Comments Add Comment

‘विप्लवमा कुण्ठा छ, केही नेतालाई सिध्याउन खोजेका छन्’

प्रत्यक्षतर्फ एमालेको ७५ र माओवादीको ४५ सीट आउने दाबी

६ मंसिर, काठमाडौं । वर्षमान पुन र नेत्रविक्रम चन्द सँगै स्कूल पढ्थे । माओवादी युद्धमा सँगै होमिए । युद्धमा होमिएपछि वर्षमान अनन्त बने, नेत्रविक्रम बिप्लब बने ।

पछिल्लो पटक वर्षमान पुन रोल्पामा प्रतिनिधिसभाको उम्मेदवार बनेपछि लगातार नेत्रविक्रमको बमको निशानामा परिरहेका छन् । उनीमाथि ज्यान लिने ढंगबाट हमला भइसकेको छ ।

कुनैबेलाका आफ्ना समकक्षी र सहकर्मी बिप्लबसँग किन यस्तो दुश्मनी भयो ? रोल्पाबाट काठमाडौं आइपुगेका अनन्तसँग हामीले बुझ्न चाहृयौं । उनले बिभिन्न स्रोतबाट बुझेको र बिप्लबलाई चिनेका आधारमा निकालेको निष्कर्ष रहेछ- विप्लव समूहले केही सिनियर नेताको हत्या गर्ने योजना बनाएको छ । तर, असफल हुँदै गएपछि उनी कुण्ठामा छन् ।

विजयादशमीको दिन केपी ओली र प्रचण्डबीच ७ बुँदे सहमति हुँदा दुबै पार्टी सूर्य चिन्हबाट चुनाव लड्ने भनिएको थियो । तर वर्षमान पुन रोल्पाबाट आएर सो सहमति उल्ट्याएको आरोप उनीमाथि लाग्दै आएको छ । साथै वर्षमानले चुनावपछि पार्टी एकता हुन दिँदैनन् भन्ने हल्ला पनि माओवादी वृत्तबाटै चलाइएका छन् । यससन्दर्भमा पनि हामीले एमाले-माओवादी सिट बाँडफाँड कार्यदलका सदस्यसमेत रहेका पुनसँग बुझ्न खोज्यौं ।

पुनले भने- चुनावचिन्हबारे मैले असहमति राखेकै हो, किनकि त्यसले कार्यकर्ता भड्किने र परिणाम झन् बिग्रने खतरा थियो । तर, अब पार्टी एकता कुनै नेताले चाहेर रोकिनेवाला छैन । अब एउटै कम्युनिस्ट पार्टी बनाउन कसैले चाहेर पनि रोक्न सक्दैन । चुनावलगत्तै हामी पार्टी एकताको प्रक्रिया थाल्छौं ।

सिट बाँडफाँडमा समेत निकै मेहनत गरेका पुनले प्रत्यक्षतर्फ एमालेले ७५ प्लस र माओवादीले ४५ प्लस सिट्ने आँकलन पनि सुनाए ।

प्रस्तु्त छ, समसामयिक विषयमा पुनसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः

रोल्पा माओवादीको गढ हो तर त्यही ठाउँमा बिप्लब समूहबाट तपाईमाथि पटक- पटक आक्रमण भइसक्यो, यसपालि चुनाव जित्न चुनौति थपिएको हो ?

जसरी ममाथि आक्रमण भयो, जित्ने सुनिश्चित भएर नै उहाँहरु आत्तिएको जस्तो लाग्छ । आक्रमणको सिलसिला भइसकेपछि जनतामा सहानुभूति बढेको छ । म रोल्पाबाट पहिलोपटक चुनाव लडेको छु ।

विगतमा मैले त्यहाँबाट प्रतिनिधि नभए पनि पूर्वाधार विकासका साथै नीतिगत काम गरेको छु । वर्षमान पुन रोल्पामा आवश्यक मान्छे हो भन्ने जनतालाई थियो, अहिले ममाथिको आक्रमणले जनताको ममाथि सहानुभूति बढेको छ । चुनौति बढेको होइन, जिम्मेवारी पनि थपिएको महशुस भएको छ ।

तपाई र विप्लवले सँगै काम गर्नुभयो तर अहिले तपाईलाई नै बढी निशाना बनाउनुको कारण चाहिँ व्यक्तिगत दुश्मनी पनि हो कि ?

विप्लवसँग हामीसँगै बढ्यौ, सँगै पढ्यौं । तीन-चार वर्ष हाइस्कूल पढ्ने बेला होस्टलमा सँगै बस्यौं । राजनीतिमा सँगै अघि बढ्यौं । केन्द्रीय कमिटी, पोलिटब्यूरोदेखि स्थायी कमिटीसम्म पनि सँगै भयो ।

राजनीतिमा कहिल्यै हाम्रो व्यक्तिगत सम्बन्ध नराम्रो थिएन । तर, पछिल्लो समय विप्लवमा चरम कुण्ठा र अलि बढी नै प्रतिशोधको भावना बढेको भनेर सँगै बसेका र पार्टी छाडेका साथीहरुले भनिरहेका छन् ।

विगतमा विप्लव ओपन माइन्डेट र राजनीतिकरुपमा सोच्ने मान्छे हुन् । तर, अहिले सबैले छाडेपछि चरम कुण्ठा बढेको छ । केही गरौं, युद्धमा गएर प्रचण्डभन्दा ठूलो नेता बनौं भन्ने सोचेका थिए, तर त्यसो नभएपछि निराशा र कुण्ठा व्यक्त भइरहेको छ । कहिँ न कहीँ चुनावी प्रतिस्पर्धामा अरु शक्तिकेन्द्रले पनि उपयोग गरेको आशंका मलाई छ ।

तपाईमाथिको श्रृंखलावद्ध आक्रमण तर्साउनका लागि मात्रै हो कि ?

मूलतः ममाथि तीनवटा आक्रमण भए । थवाङ जाँदाको असफल भयो, प्रविधिले काम नगरेर । अरु दुईवटामा फाइरिङ र गि्रनेड प्रहार गरेको हो । अवरोध गर्न खोजेको हो । एउटा शुरुको घटना चाहिँ सोझै अप्ठेरो सडकमा पहरा र भीरको बीचबाट माइन विष्फोट गराएको हेर्दा मार्न खोजेको देखियो ।

सकेसम्म केन्द्रीय निर्वाचन खारेज गर्ने, नसक्दा पनि जिल्लाको निर्वाचन स्थगित गर्ने मानसिकताका साथ यस्तो गरेको मलाई लागेको छ । नेतृत्वको तहका मान्छे मार्दा चुनाव प्रभावित पार्न सकिन्छ र संकटको अवस्था घोषणा गर्ने वातावरण बनाउने नियतले यस्ता हमला भइरहेका छन् ।

यसमा सरकारका केही मान्छेको स्वार्थ पनि छ कि वा शक्तिकेन्द्रको स्वार्थ पनि छ कि भन्ने मलाई लागेको छ । किनकि नचाहँदा नचाहँदै चुनाव गर्नु परेकाले कुनै न कुनै घटना राएर स्थगित गर्ने निहुँ बनाउन विप्लबलाई षडयन्त्रको गोटी बनाएको हो कि भन्ने मलाई लागेको छ ।

तपाईहरुले पनि विगतमा चुनाव बहिस्कार गर्नुभयो, त्योबेला र अहिले विप्लवले गरेकोमा के फरक छ ?

सबैभन्दा ठूलो कुरै त्यही हो चुनाव खारेज गर्ने भनेपछि यो यो गर्ने भनेर प्रष्ट पार्नुपर्छ । यो त अपराधिकखालको हो । विप्लवले गरेको हो भनौं भने स्वीकार गरेको छैन । नगरेको भनौं भने चुनाव बहिस्कार गरेको उनले मात्रै हो । विगतमा हामीले पनि चुनाव खारेज गरौं भन्दा घोषितरुपमा गरेका थियौं ।

निर्वाचनको सन्दर्भमा पनि हामीले यतिसम्म गर्छौं भनेर घोषितरुपमा भन्ने गरेका थियौं । अहिले त सोझै राज्यका अंग कसैलाई नचलाउने, व्यक्तिलाई तोकेर आक्रमण गर्ने गरेको देखियो । त्यसमा पनि माओवादी र वामपन्थी गठबन्धनका नेतालाई बढी निशाना बनाइएको छ ।

सँगै युद्ध लडेको मान्छे, विप्लवसँग मलाई किन मार्न खोजेको भनेर सोध्नुभएन ?

मैले कुरा गरेको छैन । नीतिगतरुपमा बुझ्दा सामान्यतया चुनाव रोक्ने असफल बनाउने नीति हो भनेका छन् । अनि केन्द्रीय तहमा टप कोर तहमा केही सिनियर नेताहरुलाई सिध्याउने, खास खास जिल्लामा विशेष केन्दि्रत गर्ने नीति बुझिएको छ । त्यसैले कुरो गरिरहने अवस्था रहेन । राजनीतिकरुपमा आउने हो भने कुरा हुन्थ्यो, तर अपराधिक गतिविधि गर्नेसँग कुरा गर्ने अवस्था छैन । कुनै माग, एजेण्डा नै छैन भने के वार्ता गर्ने ?

मन्त्री, प्रधानमन्त्रीको कार्यक्रममा कुनै अवरोध छैन, उनीहरुको कुनै आलोचना छैन । छानीछानी माओवादी र वाम गठबन्धनलाई टार्गेट गरेको देखिन्छ ।

यो हिसाबले अब विप्लवको गन्तव्य कहाँसम्म पुग्ने देख्नुहुन्छ ?

विगतमा ०७० को बहिस्कारमा झण्डै झण्डै यस्तै घटना तर अलिकति कम तर्साउने गरे । किरणजी र बादलजीहरुले विकल्पको रुपमा शक्ति खडा गर्न खोजेको देखिन्थ्यो । तर, विप्लवले घटना गराएर मुद्दा मामिलामा साथीहरुलाई फसाएर त्यही बलमा मुद्दा मामिला लागेका कार्यकर्तालाई अप्ठेरोमा पारेर युद्धमा जाने प्रयास गरको देखिन्छ ।

तर, त्योबेला किरण र बादलका कारण सफल नभएपछि उनले अलग्गै पार्टी बनाए । त्यो उनको महत्वाकांक्षा पूरा गर्ने, प्रचण्डभन्दा ठूलो नेता बन्ने लालसाले भएको छ । तर, युद्ध गर्ने आधार र शक्ति नभएपछि धम्क्याएर पैसा असुल्न थाले । एनसेलमाथि आक्रमण गरे, पैसा लिएर मिले । कालोबजारिया भन्ने नाममा कारवाही गर्न खोजे, भित्रभित्रै पैसाको डिल गरे । उनीहरुको होल काम पैसा कलेक्सन गर्ने जस्तो देखियो ।

बेरोजगार युवा जम्मा गरेर खाउपिउँ मोज गर भन्नेखालको अराजक तरिका देखियो । युद्धको तयारी गर्न खोज्ने तर राजनीतिक नेताहरु उहाँलाई छाडेर हामीतिर आउने क्रम झनै बढ्न थाज्ल्यो । सचेत रुपले जान खोज्ने तर परिस्थितिले नदिने ।

जस्तो कि युद्धमा जाने तयारी गर्नासाथ तिलक परिवार, युवाको अध्यक्ष सुदिप मल्लजस्ता साथीहरु हामीसँग आउनुभयो । अहिले उहाँको सम्पूर्ण प्रयत्न आफ्नो व्यक्तित्व बनाउन र पावर बार्गेनिङका लागि भइरहेको देखिन्छ ।

बम पड्काउने, अपराध गराउने र कार्यकर्तालाई परिबन्दमा पारेर भूमिगत पसेर युद्धमा परिस्थ्ितिजन्य बाध्यतामा पारेर लैजाने खोजेको हो कि भन्ने देखिन्छ । तर अब युद्ध कसको विरुद्ध लड्ने ? त्यो अवस्थै छैन ।

तर, तपाई अनुकुल हुँदा अन्तबाट चुनाव लड्ने र अहिले अन्त जित्ने अवस्था नभएपछि रोल्पा गएर युद्धको ब्याज खान खोजेको आरोप रहेछ नि ?

रोल्पामा म पहिलो पटक चुनाव लडेको हो । तर, एउटा कुरा के बुझ्नुपर्छ भने, कतिपय कांग्रेसका नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्तो आफूलाई प्रजातान्त्रिक भन्ने, तर २५/३० वर्षसम्म अरु कसैलाई ठाउँ नदिने हुँदैन । राष्ट्रिय नेता भनेको छ, एउटै ठाउँमा चुनाव लडेको छ । हाम्रो त्यस्तो परम्परा होइन । पार्टीको आधारमा जनतामा जाने हो ।

मलाई पार्टीले अहिले रोल्पा जाने भन्यो, म यहाँ आएको छु । आवश्यक पर्दा हिजो पनि मैले रोल्पाको विकासका लागि काम गरेको हो । म रोल्पाबाट चुनाव लडे पनि नलडे पनि रोल्पाली जनताको सेवा गरेको छु । अहिले पनि रोल्पाली जनताको सेवा गर्न आएको छु ।

तर, रोल्पाली जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

समृद्ध रोल्पा, सुखी रोल्पाली एजेण्डा लिएर गएको छु । सदरमुकामलाई रिङरोडबाट धेर्ने, भित्री र बाहिरी रिङरोड बनाउने, दशैं गाउँपालिकामा कालोपत्र सडक जोड्ने मेरो प्राथमिकता हो । ७१ वडामा बाह्रैमास चल्ने रोड, साबिकका वडासम्म सडक, ४३ हजार रोल्पालीको घरमा उज्यालो रोल्पा अभियान अन्तर्गत बिजुली, एक घर एक धारा मैले पूरा गर्नैपर्छ ।

यसका साथै सदरमुकामा स्नातकोत्तर सम्म क्याम्पस स्थापना, हरेक पालिकामा २५ बेडसम्मको अस्पतालको योजना अघि सारेको छ । ५ सय मेगावटको जलविद्युत सरकार र रोल्पाली जनताको शेयरमा बनाउने छौं । यो काम मैले पूरा गर्न सक्छु भन्ने जनतालाई विश्वास छ ।

तर, रोल्पामा २ गाउँपालिका जितेको एमालेलाई तपाईहरुले एउटा सिट पनि दिनुभएन, एमालेको भोट कसरी पाउनुहुन्छ ?

रोल्पामा चुनाव प्रचारको संयोजक नै एमालेको पोलिटब्यूरो सदस्य गोकुल घर्ती हुनुहुन्छ । सबै प्रचारसभा र घरदैलोमा हामीसँगै गएका छौं । एउटै पार्टी बनाउने भनेपछि यहाँ को कुन पार्टीको भन्नेनै छैन । कार्यकर्तासम्म यो स्पिरिट छ ।

मनाङ, मुस्ताङ, बाजुरा, धनकुटा, तेह्रथुम जस्ता जिल्लामा एमालेले मात्र उम्मेदवारी दिएको छ । यो भनेको आवश्यकता अनुसार गरिएको हो । हामी एउटै पार्टी हुँदैछौं भनेपछि त्यसले केही असर गर्दैन ।

अहिले एउटै पार्टीका लागि भनेर भोट माग्ने, तर जितेपछि आ- आफ्नो बाटो लाग्ने हुन् कि भन्ने आशंका कार्यकर्ता तहमा देखिएको छ नि ?

कार्यकर्ता मिलिसकेका छन् । एकता जनताले चाहेको पनि देखियो । अब नेतृत्वले धेरै चिन्ता गर्नुपर्ने अवस्था रहेन । हामी एउटै घोषणापत्रमा गएका छौं । यो सामान्य तालमेल मात्र होइन । यो व्यक्तिगत आकांक्षाको कुृरा होइन । त्याग गर्नुपर्ने नेताले नै हो, नेताकै तहबाट प्रयत्न भएकाले एकता हुन्छ । भोट नै एक अर्कालाई हाल्ने भइसकेपछि र चुनावकै क्याम्पेन नै एउटा भएपछि सबैले यो तालमेल एकताकै लागि हो भनेको छ । अब कोही नेता एकताबाट पछि फर्किनै सक्दैन ।

तर, चुनावपछि प्रचण्डलाई हामीले नै प्रधानमन्त्री बनाउने हो भने भनेर कांग्रेस नेताहरु भनिरहेका छन्, त्यो सम्भावना कति छ ?

त्यो सम्भावना मैले देख्दिनँ । कांग्रेसले गठबन्धन कमजोर हुन्छ कि भनेर केही मतदातालाई प्रभावित पार्न कोशिस गर्नु अस्वभाविक होइन । तर, त्यो सम्भावना एक प्रतिशत पनि छैन । हामीले केही सिट पाउनका लागि मात्र तालमेल गरेको होइन । त्यसो गर्ने थियौं भने त एमालेले ४० प्रतिशत दिन्छ भने हामी ४५ प्रतिशत सिट दिन्छौं भनेर कांग्रेसले भनेकै हो । एमालेले अढाई वर्ष प्रधानमन्त्री बनाउछ भने हामी पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउछौं पनि कांग्रेसले भनेकै हो । तर, हामीले राजनीतिक स्थायित्व र मुलुकलाई समाजवादतर्फ लैजान यो गठबन्धन बनाएका हौं र एउटै कम्युनिस्ट पार्टी बनाउने भनेका हौं ।

हामीले कांग्रेसका सबै प्रस्तावहरु लत्याएर हिँडेकाले अब कांग्रेसले फेरि माओवादीलाई खेलाउन सकिन्छ भनेर सोच्नु व्यर्थ छ ।

तर, भोलि प्रधानमन्त्री बन्ने बेला वा नेता व्यवस्थापनका सन्दर्भमा तपाईहरुको कुरा नमिलेर आ आफ्नो बाटो लाग्ने हो कि ?

विचार र राजनीति मिलेपछि संगठन र नेतृत्व व्यवस्थापको कुरा आउने हो । हामीले यसको अन्तरिम व्यवस्थापन गर्ने विधि बनाउँछौं । सामान्यतः एमाले ब्याक ग्राउण्डका नेता र माओवादी ब्याकग्राण्डले पालोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरा आउँछ ।

बहुमत हाम्रो निश्चितरुपमा आउने भइहाल्यो । पार्टी नेतृत्व र सरकारको नेतृत्व आलोपालो हुन्छ । पार्टी एकता भएर केही समय घुलमिल भएपछि त यो वा त्यो ब्याकग्राउण्ड भन्ने नै रहँदैन । त्यो बेला पार्टीले निर्णय गर्ने हो । केही समयमात्र एमाले वा माओवादी ब्याक ग्राण्डको कुरा आउछ ।

त्यसोभए पहिले प्रधानमन्त्री केपी ओली कि प्रचण्ड ?

पहिलो प्रधानमन्त्रीचाहिँ गठबन्धनको सल्लाहले हुन्छ । पार्टी एकतासम्म जाने गरी भएको सहमति हो, त्यसैले एकजना प्रधानमन्त्री बन्ने र एकजना पार्टी अध्यक्ष हुने हो ।

तर, पार्टी एकतामा तपाई नै बाधक हुने खतरा छ भन्छन् केही मान्छे, जस्तो कि तपाईले एउटै चुनाव चिन्हबाट लड्ने सहमति पनि भाँड्नुभयो रे नि होइन ?

त्योचाहिँ यसो हो, खास गरी चुनाव चिन्हको विषयमा ७ बुँदेमा नेताहरुबीच कुरा मिलेकै हो । सूर्य चिन्हबाट चुनाव लड्ने सहमति भएकै रहेछ । तर, हाम्रो स्थायी कमिटीमा अहिले सकिँदैन भन्ने कुरा आयो ।

सामान्यतः सूर्यभित्र हँसिया हथौडा लिएर जाउँ भनेको हो, निर्वाचन आयोगले प्रााविधिकरुपमा अहिले सकिँदैन भन्यो । एउटै चुनाव चिन्हमा जाँदा अहिले मान्छे भड्किए भने के गर्ने ? मिल्नु भनेको यो भन्दा राम्रो परिणाम आओस् भनेर मिल्ने हो, तर भड्किने हो कि भन्ने कुरा आयो । यो मेरोमात्र कुरा होइन ।

एकताका सन्दर्भमा पनि तपाईले भाँड्ने हो कि भन्ने आशंका रहेछन् नि ?

जहाँसम्म एकताको कुरा हो, एकताले चुनाव भाँडिने दह्रो कि चुनाव नचाहने शक्तिले खेल्ने हुन् कि भन्ने कुरा आएकै हो । अदालतदेखि अन्य प्रयोग गर्न खोजिएको हो । तर, हामी सबै चुनौतिको सामना गर्ने भनेर अघि बढ्यौं । तालमेल मात्रै गर्दा राम्रो नहुँदोरहेछ, बरु एकता गरौं भन्ने कुरा आयो । एमालेसँग सैद्धान्कि रुपले निकटता ल्याएर पार्टी एकता गरौं भन्ने कुरा मैले नै राखेको हो ।

पार्टी एकता गरौं भनेर मैले नै बोेलेको हो । तालमेलमात्रै गरेको भए सम्भव थिएन, एकता गर्ने भनेपछि कुरा सहज भयो । एकता हुनुपर्छ भन्नेमा म सबैभन्दा अग्रपंक्तिमा हुन्छु । म एकताकेा पक्षमा छु र मेरो यसमा योगदान हुनेछ । एकताबाट कोही पछि हट्ने अवस्था छैन र त्यो सम्भव पनि छैन ।

जति ठूलो कुरा गरेको भए पनि अलिकित निहुँ खोजेको भएन एकता हुने थिएन । म आफैं कार्यदलमा बसेर । एक महिना लागेर डाटा र नेता मिलाएर,गरेका छौं । यदि एकताको पक्षमा थिइनँ भने यति मेहनत गरेर किन काम गर्थे ? जित्नकै लागि त मलाई रोल्पामा कुनै गाह्रो थिएन । मेरो व्यक्तिगत स्वार्थका लागि त कुनै समस्या थिएन । अलिकति निहुँ खोज्नासाथ यो एकता नै हुने थिएन ।

पार्टी एकताचाहिँ कहिलेसम्म होला ?

सामान्यत बहस होला, अन्तरिम दस्ताबेज बन्छ । चुनावलगत्तै एकता गर्नुपर्छ, धेरै लब्याउनुहुदैन भन्ने पक्षमा छु म । चाँडै एकता गर्नुपर्छ । नत्र बीचमा धेरै शक्तिले खेल्न सक्छन् ।

यसपटक तपाईहरुले कति सिट जित्ने आँकलन गर्नुभएको छ प्रतिनिधिसभामा ?

सुरुमै के भनौं भने यो गठबन्धभन संख्याको मात्र होइन । समृद्धि र शान्तिको एजेण्डा हो । आगामी १० वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने लक्ष्यसहित हामीले एकता गरेको हो, यो सामान्य तालमेल होइन । दीर्घकालीन विकासको एजेण्डासहित बनेको एलाइन्स भएकाले हामीले दुई तिहाई बहुमत ल्याउछौं र ल्याउनुपर्छ । प्रत्यक्षमा ७५ प्लस एमालेको, ४५ प्लस माओवादीको आउँछ । समानुपातिकमा एमालेको स्थानीय चुनावको ३० लाख घट्दैन, बरु बढ्छ । हाम्रो १७ लाख घट्दैन । हामी समग्रमा दुई तिहाई ल्याउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment