Comments Add Comment

कर फर्छ्योटका अध्यक्ष र सदस्यसँग १/१ करोड धरौटी माग

बुझाउन नसकेपछि जेल चलान

५ मंसिर, काठमाडौं । कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग धरौटीमा रिहाका लागि विशेष अदालतले एक/एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

मंगलवार न्यायाधीश बाबुराम रेग्मी, द्धारिकामान जोशी र रत्नबहादुर बाग्चनको संयुक्त इजलासले आयोगका पदाधिकारीसँग उक्त रकम धरौटी माग गरेको अदालतका प्रवक्ता नगेन्द्रकेशरी शाहले जानकारी दिए ।

गत आइतवारदेखि चलेको बहसपछि उनीहरूसँग उक्त रकमको धरौटी माग गरिएको हो । धरौटी बुझाउन नसकेपछि उनीहरूलाई डिल्लीबजार जेल चलान गरिएको छ ।

तत्कालीन कर फर्छ्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार भएका उनीहरू झण्डै चार महिनापछि गत बुधवार अदालतमा बयानका लागि हाजिर भएका थिए ।

आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । उनलाई अदालत उपस्थित गराउन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद टाँसेको छ ।

तर, उनी अझै वयानका लागि आएका छैनन् ।

शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।

कर फर्छ्योट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्‍याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको थियो । उनीसँगै आयोगका दुई सदस्य महत र ढकाल भने त्यसयता फरार थिए ।

अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment