Comments Add Comment

जिम्बाबेमा मुगावे युगको अन्त्य, राष्ट्रपतिबाट राजीनामा


हरारे । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले आफ्नो ३७ वर्षे एकछत्र शासनलाई पूर्णबिराम लगाएका छन् ।

सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव टेबल हुनुअघि मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको लिखित राजीनामा संसदका सभामुखले संयुक्त सदनमा पढेर सुनाएका थिए ।

योसँगै राष्ट्रपति मुगावेको ३७ वर्ष लामो एकछत्र शासनमा पूर्णबिराम लागेको छ भने गत एक हप्तादेखि जिम्बाबेमा देखिएको राजनीतिक संकटले समाधानको बाटो समातेको छ ।

९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्वमा छन् । उनले जिम्बाबेको राजनीतिक, सामाजिक एवं सामरिक सवै क्षेत्रमा विना कुनै चुनौती निरन्तर पकड जमाएका थिए ।

तर, कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी र उपराष्ट्रपतिबीच विवाद देखिएपछि गत साता सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो । उनले आफ्नै पत्नीलाई सत्ता सुम्पिने योजनासहित उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरेका थिए ।

स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले उनीसँग वार्ता गरी राजीनामा दिन आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका थिए ।

उनको राजीनामासँगै हरारेका सडकमा मुगावे युगको अन्त्य भएको भन्दै सर्वसाधारणले खुसीयाली व्यक्त गरेका छन् ।

राजनीतिक विश्लेषकहरुले अब सेनाको समर्थन प्राप्त पूर्व राष्ट्रपति मरर्सन मनङ्वा नयाँ राष्ट्रपति चयन हुने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीको समर्थन पनि उनैलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment