Comments Add Comment

देउवाका प्रतिस्पर्धी भट्टको प्रश्नः प्रधानमन्त्रीले गरेका ५ नमूना काम के हुन् ?

५ मंसिर, काठमाडौं । गृहजिल्ला डडेल्धुरा पुगेर केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जिते फेरि प्रधानमन्त्री हुने तर अरुले जिते सांसदमात्रै हुने बताए । प्रधानमन्त्री हुनेलाई जिताउने कि सांसद मात्रै हुनेलाई जिताउने ? देउवाले मतदातालाई प्रश्न गरे ।

प्रधानमन्त्री देउवाले मतदाताबाट आफ्नो प्रश्नको जवाफ मतदानपछि मात्रै पाउनेछन् । तर, उनका परिचित प्रतिस्पर्धी खगराज भट्टले भने अनलाइनखबरसँग कुरा गर्दै देउवालाई उल्टै प्रश्न तेर्स्याए- ‘डडेल्धुराका जनताले प्रधानमन्त्री मात्रै चुन्ने हो कि विकास र समृद्धि पनि ?’

भट्टको अर्काे प्रश्न पनि छ,- ‘मैले जिते सांसद मात्रै हुने ग्यारेण्टी लिने शेरबहादुर देउवा कांग्रेस सभापति कि माओवादी केन्द्रका अध्यक्ष ?’

प्रधानमन्त्री शेरबहादुर देउवा पटकपटक मुलुकको प्रधानमन्त्री भए पनि डडेल्धुरा समृद्धिको बाटोमा अघि बढ्न नसकेको भन्दै उनले अब समृद्धिका लागि वाम गठबन्धन र आफूलाई जनताले रोज्ने दाबी गरे ।

डडेल्धुराको विकासका लागि जनताले शेरबहादुर देउवाको विकल्प खोजेको भन्दै भट्टले प्रधानमन्त्री देउवालाई फेरि अर्काे प्रश्न गरे-‘प्रधानमन्त्री हुनुबाहेक जिल्लाको समृद्धिका लागि देउवाको भूमिका के रहृयो ? देउवा प्रधानमन्त्री हुँदा गरेका पाँचवटा नमूना काम के-के हुन ?’

देउवालाई जवाफ दिन उल्टै प्रश्न तेर्स्याएका भट्टले मतपरिणामले नै देउवाको प्रश्नको पूर्ण जवाफ दिने बताए ।

२०६४ र २०७० को संविधान देउवासँगै पराजित भएका भट्टले यसपटक भने आफ्नो जीत निश्चित भइसकेको बताए ।

२०४८ यताका सबै पाँच चुनाव जितेका देउवालाई सजिलै रोक्ने दावी भट्टको छ । यसपटक पनि विजयी भए भने देउवाले जीतको डबल हृयाटि्रक पूरा गर्नेछन् भने भट्टको जीत ऐतिहासिक हुनेछ । उनी हारको हृयाटि्रकबाट जोगिने छन् ।

भट्टका सबल पक्ष

दुईदुई पटक देउवासँगै पराजित भट्टले यसपटक आफ्नो जित घोषणा गर्न मात्रै बाँकी रहेको दाबी गर्छन् । पहिलो र दोस्रो संविधानसभा चुनावमा एक्लै प्रतिस्पर्धा गरेर देउवाको निकटतम भएका भट्ट यसपटक एमाले-माओवादीको साझा उम्मेदवार भएर देउवासँग प्रतिस्पर्धा गर्दैछन् ।

यसपटक एमालेसँगको गठबन्धनलाई नै भट्टले चुनाव जित्ने पहिलो आधार मानेका छन् । वाम गठबन्धन भएपछि मतदाताको मनोविज्ञान फेरिएको उनको भनाइ छ ।

पहिलो संविधासभाको चुनावमा देउवासँग एक हजार बराबर मतअन्तरले पराजित भएका उनी दोस्रो संविधानसभा चुनावमा भने भारी मतान्तरले पराजित भए ।

देउवाले २३ हजार ९२० मत ल्याएर विजयी हुँदा १२ हजार ४९३ मत पाएका थिए । एमालेका ताराप्रसाद जोशीले सात हजार १९० मत मात्रै पाएका थिए ।

०७० को मतलाई आधार मान्दा एमाले माओवादीको मत जोड्दा पनि देउवाले पाएको मत बराबर पुग्दैन । तर, यसपटक वाम गठबन्धनको लहर चलेकोले एमाले र माओवादीको मत मात्रै पाएपनि आफूले जित्ने भट्टको दावी छ ।

स्थानीय तहको मतः स्थानीय तहकै मतलाई आधार मानेर प्रतिनिधिसभा चुनावको आकलन गर्न नसकिने भएपनि भट्टले भने स्थानीय तहको मतको विश्लेषणले पनि आफ्नो जीत हुने बताए ।

स्थानीय तहको मतको आधारमा वाम गठबन्धन कांग्रेस भन्दा अगाडि छ । सातवटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले चारवटा जितेर पहिलो बनेको थियो । एमालेले दुई र माओवादीले एक तह जितेको छ । तर, जम्मा मतका आधारमा गठबन्धन अगाडि छ ।

कांग्रेसले एक्लैको १८ हजार ३०६ मत छ भने एमालेको १५ हजार ६१७ र माओवादीको ११ हजार ७२० मत जोड्दा २७ हजार ३३७ मत छ । यो कांग्रेसको भन्दा ९ हजार ३१ ले बढी हो ।

स्थानीय तहको मत मात्रै कायम रहेपनि आफ्नो जित निश्चित भएको वाम गठबन्धनका उम्मेदवार भट्टले बताए । ”गठबन्धनको मत नै पर्याप्त छ, मेरो जीत घोषणा गर्न मात्रै बाँकी हो,’ उनले भने,’यो भन्दा पनि बढ्छ, अहिले वाम गठबन्धनको लहर चलेको छ ।”

कांग्रेसको अन्तरविरोध, गठबन्धनको एकताः कांग्रेस डडेल्धुरामा अन्तरविरोध कायमै रहेको भट्टको दावी छ । तर, वाम गठबन्धनमा एकता मजबुत रहेको उनको भनाइ छ ।

कांग्रेसले अन्तरबिरोध साम्य पारेको दावी गरे पनि अन्तरविरोधकै कारण दुईजना पूर्वजिल्ला सभापति नै पार्टी छोडेर वाम गठबन्धनमा प्रवेश गरेको भट्टले बताए । उनीहरुको साथमा सयौं कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको उनको दाबी छ ।

आफूलाई पराजित गर्न नसक्ने भएपछि कांग्रेसभित्रको अन्तरविरोधको अन्त्य भएको हल्ला मात्रै गरिएको भन्दै भट्टले यसपटक आफ्नो पराजय नदोहोरिने दावी गरे ।

मतदाताको मनोविज्ञान र विकल्पः डडेल्धुरामा मतदाताको मनोविज्ञान परिवर्तन भएको भट्टको बुझाइ छ । ठूलो नेतालाई जिताइरहँदा शक्तिमा भएपनि जिल्लाको किवास नहुने हुँदा पनि यसपटक मतदाताले देउवाको विकल्प खोजेको उनले सुनाए ।

प्रधानमन्त्री हुँदा समेत जिल्लाको विकासमा ध्यान नदिने भएकोले जिल्लाको समृद्धिको लागि आफ्नो प्रतिनिधि परिवर्तन गर्ने मनोविज्ञान मतदातामा रहेको भट्टले बताए ।

आफ्ना जीतका आधार प्रस्तुत गर्दै उनले मतदातामा अभूतपूर्व जागरण आएकाले पुरानालाई दोहोर्‍याउनु हुन्न भन्ने भावना जागृत भएको बताए ।

‘देशभरको लहरका कारण मतदातामा पनि अब कम्यूनिष्टकै सरकार बन्ने पक्का छ, मतदाताको मनोविज्ञान पनि त्यही छ,’ उनले भने,’भविष्यका लागि पनि मतदाताले यसपटक देउवालाई प्रधानमन्त्री बनाउनकै लागि भनेर मतदान गर्दैनन् ।’

देउवाको प्रधानमन्त्री पद नै भट्टलाई नाफा !

देउवा प्रधानमन्त्री हुनु नै आफ्ना लागि नाफा भएको भट्टको भनाइ छ । देउवा प्रधानमन्त्री भएपछि लोकपि्रयता घटेको भन्दै उनले व्यक्तित्वका कारण पाउने मत समेत नपाउने भएकाले आफ्नो जीत सहज भएको भट्टले बताए ।

देउवाले आफू पुनः प्रधानमन्त्री बन्ने भएकाले आफूलाई भोट हाल्न आग्रह गरेपनि प्रधानमन्त्री हुँदा देउवाले जिल्लाका लागि देउवाले राम्रो काम गर्न नसकेको र चुनावपछि पुनः प्रधानमन्त्री बन्ने सम्भावनासमेत नरहेको हुँदा कांग्रेसबाटै आफूले मत पाउने दाबी भट्टको छ ।

आफूले पराजित हुँदा समेत जनताको फैसला स्वीकार गरेर जिल्लामै काम गरेको तर देउवा प्रधानमन्त्री भएर जिल्लाका जनतालाई अनुभूति हुने गरी केही गर्न नसकेकोले यसपटक पराजित हुने सपना समेत नदेखेको भट्टले बताए ।

‘मैले दुईदुई पटक पराजित हुँदा जनताको फैसला स्वीकार गरे र उनीहरुकै साथमा रहेर काम गरे, भोलि पनि त्यही गर्ने हो तर, यसपटक मेरो पराजय कल्पना मात्र हो’ उनले थपे, ‘प्रधानमन्त्रीले जिल्लाका लागि राम्रो काम गरेको प्रमाण नै छैन, यो पनि मेरा लागि फाइदा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment