Comments Add Comment

पत्रपत्रिका समाचारः आचारसंहिताविपरीत जिल्ला पठाइँदै नौ अर्ब

नाकाबन्दीले कतारमा गुम्यो हजारौं नेपालीको रोजगार


८ मंसिर, काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई समाचार बनाएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विविध पाटा–पक्ष केलाएका पत्रपत्रिकाहरुले काठमाडौं–निजगढ द्रुतमार्गको डीपीआर नै अपूरो रहेको, प्रचारमा उम्मेदवारहरुले खर्च गरेको १४ करोड बाहिरिएको, कतारमा नाकाबन्दी हुँदा हजारौं नेपालीको रोजगारी गुमेकोलगायत समाचारलाई आज पहिलो पृष्ठमा प्राथमिकता दिएर छापेका छन् ।

भाषण गर्छन् तर मतदाताका कुरा सुन्दैनन् उम्मेदवार

राष्ट्रिय जनता पार्टीले बिहीबार सार्वजनिक गरेको घोषणापत्रको समाचारलाई महत्त्वका साथ छापेको अन्नपूर्ण पोस्ट दैनिकले मतदाताको गुनासोलाई आज मुख्य समाचार बनाएको छ । अन्नपूर्णले लेखेको छ– अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेहरुले नेतासँग आँखा जुधाउन पाएका छैनन् ।’

समाचार अनुसार सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षेत्रीको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीको लागि स्थानीयले वर्षौंदेखि पर्खिएका छन् । अरुबेला नआए पनि नेता चुनावमा आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने लागेको थियो । तर त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन । नेताहरु मतदाताको कुरा सुन्नेभन्दा पनि भाषण गर्नमै व्यस्त हुँदा मतदाताले गुनासो राख्न पाएका छैनन् ।

विप्लव कार्यकर्ताको तिब्बती कनेक्सन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई पोखरा प्रहरीले पक्राउ गरेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कर्याकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी तासी वाङदुङलाई पक्रेको हो ।

वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । समाचार अनुसार, विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्छ ।

आचारसंहिताविपरीत जिल्ला पठाइँदै नौ अर्ब


सरकारले बाढीपीडित र सिँचाइ संरचना निर्माणका लागि विभिन्न जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, दुवै चरणको निर्वाचनको पूर्वसन्ध्यामा सरकारले ३७ भन्दा बढी जिल्लामा नौ अर्ब रुपैयाँ पठाउन गृहकार्य थालेको हो ।

सरकारले दुई साताअघि बाढीपीडित क्षेत्रको पुनर्निर्माणका लागि १७ अर्बको महत्त्वकांक्षी प्याकेज कार्यक्रम घोषणा गर्ने निर्णय गरेको थियो ।

समाचार अनुसार, सिँचाइ मन्त्रालयले गृह जिल्लामा पहिलो चरणमा नौ अर्ब रुपैयाँ पठाउने गृहकार्यलाई तीव्रता दिएको छ ।

चुनाव प्रचारमा १४ करोड विदेशियो

आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारमा उम्मेदवारहरुले खर्च गरेको १४ करोड रुपैयाँ विदेशिएको समाचार पनि नयाँ पत्रिकाले छापेको छ ।

सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको यो आधारमा मुलुकबाट करोडौँ रुपैयाँ विदेशिएको फेसबुक स्पोन्सर गराउँदै आएका विज्ञापन एजेन्सीले बताएका छन् ।

‘दुवै चुनावको प्रतिस्पर्धामा रहेका कुल उम्मेदवार संख्याको एक चौथाइलाई आधार मान्दा मात्रै पनि सामाजिक सञ्जालमा स्पोन्सरका नाममा १३ करोड ७७ लाख रुपैयाँभन्दा धेरै रकम बिदेसिएको देखिन्छ,’ समाचारमा लेखिएको छ, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा क्रमशः ३ हजार ४ सय ४८ र २ हजार ६२ गरी कुल ५ हजार ५ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये एक चौथाइ अर्थात् १ हजार ३ सय ७७ जनाले पेज तथा कन्टेन्ट स्पोन्सरमा १ लाखका दरले खर्च गर्दा पनि १३ करोड ७७ लाख रुपैयाँ चुनाव खर्चकै रूपमा बाहिरिएको छ । त्यसमध्ये अधिकांश अवैधानिक रूपमा जान्छ ।’

सामान्य शैलीको चुनाव प्रचारप्रसार खर्चिलो भएकोमा आलोचना भइरहँदा चुनाव प्रचारप्रसारकै नाममा फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा समेत करोडौं खर्च भइरहेको छ ।

कतारमा गुम्यो हजारौं नेपालीको रोजगार

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौं नेपालीले रोजगारी गुमाएको खबरलाई आज कान्तिपुरले महत्त्वका साथ लेखेको छ । समाचार अनुसार, निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको छ ।

समयमा तलब भुक्तानी नपाएका सयौं कामदार कामविहीन भएर बसेका छन् ।

आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दै आएका छिन् ।

उल्टियो युनीटीको फैसला

कान्तिपुरमै युनीटीको फैसला उल्टिएको अर्को समाचार पनि छापिएको छ । युनीटी प्रकरणमा जिल्ला अदालतबाट दोषी ठहर भएका आरोपितले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

न्यायाधीशहरु दुर्गादत्त भट्ट र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले पुनरावेदनका लागि दर्ता भएका विभिन्न १८ मुद्दामा सुरुको फैसला उल्टिने आदेश दिएको समाचारमा उल्लेख छ ।

फास्ट ट्र्याकको डीपीआरमा ६१ करोड झ्वाम !

नयाँ पत्रिका दैनिकले सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन डीपीआरको आधारमा समयमा नसकिने भएको समाचार छापेको छ । डीपीआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ ।

डीपीआर अध्ययन गर्न सेनाले बनाएको उच्चस्तरीय अध्ययन समितिका सदस्य तथा पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाले पुरानै डीपीआरको आधारमा फास्ट ट्रयाक बन्न नसक्ने बताए ।

उक्त अपुरो डीपीआर सरकारले भारतीय ठेकेदार कम्पनी इन्फास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेज (आईएलएफएस)बाट गत २७ असोजमा ६१ करोड १२ लाख रुपैयाँमा किन्ने निर्णय गरेको थियो । सरकारले २१ वैशाख ०७४ मा नेपाली सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment