Comments Add Comment

शहीद गोविन्द गौतमको गाउँ पुनर्वासमा छैन चुनावी रौनक

५ मंसिर, कञ्चनपुर । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को गोली प्रहारबाट शहादत प्राप्त गरेका गोविन्द गौतमको गाउँ हो, पुनर्वास ।

कञ्चनपुरको दक्षिणी भेगमा पर्ने उक्त गाउँमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको रौनक शुरु भएको छैन । एसएसबीको ज्यादती अझै उस्तै छ, सीमामा । पुनर्वास, बेलौरी र बेल्डाँडीका बासिन्दाको साझा समस्या हो यो ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनमा भारतीय पक्षले खेती गर्न दिएको छैन, स्थानीय बासिन्दालाई । एसएसबीको टोलीले अहिले पनि घर-घरमा आएर तत्काल छाडेर जान धम्की दिने गरेको उनीहरु बताउँछन् ।

आफूले भोगिरहेको समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई मत दिइने स्थानीयवासी बताउँछन् ।

२७ फागुन ०७३ मा कल्भर्ट निर्माणका क्रममा भएको झडपमा पुनर्वास नगरपालिका-३ आनन्द बजारमा एसएसबीको गोली लागेर शहिद गौतमले ज्यान गुमाउनुपरेको थियो ।

निर्माणाधीन कल्भर्ट नेपाली भूमिमै पर्छ । तर, भारतीय पक्षले अझै आफ्नो दाबी छाडेको छैन ।

स्थानीय सुरतबहादुर मल्लका अनुसार ७० वर्षभन्दा बढी समयदेखि पुरानो आवादी हो, पुनर्वासको । गत वर्ष पहिलो पटक भारतीय पक्षले उक्त क्षेत्र आफ्नो भएको दाबी गरेको थियो ।

‘बेला-बेलामा एसएसबीको टोली घरमै आएर धम्की दिने गरेको छ,’ मल्लले भने, ‘हाम्रो सुरक्षामा सरकारले पहल गर्नुपर्छ ।’

२७ फागुनको घटनापछि शीर्ष नेताहरुदेखि गृहमन्त्रीसम्मले स्थलगत अवलोकन गरे पनि समस्या समाधान नभएको स्थानीय प्रवेश सिंहले बताए ।

आनन्दबजार नाका खुलाएर सहज आवतजावतको व्यवस्था नमिलाएसम्म जनजीवन सामान्य नहुने पुनर्वास-४ की धनकौरा शाहीले बताइन् । नाका बन्द रहेकाले आसपासको बाटो प्रयोग गरेर भारतीय बजारमा पुग्नु परिरहेको छ, उनीहरुले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment