Comments Add Comment

पर्सा जिसस चुनावः संघीय फोरमविरुद्ध कांग्रेस-वाम तालमेल


५ मंसिर, वीरगञ्ज । १० मंसिरमा हुने जिल्ला समन्वय समिति पर्साको चुनावी प्रक्रिया शुरु भएको छ । दलहरुले समितिका ९ पदका लागि १६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा समन्वय समिति गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ ।

९ सदस्यीय सभाका लागि गाउँ तथा नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् । जसमा तीन जना सदस्य महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ । जिल्ला सभामा स्थानीय तहमा विजयी भएका सदस्यहरुले उम्मेदवारी दिन पाउँछन् ।

संघीय समाजवादी फोरम नेपाल एक्लै र कांग्रेसले वाम गठबन्धनसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । सहमति नभएको खण्डमा यी दुई समूहबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट सभापतिमा नेक महम्मद अन्सारी, उपसभापतिमा राजकुमार महतो कोइरी, अल्पसंख्यक सदस्य पदका लागि रामेश्वरप्रसाद कलवार, महिला सदस्यमा प्रेमकुमारी सिंह क्षेत्री, अमना खातुन, नीलमकुमारी कुशवाहा र सदस्यमा अमोदप्रसाद यादवको उम्मेदवारी परेको छ ।

फोरमले दुईजना सदस्य खाली राखेको छ । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा २८ मतदाता छन् । जसमा फोरमका १० जना मतदाता छन् ।

त्यस्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले संयुक्त उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र वाम गठबन्धनको तर्फबाट सभापतिमा कांग्रेसका जतनप्रसाद कुर्मी, उपसभापतिमा एमालेका ठाकुरप्रसाद न्यौपाने, महिला सदस्यमा एमालेकी सीतादेवी पासवान, माओवादी केन्द्रकी गिरिजा देवी यादव, कांग्रेसकी पुनम देवी, माओवादी केन्द्रका सुभाष साह कानु र रामजी महतो थारु, कांग्रेसका रिजवानुल महम्मद खकरुदिनले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका ८, एमालेका ३, माओवादी केन्द्रका ५ गरी उनीहरुसँग १६ जना मतदाता छन् । गठबन्धनमा धोका भएन भने यही गठबन्धनले बाजी मार्ने देखिन्छ । नेपाल संघीय समाजवादी पार्टीका २ जना मतदाता रहेका छन् । उनीहरुले कुन पक्षलाई समर्थन गर्ने भन्नेबारे खुलाएका छैनन् ।

सहमति गरेर नाम फिर्ता लिए भने मात्रै सर्वसहमति हुने अन्यथा चुनाव हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका योगेन्द्र आचार्यले जानकारी गराए ।

सोमबार उम्मेदवारी दर्ता गरिएकोमा मंगलबार मनोनयन पत्रका बारेमा निर्णय गर्ने, बुधबार दावी विरोध गर्ने त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० गते मतदान र सोही दिन मतगणना गर्ने कार्यतालिका बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment