना, मधेसी ४ सय ३७  पुरुष र ५ सय ३५ महिला गरी ९ सय ७२ जना,  मुस्लिम ८० पुरुष र १ सय ४६ महिलासहित २ सय २६ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ २२ सय ७३ मध्ये १ हजार ४८ जना पुरुष र १२ सय २४ जना महिला र १ जना ‘अन्य’ लिंगको उम्मेदवारी कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment