Comments Add Comment

भोजपुरका कर्मचारीहरु मतदान केन्द्रतर्फ परिचालन

श्यामकृष्ण दाहाल

६ मंसिर, भोजपुर । ४ दिनपछि सञ्चालन हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि यस जिल्लामा आज बिहानैबाट कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेका छन् ।

कतिपय मतदान केन्द्रहरुमा पुग्न २ दिनसम्म लाग्ने भएकाले टाढा–टाढाका मतदान केन्द्रका मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सामग्रीसहित आजैबाट खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोजपुरमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरी १ हजार १ सय ८४ जना कार्मचरी खटिएका छन् । जिल्लाका १ सय ४८ वटा मतदान केन्द्रको लागि १ सय ४८ मतदान अधिकृत, १ सय ४८ नै सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ सय ९२ र कार्यालय सहयोगी २ सय ९६ जना खटिएका छन् ।

त्यस्तै मतदान अधिकृतले मतदान केन्द्रमा ६ सय ३ जना स्वयंसेवक नियुक्त गर्न पाउने भोजपुरका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानको काम सकिएपछि मत पेटिकालाई सुरक्षित ढंगबाट गणनास्थलसम्म ल्याउने विषयमा सरोकारवालासँग छलफल गरेको छ । भौगोलिक विकटता र सबैतिर यातायात सुविधा नपुगेकाले १० गते नै बेलुका मतपेटिका ल्याउँदा असुरक्षित हुनसक्ने भन्दै त्यस्ता ठाउँका मतपेटिकालाई केन्द्रिकृत गरि सुरक्षित ढंगले सदरमुकाम ल्याउन भोजपुरका डीएसपी दिपेन्द्र पञ्जियार थारुले प्रस्ताव गरेका थिए ।

छलफल कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

सुरक्षा समितिले आमचोक गाउँपालिकाको वडा नं ४, ८, ९, १० को प्रहरी चौकी वालांखा र १, २, ३, ५, ६, ७ को प्रहरी चौकी वयाङ्ग, हतुवागढी गाउँपालिकाको ९ वटै वडाको इलाका प्रहरी कार्यालय घोडेटार राख्ने प्रस्ताव गरेको छ । त्यस्तै षडानन्द नगरपालिकाको १ देखि ८ सम्म इलाका प्रहरी चौकी दिंला र साल्पासिलिछो गाउँपालिकाका ५, ६ को प्रहरी चौकी दोभाने र १ र २ को प्रहरी चौकी कुलुङ्गमा राख्ने प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment