Comments Add Comment

‘मुख्यमन्त्री भएँ भने कोरला नाकालाई सुस्ता-त्रिवेणीसँग जोड्छु’


७ मंसिर, लमजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री हुन् । गुरुङ अहिले लमजुङ प्रदेश (ख) बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी ४ नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा अघि सारिएका पात्र हुन् ।

गुरुङसँग लमजुङका पत्रकार कृष्ण आले र बेलिना थापाले गरेको कुराकानीको सारांशः

तपाईँ तीन दशकदेखि हरेक निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । अझै पनि चुनाव लडिरहनुभएको छ ?

लमजुङलाई मेरो आवश्यकता महसुस गरेको छु । चुनावमा नउठ्ने पनि भनेको थिएँ । तर, यहाँका मतदाताले ‘तपाइँ उठ्नोस्, हामी जिताएर पठाउँछौं’ भनेपछि म चुनाव उठेको हुँ ।

अर्कोतर्फ मैले प्रदेशमा मेरो महसुस गरेँ । म समानुपातिकमा बसे पनि एक नम्बरमा पर्थें । जिल्ला र प्रदेशका साथीहरुले मलाई समानुपातिकमा बस्न वा प्रत्यक्षमा लड्न मलाई नै निर्णय गर्न जिम्मा दिनुभएको थियो । मैले प्रत्यक्षबाटै लडेर प्रदेशको नेतृत्व गर्ने निर्णयसँगै अघि बढेको हुँ ।

विगत ३ दशकदेखि प्रत्येक निर्वाचनमा उम्मेदवारी दिनुभयो । जिल्लाबासीले के पाए ?

पञ्चायतकाल (०४३) मा म जेलमा थिएँ । भण्डाफोर अभियान र पार्टी प्रचारको अभियानमा थिएँ । ०४८ सालमा कांग्रेसको तुलनामा हामी निकै कमजोर थियौं । ०५१ सालमा अलिअलि सम्भावना थियो । ०५६ सालमा बहुमत ल्याउने राम्रो सम्भावना थियो । पार्टी विभाजन हुन पुग्यो । ०६४ मा ६ हजार मत फरकले जित्यौं । ०७० मा प्राविधिक कारणले विजयलाई कायम गर्न सकिएन । किनकि त्यतिबेला एकखालको संक्रमणकाल थियो । जनजातिले जनजातिको मुद्दा छोड्यो भने, खसआर्य समुदायले जनजातिको कुरामात्रै बोल्यो भन्ने चेपुवामा परेको हुँ । त्यो मैले हार्नुपर्ने चुनाव थिएन ।

यसपटक कस्तो छ माहौल ?

हामीले लमजुङमा स्थानीय तहको चुनावमा पनि बाम गठबन्धन कायम गरेर चुनाव लड्यौं । नगरपालिका र गाउँपालिकामा बलियो उपस्थिति बनायौं । हामी प्रदेशसभामा बहुमत प्राप्त गरेर प्रदेश सरकार गठन गर्दैछौं । त्यसकारण प्रदेश सरकार गठन गर्ने हैसियत भएको पार्टीलाई भोट हालेर आफ्नो भोट खेर नजाओस् भन्ने मतदाताहरुको मनस्थिति देखिएको छ ।

तीन ठूला शक्तिहरु नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमध्ये नेकपा एमाले र माओवादी केन्द्र मिलेर बामगठबन्धनका साथ उम्मेदवारी दिइएकाले मतदातामा एक खालको उत्साह र आत्मविश्वास छ । त्यसकारण पनि हाम्रो जित सुनिश्चित छ । प्रक्रिया पुर्‍याएर घोषणा गर्न मात्र बाँकी हो ।

मानौं, तपाई प्रदेश नं. ४ को मुख्यमन्त्री हुनुभयो । लमजुङ र प्रदेशका जनताका लागि मुख्य योजना के छन् त ?

पहिलो कुरा, हाम्रो प्रदेश नेपालको राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाहले जन्म दिएको प्रदेश हो । नेपालको राष्ट्रिय स्वाधीनताका लागि, भौगोलिक अखण्डताका लागि लडेका भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्रीको प्रदेश पनि हो । अमरसिंह थापा, भक्ति थापालगायत ऐतिहासिक व्यक्तित्वहरुको प्रदेश पनि हो । थुप्रै विभूतिहरु हाम्रो प्रदेशमा जन्मेका छन् । त्यसैले उनीहरुको गौरव र गाथालाई उच्च राख्न ४ नम्बर प्रदेशलाई शान्त, सम्बृद्धि र सभ्य प्रदेश बनाउनका लागि मेरो पहिलो ध्यान जान्छ ।

दोश्रो कुरा, ४ नम्बर प्रदेशमा आर्थिक समृद्धि हासिल गर्ने हो भने हामीले चार वटा काम गर्नुपर्छ । पहिलो काम कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यन्त्रीकरण गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, उद्योगको विकास, जलउर्जा, सौर्य उर्जा, वायु उर्जाको उत्पादन गरेर प्रदेशलाई औद्योगीकरणको दिशामा लैजानको लागि उपयोग गर्नुपर्छ । बाँकी उर्जाहरु अन्य प्रदेशहरुमा निर्यात गरी प्रदेशको आयश्रोत बढाउनु पर्छ । यसका लागि पूर्वाधारहरुको विकास जरुरी छ । पूर्वाधारको विकास भन्नाले कोरला नाकादेखि पोखरासम्म जोड्ने, पोखरा नाकालाई सुस्ता त्रिवेणीसम्म जोड्ने, छेकम्पार नाकालाई पोखरासम्म जोड्ने, यसलाई पनि सुस्ता त्रिबेणीसँग जोड्ने कामले व्यापारको विस्तृतीकरण गर्ने योजना छ ।

बुढीगण्डकी र काली गण्डकी करिडोरमा सडकहरु बनाउने र पोखरासम्म जोड्ने, पोखरादेखि भिमाद हुँदै कावासोतीसम्मको छोटो सडक पहुँच मार्गको निर्माण गरेर प्रदेशको ११ वटै जिल्लाहरुलाई प्रदेशको राजधानी पोखरासम्म जोड्ने, भौतिक पूर्वाधारको विकास गर्ने, कतिपय स्थानहरुमा केबुलकार निर्माण गछौं ।

केपी ओली सरकारको पालामा निर्णय भएको केरुङदेखि काठमाडौं, काठमाडौंदेखि पोखरा, पोखरादेखि लुम्बिनीसम्म जोड्ने रेलमार्गको विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्ने चरणमा सरकारलाई दवाव दिन्छौं । यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर हाम्रो प्रदेशलाई रेलमार्गसँग जोड्ने, अन्तराष्ट्रिय स्तरमा भारत र चीनसँग जोड्ने काम पनि गर्नेछौं ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल तीन वर्षभित्र सम्पन्न गरेर पोखरा बजारलाई अन्तराष्ट्रियस्तरका मुख्य शहरहरुसँग जोडेर सिधै पर्यटकहरु पोखरा आउन सक्ने वातावरण बनाइ पर्यटक क्षेत्रको मूल हवको रुपमा पोखरालाई विकास गर्ने, खासगरी पोखरा बजारलाई नेपालको शैक्षिक, स्वास्थ्य र पर्यटकीय हवको रुपमा विकास गरेर सामाजिक, आर्थिक र निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने देखिएको छ ।

यसरी नै हामी अगाडि बढ्छौं । साथै अन्तराष्ट्रिय खेलकुदको विकासको लागि अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, अन्तराष्ट्रिय स्तरको विभिन्न खेलकुदको आयोजना गर्ने र प्रदेशलाई नै खेलकुद हवको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । हाम्रो प्रदेश नै हो, युरोनियमको खानी भएको, तामा खानी, सुनाखानी भएको । यसको उत्खनन र प्रशोधन गरेर ४ नम्बर प्रदेशको जनताको जीवनस्तर उँचो बनाउने काममा हामी निरन्तरता दिन्छौं ।

तर, पृथ्वीसुब्बा गुरुङले केही विकास गरेन भन्ने आरोप आइरहेका छन् नि ?

पृथ्वीसुब्बाले केही गरेन भन्ने कुरा जनताले भन्नुपर्ने बाध्यता मैले बनाएको छैन । यो त प्रतिपक्षहरुको कुरा मात्रै हो । जसले आफूले काम पनि गर्दैन, अरुले गरेको काम पनि छोपेर राख्न चाहन्छ । तपाईले भनेका कुराहरु आरोपहरु हुन् ।

लमजुङे जनतालाई जिल्लाको विकास धेरैभन्दा धेरै होस् भन्ने चाहना थियो, त्यो चाहनालाई मैले सम्पूर्ण रुपमा पूरा गर्न नसकेको कुरा चाहिँ सत्य नै हो । जति कुरा जनताले चाहेको थिए, ती सबै काम त हुन सकेका छैनन् । किनभने कांग्रेसको जस्तो गरी म ४/५ बर्ष लगातार मन्त्री पनि भएको छैन । कांग्रेसको जस्तो गरी म बारम्बार मन्त्री र सांसद भएको पनि छैन । कांग्रेसको माननीयले जितेको १६ वर्षसम्म एकछत्र रजाँइ गरेको र एकछत्र सरकार चलाएको लमजुङ जिल्लामा एउटा पनि पुल बनाएका छैनन् । एउटा पनि सडक बनाएका छैनन् ।

०२१ सालमा नेपाली कांग्रेसको तत्कालीन नेता श्रीकान्त अधिकारीले निर्माण शुरु गरेको हवाइ मैदान ०६४ सालमा म मन्त्री हुँदा निर्माणको काम प्रारम्भ भयो । लमजुङमा हवाइमैदान, पर्यटन र होमस्टेको विकास गर्ने अवधारणा त मैले नै ल्याएको हो नि । जिल्लाको आर्थिक समृद्धिका लागि तरकारी र आलुमा आत्मनिर्भर गराउने हाम्रो अवधारणा अनुसार कृषकको पक्षमा कतिपय कामहरु त भएका छन् । त्यसकारण पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लाको लागि केही गरेन भन्ने कुरा झुटा आरोप हो । झिँगोको सरापले डिँगो मर्दैन । यो तपाइँ आफै पनि बुझ्नु हुन्छ ।

निर्वाचनको चहलपहलका दिनहरु आएपछि पृथ्वीसुब्बालाई लमजुङमा देखियो, यसअघि कहाँ जानुभएको थियो ?

सायद यो आरोप नेपाली कांग्रेसले लगाएको हो । पृथ्वीसुब्बा गुरुङ त गाउँगाउँ र टोलटोलमा पुग्न सकेको छैन त ? जिल्लामा बस्नेहरुले त जनताको घरघरै पुग्न सकेका छैनन् भने म केन्द्रमा बसेर पार्टीको संगठन हेर्नुपर्ने जिम्मा बोकेको मान्छे अलि सम्भव छैन । तर मैले आफ्नो पार्टीको तर्फबाट लमजुङे जनतासँगको सम्बन्धलाई जीवन्त राखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment