Comments Add Comment

हिमालपारिको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ?

लम्जुङबाट उम्मेदवार बनेका माओवादी नेता देव गुरुङ आफ्नो जन्मथलो मनाङको चुनावी कार्यक्रममा पनि सहभागी भएका छन् ।

५ मंसिर, काठमाडौं । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ, देशभरमै सबैभन्दा कम मतदाता भएको जिल्ला पनि हो । अरुबेला चर्चामा नआउने मनाङ चुनावका बेला भने कुनै न कुनै रुपमा चर्चामा आइरहन्छ ।

यसपटक मनाङ पुनः चर्चामै छ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? अहिले यो बहस मनाङमा भन्दा काठमाडौंमा बस्ने मनाङ्गेहरुबीच चलेको छ ।

मनाङका करीव आधा मतदाता काठमाडौंमा बस्छन् । जसले धेरै खर्च गरेर लैजान सक्यो उसले चुनाव जित्ने गरेको इतिहास पनि मनाङमा छ । त्यसैले मनाङका उम्मेदवारहरु पनि काठमाडौंमा एक चरणको चुनावी प्रचार र भेटघाट सकेर अहिले गाउँमा घरदैलो गरिरहेका छन् ।

यस्तो छ मनाङको चुनावी इतिहास

संसदीय चुनावको इतिहासमै रेकर्ड राख्ने जिल्ला पनि मनाङ हो । ०५६ सालको आम निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध निर्वाचित भएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । ०६४ सालको पहिलो संविधानसभालाई अपवाद मान्ने हो भने मनाङमा कांग्रेसले सधैं जित्दै आएको छ ।

कांग्रेस इतिहासको यहि निरन्तरता कायम राख्न भगिरथ प्रयत्न गरिरहेको छ । तर यसपटक कांग्रेसलाई परम्परागत प्रतिस्पर्धी भन्दा पनि नयाँ प्रतिस्पर्धीको डर छ । सधैं राप्रपा वा जनमोर्चासँग प्रतिस्पर्धा गर्दै आएको कांग्रेसले यसपटक एमालेको सामना गर्नुपरेको छ । त्यो एमाले जसमा कांग्रेसका परम्परागत प्रतिस्पर्धी जनमोर्चा (हालको माओवादी) र राप्रपा मिसिएका छन् ।

मनाङको राजनीति अहिले साँच्चिकै रोचक मोडमा पुगेको छ । २०४८, ०५१ र ०५६ का संसदीय चुनावमा एमालेले मनाङमा उम्मेदवार पनि पाएको थिएन । ०६४ को पहिलो संविधानसभा चुनावमा एमालेले पहिलो पटक मनाङमा उम्मेदवार उठाएको थियो, जसले ४७ भोट पाए ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेको मत ४७ बाट बढेर ८० पुग्यो । तर ०७० को चुनावको ८० भोट ०७४ को स्थानीय चुनावमा आउँदा बढेर १३ सय कटाउन सफल भएको एमाले नै अहिले कांग्रेसका लागि चुनौति बनेको छ ।

मनाङको चुनावमा कांग्रेस भर्सेस एमाले देखिएका छन् । कांग्रेस इतिहासको विरासत कायम गर्न प्रयत्नरत छ भने एमाले-कांग्रेसको निरन्तरतालाई क्रमभंग गर्न आक्रामक ढंगले लागेको छ

एमाले जिरोबाट हिरो

०७० सालसम्म ८० भोटमा सीमित भएको एमाले ०७४ मा आउँदा कांग्रेसभन्दा ठूलो दल बन्नुको पछाडि एउटै कारण छ- कांग्रेसको परम्परागत प्रतिस्पर्धी राप्रपा सग्लै एमाले बन्यो । राजा महेन्द्रप्रति सधैं अनुग्रहित हुने मनाङ्गेहरु राप्रपामा रहेर कांग्रेस हराउन नसक्ने भएपछि एमाले बने ।

०७० सालको चुनावमा कांग्रेसका टेकबहादुर गुरुङसँग ३ सय मत अन्तरमा पराजित राप्रपाका त्रिपल पी गुरुङको समूह नै एमाले प्रवेश गर्‍यो । मनाङमा त्रिपल पी र उनका दाजु पाल्देन छोपाङ गुरुङहरुले एमालेको नेतृत्व गरे । यसमा टेकबहादुर गुरुङबाट पीडित भएका कांग्रेसहरु पनि सहभागी भए ।

यसको परिणाम वैशाखमा सम्पन्न स्थानीय चुनावमा देखियो । जिल्लाका ४ स्थानीय तहमध्ये २ वटामा एमालेले जितेपछि कांग्रेसको परम्परागत गढ तोडियो । एमालेले सदरमुकाम चामे र सबैभन्दा धेरै मतदाता रहेको नेस्याङ गाउँपालिका जितेर जिल्लाको सबैभन्दा ठूलो दल बन्यो ।

कांग्रेसले नासोङ गाउँपालिका झिनो मतले जित्यो भने नारफूमा स्वतन्त्रसँग मिलेर कांग्रेस निर्विरोध भएको थियो । त्यो स्वतन्त्र समूह अहिले एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङको पक्षमा उभिएपछि कांग्रेसका टेकबहादुर गुरुङमाथि दबाव थपिएको छ । उनीमाथि चुनाव जितेर मन्त्री भएपनि केही काम नगरेको आरोप छ ।

स्थानीय तहको निर्वाचन परिणाम अनुसार एमाले १३ सय ३९ मत सहित पहिलो स्थानमा छ । कांग्रेस १२ सय १८ मत सहित दोस्रो स्थानमा छ । स्थानीय चुनावमा आइपुग्दा राप्रपा र माओवादी मनाङमा निकै कमजोर देखिए ।

केही वडा जितेको राप्रपाको सानो समूह पनि दिपक मनाङ्गेसँगै एमाले प्रवेश गरिसकेको छ । जिल्लामा अस्तित्व धानिरहेको माओवादी वामपन्थी गठबन्धनसँगै एमालेसँगै मिसिएको छ । दिपक मनाङ्गेको इमेज काठमाडौंमा जसरी डनको छ, मनाङमा भने उनी समाजसेवी बनेर प्रस्तुत भएका छन् ।

अब मनाङको चुनावमा कांग्रेस भर्सेस एमाले देखिएका छन् । कांग्रेस इतिहासको विरासत कायम गर्न प्रयत्नरत छ भने एमाले-कांग्रेसको निरन्तरतालाई क्रमभंग गर्न आक्रामक ढंगले लागेको छ ।

एमालेलाई त्रिपल पी गुरुङहरुले शून्यबाट पहिलो पार्टी बनाए । स्थानीय चुनावपछि एमालेमा दिपक मनाङ्गेको समूह थपिएको छ । मनाङ्गेसँग करीव ३ सय मत पारिवारिक पकडमा रहेको अनुमान छ । त्यो मत पनि एमालेमा थपिने निश्चित छ । किनकी स्वतन्त्र उम्मेदवार बनेका राजिव गुरुङ उर्फ मनाङ्गेलाई एमालेले प्रदेशसभामा सघाएको छ ।

पाल्देन छोपाङ भर्सेस टेकबहादुर

टेकबहादुर गुरूङ

यो पटक प्रतिनिधिसभामा सिधा टक्कर एमालेका पाल्देन छोपाङ गुरुङ र कांग्रेसका टेकबहादुर गुरुङबीच हुँदैछ । पाल्देन जिल्लाका स्थापित व्यवसायी हुन् । उनले एशियाकै ठूलो स्याउ फारम खोलेर मनाङमा आफूलाई स्थापित गरेका छन् । अहिलेसम्म राजनीतिमा नलागेका पाल्देन इमान्दार व्यक्तिका रुपमा परिचित छन् ।

कांग्रेसका टेकबहादुर गुरुङ पेशाले म्यानपावर व्यवसायी हुन् । ०५८ देखि ०६४ सालसम्म उनका दाजु पाल्तेन चुनाव लडेका थिए । ०७० मा टेकबहादुरले मौका पाए । उनी खुमबहादुर खड्काको निकटका भएकाले श्रममन्त्री पनि बने । अहिले दोस्रो पटक टेकबहादुर चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा तर्फ १ नम्बर क्षेत्रमा एमालेका दोर्जे डुण्डुल गुरुङ र कांग्रेसका चिन्तबहादुर घलेबीच प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नम्बर २ मा एमाले समर्थित स्वतन्त्र उम्मेदवार राजिव गुरुङ र कांग्रेसका कर्मा घलेबीच प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचनमा सबैभन्दा कम उम्मेदवार भएको जिल्ला पनि मनाङमात्र हो ।

उम्मेदवारका एजेण्डा

मनाङका उम्मेदवारले सडक सन्जालबाट जिल्लालाई सहज पहुँचमा राख्ने, पर्यटकीय विकास र स्याउ खेतीलाई व्यवसायिकरण गर्ने एजेण्डालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । एमाले उम्मेदवार पाल्देनको एजेण्डा सडक, कृषि र पर्यटन छ ।

आफू स्याउ कृषक समेत भएका कारण सडकको महत्व आफूले मात्र बुझेकाले जनताले सडक बनाउनकै लागि पनि सूर्यमा मतदान गर्ने दावी पाल्देनको छ । ‘मैले वर्षमा करोडौंको स्याउ काठमाडौं लैजानुपर्छ, सडक मैले नै बनाउछु भन्ने जनताले बुझिसकेका छन्, जसलाई चाहिन्छ उसले न बनाउने हो,’ उनले भने ।

कांग्रेसले २५ वर्षदेखि जित्दा मनाङमा कुनै विकास नभएको र चुनावको बेला पैसाको खोलो बगाउने गरेको आरोप पाल्देनको छ । यसपटक कांग्रेससँग पैसामा पनि प्रतिस्पर्धा गर्न आफूहरु तयार रहेको उनले बताए ।

कांग्रेसको एजेण्डाः दिपक मनाङ्गे

अर्कोतिर कांग्रेसका टेकबहादुर गुरुङले भने मनाङको विकासमा अब कांग्रेसले विशेष ध्यान दिने बताएका छन् । उनले एमालेले गुण्डागर्दी र पैसाको बलमा यसपटक कांग्रेसलाई चुनौति दिइरहेको बताए । उनले एमालेको संगठन सरकारी कर्मचारीहरुले गरिरहेको आरोप लगाए ।

कांग्रेसले दिपक मनाङ्गेलाई निगरानीमा राख्न प्रशासनलाई दबाव दिइरहेको छ । एमालेले पनि मनाङ्गेलाई आफ्नो गाउँ छाडेर अन्यत्र नहिँड्न सुझाव दिएको स्रोतले जनाएको छ । कांग्रेस उम्मेदवार गुरुङले दिपक मनाङ्गेलाई एमालेले प्रयोग गरेर मनाङमा मतदाता आतंकित पारेको आरोप समेत लगाएका छन् ।

यस सन्दर्भमा एमालेका उम्मेदवार तथा जिल्ला अध्यक्ष पाल्देन छोपाङ गुरुङसँग अनलाइनखबरले छोटो कुराकानी समेत गरेको छ ।

दिपक मनाङ्गेलाई तपाईहरुले एमालेबाट टिकट दिनुभयो, पछि केन्द्रले उनको टिकट खोस्यो, फेरि तपाईहरुले दिपकलाई समर्थन जनाएर के नाटक गरेको ?

यो नाटक होइन । दिपक मनाङ्गे हामी चिन्दैनौं । राप्रपाका तत्कालिन जिल्ला अध्यक्ष राजिव गुरुङसहित ६१ सदस्यीय जिल्ला समिति एमालेमा प्रवेश गरेपछि हामीले एकल रुपमा उनको नाम प्रदेशसभामा सिफारिस गरेको हो ।

तर पार्टीले केन्द्रबाट उनको ठाउँमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनायो । खण्डा लामा राजिवकै दिदी हुन् । दिदीले भाइलाई छाडेपछि हामीले उनलाई सघाउनुपर्ने भयो । किनकी अब एमालेको उम्मेदवार नभएपछि कांग्रेसलाई भोट हाल्ने कुरा त भएन ।

गुण्डा नाइकेलाई एमालेले सघायो भन्ने आरोप छ नि ?

राजिव गुरुङको दुई-तीन सय मत छ । उनी त्यहाँ चुनाव जित्ने मान्छे हुन् । हाम्रो उम्मेदवार नभएपछि उनले हामीलाई सघाउने र हामीले उनलाई सघाउने कुरा स्वाभाविक हो । उनी गुण्डा नाइके हुन् कि के हुन् भन्ने कुरा प्रहरी प्रशासनलाई थाहा होला । यहाँ उनका नातागोता धेरै छन् । उनले जिल्लामा कसैलाई गुण्डागर्दी गरेको थाहा छैन, काठमाडौंमा के गरे हामीले जान्ने कुरा भएन । त्यहि पनि उनी एमाले होइनन् । हामीले कांग्रेसलाई जित्न नदिन स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका हौं, हाम्रो उम्मेदवारले फिर्ता लिएपछि ।

मनाङमा कहिल्यै सिनमा नदेखिएको एमालेले यसपटक पैसा र गुण्डाको बलमा चुनाव जित्न खोज्यो भन्ने आरोप आयो नि विपक्षीबाट ?

यो जिल्लामा २५ वर्षदेखि कांग्रेसले जित्यो । हामीले पनि कुनै बेला उनीहरुलाई सघाएका हौं । तर परिवारका सदस्यले कमाउने, माफियाकरण गर्ने, बजेट हिनामिना गर्ने बाहेक पाल्तेन गुरुङ र टेकबहादुर गुरुङले केही काम गरेनन् । मनाङका जनताले अब धेरै कुरा बुझेरै राप्रपा वा अन्य समूहमा बसेर काम रहेनछ भनेर हामी सबै मिलेर एमाले बनाएका हौं ।

यहाँ एमालेको केन्द्रको नीति नियमसँगै जिल्लाको आफ्नै खालको नीति चल्छ । हामीले कांग्रेस विरुद्ध लड्न एमाले बनाएका हौं । यसपाली स्थानीय चुनावबाट कांग्रेसलाई हाफ बनाएका छौं । यो प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट पत्तासाफ बनाउछौं ।

तपाईहरु एकाएक जिरोबाट हिरो बन्ने आधार चाहिँ कसरी बन्यो मनाङमा ?

खासमा यो जिल्लालाई चिनाउने काम राजा महेन्द्रले गरेका हुन् । हामी मनाङ्गेहरुलाई नेपाली नागरिक बनाएकै महेन्द्रले हो । नत्र हामी हिमालपारीकालाई नेपाली नै मानिदैनथियो । त्यसैले यहाँ धेरै मान्छे महेन्द्रवादी छन् । कांग्रेसले जनताको भोट लिएर केही काम नगर्ने, माफियातन्त्र चलाउने गरेपछि उसँग लड्न बलियो राष्ट्रवादी शक्ति चाहियो । महेन्द्रवादी जनताले त्यो शक्ति राप्रपाबाट सम्भव नभएपछि एमाले रोजेको हो ।

एमालेले अहिले जुन अडान लिएको छ देशको पक्षमा त्यो महेन्द्रले पनि लिएको अडान हो । त्यसैले मनाङका महेन्द्रवादी सबै एमाले भएका छन्, यसपाली हामी भारी मतले चुनाव जित्छौं र मनाङलाई ५ वर्षभित्र नेपालकै उत्कृष्ट पर्यटकीय र कृषि गन्तव्य बनाउछौं । हामीलाई जनताले विश्वास गरेका छन् । यसपाली हिमालपारीका जनताले चमत्कार गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment