Comments Add Comment

राजपाको अनौठो घोषणापत्रः दुलहीलाई सुनको मंगलसूत्र, सहिद परिवारलाई ५० लाख

७ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’

राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।

घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।

शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।

‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment