Comments Add Comment

आजका पत्रिकाः संघीय सरकारमा १५० मन्त्री, निरीह निर्वाचन आयोग

६ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले फरक-फरक समाचारलाई पहिलो पृष्ठमा स्थान दिएका छन् ।

कारोबार दैनिकले संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १५० हुने समाचार छापेको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित गरी देशभर मन्त्रीको संख्या अधिकतम १५० हुने देखिएको हो ।

‘प्रदेशसभामा सबैभन्दा धेरै मन्त्री प्रदेश ३ मा २२ जनासम्म हुने देखिन्छ भने कम प्रदेश ६ मा ८ जनासम्म हुने देखिन्छ । प्रदेश २ मा २१, प्रदेश १ मा १९, प्रदेश ५ मा १७, ४ मा १२ तथा प्रदेश ७ मा ११ जनासम्म मन्त्री बन्ने देखिन्छ,’ कारोबार दैनिकमा समाचार छ ।

निरीह निर्वाचन आयोग

निर्वाचनको संघारमा सरकारले प्रमुख जिल्ला अधिकारी, सचिव र एआईजीमा बढुवा गर्दा पनि निर्वाचन आयोग निरीह बनेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

समाचारमा लेखिएको छ- निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रालयले सर्लाहीमा एकैदिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्‍यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसैदिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको प्रजिअका रुपमा सरुवा गरियो । र, बेलुकीपख थापालाई रौतहटकै प्रजिअ कायम राखी उपसचिव कृष्णबहादुर कटुवाललाई कामु प्रजिअको जिम्मेवारी तोकियो ।

यस्तै सरकारले कात्तिक १५ गते डोटीका प्रजिअमा सूर्यबहादुर खत्रीलाई सरुवा गरेको थियो । र, डोटीका प्रजिअ कुमार खड्कालाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिएको थियो ।

‘गृह मन्त्रालय स्रोतका अनुसार उम्मेदवारका दबावका कारण धमाधम प्रजिअको सुरुवा भइरहेको छ,’ नयाँ पत्रिकाले लेखेको छ, ‘पहिलो चरणको मतदान हुन पाँच दिन मात्र बाँकी रहँदा सम्वन्धित चार जिल्लाका प्रजिअको सरुवा गरेको छ । पहिलो चरणको निर्वाचनको अन्तिम तयारीमा जुटेका नुवाकोट, रसुवा, सोलुखुम्बु र भोजपुरका सिडिओ मंगलबार सरुवा भएका छन् ।’

तर निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले भने अहिले भएका सरुवामा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ

निर्वाचनविरोधी गतिविधि बढिरहेका बेला उपत्यकाको सुरक्षा व्यवस्था मजबुत पारिएको छ ।

निर्वाचनविरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको खबर नागरिक दैनिकले लेखेको छ ।

निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्षा अवस्था आधारमा महानगरीय प्रहरी कार्यालयले ६ वटा निर्वाचन क्षेत्र जोखिममा रहेको आँकलन गरी सुरक्षाकर्मी परिचालन र अन्य सक्रियता बढाएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार सिन्धुपाल्चोकसँग सीमा जोडिएकाले काठमाडौंको निर्वाचन क्षेत्र २ र ३ मा सुरक्षाकर्मीको संख्या बढाएको छ । नुवाकोट र धादिङसँग सीमा जोडिएका निर्वाचन क्षेत्र नम्बर ६ र ७ तथा मकवानपुरसँग जोडिएको क्षेत्र नम्बर १० लाई समेत प्रहरीले सुरक्षा दृष्टिकोणले संवेदनशील सूचीमा राखेको छ ।

चीनलाई प्रसारण लाइन निर्माणको प्रस्ताव पठाइँदै

तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।

नागरिक दैनिकका अनुसार, नेपाल विद्युत्त प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाइएको थियो ।

‘रसुवागढी हुँदै चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव चीन सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पठाउने तयारीमा छौं’, ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले नागरिकसँग भनेका छन्, ‘प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि ऊर्जा मन्त्रालयमा बुझाएको रिपोर्ट आधारमा चीन सरकारलाई प्रस्ताव पठाउन लागेका हौं ।’

बिजुली आयात तथा निर्यात भारततर्फ मात्र हुने गरेकोमा त्यसको विकल्पका रुपमा चीनतर्फको प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो ।

गृहलाई थप ९ अर्ब

अर्थ मन्त्रालयले चार दिनयता मात्रै संघ र प्रदेशसभा चुनाव सुरक्षा प्रवन्धका लागि गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई नौ अर्ब निकासा गरेको छ ।

अन्नपूर्ण पोस्टले लेखेको छ- सुरक्षा प्रबन्धका लागि अर्बौं खर्च भइरहे पनि मुलुकको सुरक्षा अवस्था भने सुदृढ हुन सकेको छैन । विभिन्न जिल्लामा उम्मेदवारलक्षित बम विस्फोट हुने क्रम बढ्दो छ ।

अर्थ मन्त्रालयले सोमबार मात्रै संघ र प्रदेशसभा चुनावका लागि सुरक्षा निकायलाई तीन अर्ब ९७ करोड रुपैयाँ निकासा गरेको हो । यसअघि अर्थले गृहलाई पाँच अर्ब रुपैयाँ निकासा दिएको थियो ।

अन्नपूर्ण पोस्ट दैनिककले आज सेटिङमा काठमाडौं र भक्तपुरको सिमाना भएर बगने मनहरा खोलाको बालुवा चोरी हुने गरेको खबरलाई मुख्य समाचार बनाएर छापेको छ ।

प्रचण्ड आफै असहाय

मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभामा प्रचण्ड पत्नी सीता दाहाल भक्कानिएको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।

समाचारमा लेखिएको छ- आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा सीता र छोरा प्रकाश थिए । तर, छोराको निधनपछि सीतालाई छाडेर प्रचण्ड कार्यक्रममा जान सकेनन् । प्रचण्ड र सीतासँगै छोरी-बुहारी पनि गृहजिल्ला चितवन पुगेका थिए ।

११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् ।

प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उदघोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् ।

प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन् । आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो ।

मञ्चको तल्लो भागमा प्रकाशको ठूलो तस्वीर राखिएको थियो । तस्बिरमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए । तर, परिवारका सदस्यले तस्बिर भने हेर्न सकेनन् ।

पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन् । बीचमै उनीहरू मञ्चबाट बाहिरिए । प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेनन् । बरु उनले रौतहटको चन्ऽपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई भरतपुर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।

सेटिङमा मनहराको बालुवा चोरी

अन्नपूर्ण पोस्ट दैनिककले आज सेटिङमा काठमाडौं र भक्तपुरको सिमाना भएर बगने मनहरा खोलाको बालुवा चोरी हुने गरेको खबरलाई मुख्य समाचार बनाएर छापेको छ ।

समाचार अनुसार बालुवा चोरी भएको जानकारी गराउँदा समेत प्रहरी प्रशासनले ध्यान दिने गरेको छैन ।

‘राति बालुवा ओसार्न मनहरा खोला दायाँबायाँ दर्जनौं ठाउँमा बालुवा जम्मा गरिएको छ’, अन्नपूर्ण पोस्ट दैनिकले आफ्नो समाचारको अगाडि लेखेको छ, ‘यस्तै बालुवा ओसार्न प्रयोग गरिएका गाडी गुडेका छाप जताततै पाइन्छ ।’

नेता भाषण ठोक्छन्, बालबालिका दमाहा

निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिका प्रयोग गरिरहेका छन् ।

राजधानी दैनिकका अनुसार आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरुले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेका छन् ।

‘दलका नाराजुलुस र सभामा उम्मेदवार र नेताहरु एकअर्कालाई गालीसहित मतदाता तान्न चर्का भाषण ठोकिरहेका छन् । नेताको भाषण अघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका छन्’, राजधानी दैनिकले समाचारमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment