Comments Add Comment

उम्मेदवारको प्रचार काइदाः ‘रोबोट’बाट भोट माग्दै

५ मंसिर, पोखरा । मुलुकलाई अहिले चुनावले छपक्कै छोपेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर उनीहरुलाई फकाउन अनेक तरिका अपनाइरहेका छन् । यस्तैमा कास्की कांग्रेसका उम्मेदवारले भने मतदातालाई आकर्षित गर्न बिज्ञानका आबिस्कारको भरपूर उपयोग गर्दै नौलो तरिका अपनाएका छन् ।

कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’बाट कांग्रेस उम्मेदवार गुरुप्रसाद बरालको चुनावी प्रचारमा रोबोटको प्रयोग गरिएको छ ।

रोबोटले मान्छे नजिक आउन साथ नमस्कार गर्दै, गुरु बरालको चुनावी एजेन्डा भन्दै भोट माग्ने गर्छ । रोबोटसँग मानिसले ‘आइ कन्ट्याक्ट’ अर्थात आँखा जुधाउनुपर्छ । अनि रोबोटले ‘जय नेपाल’ भन्छ । अनि मानिसहरुसँग आसन्न निर्वाचनका लागि गुरु बराललाई रुखमा भोट हालेर जिताउन आग्रह गर्छ ।

रोबोटलाई गुरु बरालको प्रचार अभियानमा हिँडेको टोलीले लिएर हिँडिरहेको छ । रोबोटले काँग्रेसमा भोट हाल्न गरेको अपीललाई सर्वसाधारणहरुले निकै मज्जा मानेर हेर्छन् ।

‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ । रोबोटले मेरो लागि मत मागेको देखेर धेरैजनाले मज्जा मानेका छन्,’ बरालले भने- ‘सायद यो खाले प्रचारशैली कास्कीमा यसअगाडि अपनाइएको थिएन ।’

उनले चुनावी प्रचारमा ‘रोबोट’को प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफूले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा सांकेतिक प्रस्तुति समेत भएको बताए ।

भेटघाट तथा घरदैलोको क्रममा भरतपोखरीमा रहेका बरालले मंगलबार भने त्यस क्षेत्रमा पर्ने लामगादी, छप्ल्याङ, उपल्लोपुँडी, तल्लोपुँडी, भञ्ज्याङ, चिलाउने, मागागिरी, धारापानी लगायतका ठाउँहरुमा पुगेर आफ्नो पक्षमा भोट मागे ।

प्राविधिको प्रयोग र प्राविधिक शिक्षाको जोड दिँदै हिमाली ब्रदर्श इन्जिनियरिङ आइटी सोलुसनले तयार पारेको रोबलद्वारा कास्कीमै पहिलो पटक भोट माग्ने यो तरिका अपनाइएको विद्यार्थी पवन बास्तोलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment