Comments Add Comment

खेलकुदबाट सदस्यता बढाउँदै एनआरएन युएई


२३ नोभेम्बर, युएई । एनआरएन युएईले खेलकुदको माध्यमबाट प्रवासी नेपालीहरुलाई आफ्नो सामाजिक अभियानमा सरिक बनाउन लागेको छ । खेलकुदको माध्यमबाट प्रवासी नेपालीहरुलाई एनआरएन अभियानबारे जानकारी दिन, खेलाडीहरुको मनोबल बढाउन, सर्वसाधारण नेपालीहरुलाई कुलतबाट बचाउन, अनुशासन र शारीरिक तन्दुरस्तीमा युवाहरुलाई अभ्यस्त बनाउन गैर आवासीय नेपाली संघ, युएईले डिसेम्बर महिनामा बृहत् खेलकुद कार्यक्रम आयोजना गरेको हो ।

रोजगारीका क्रममा युएईमा रहेका खेलकुदप्रेमी नेपालीहरुको रुचिलाई मध्यनजर राख्दै एनआरएन युएईले युएईव्यापी खुल्ला भलिबल प्रतियोगिता र अन्तर संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने भएको छ ।

नेपाली दूतावास परिसरमा गत १० नोभेम्बरमा बसेको एनआरएन युएईको पूर्ण बैठकले अंग्रेजी महिना डिसेम्बरलाई खेलकुद महिना घोषणा गरी विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने निर्णयहरु गरेको थियो । आगामी १५ डिसेम्बरमा युएईव्यापी खुल्ला बहत् भलिबल प्रतियोगिता हुने एनआरएन युएईका युवा संयोजक नवीन पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार करिब ३० खेल समूहको सहभागितामा आयोजना हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमश ३ हजार ३ सय ३३ (करिब १ लाख रुपैयाँ), २ हजार २ सय २२ (करिब ६५ हजार रुपैयाँ) र १ हजार १ सय ११ दिराम्स (करिब ३२ हजार रुपैयाँ) आर्थिक पुरस्कार तथा मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा भाग लिन ७ जना खेलाडी, ४ जना वैकल्पिक खेलाडी, १ जना क्याप्टेन र एक जना टिम म्यानेजर सहित डिसेम्बर १२ सम्ममा समूह दर्ता गर्न सकिने उक्त प्रतियोगिताका संयोजक समेत रहेका युवा संयोजक पौडेलले बताए । भलिबल प्रतियोगिता अलकुजमा रहेको डलस्को खेलमैदानमा हुने आयोजकले बताएको छ ।

त्यसरी नै युएईमा क्रियाशील नेपाली संघसंस्थाहरुबीच एकता, सहयोग र सहकार्य गर्ने उद्देश्यले आगामी डिसेम्बर २९ मा अन्तर संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि एनआरएन युएईले आयोजना गरेको छ । यसका लागि भने युएईमा सक्रिय सामाजिक संस्थाहरुलाई एनआरएनले औपचारिक पत्र पठाउने तयारी गरिरहेको छ । युएईमा क्रियाशील सामाजिक तथा व्यावसायिक समूहहरुबीच आपसी हित तथा सुमधुर सम्बन्ध स्थापित गरी सबैसँग आत्मीयता बढाउन एनआरएन युएईले सामूहिक कार्यक्रम गर्ने उद्देश्य समेत राखेको अध्यक्ष श्रेष्ठले बताए । यो प्रतियोगिता भने दुबईको सफा पार्कमा आयोजना हुने खेल संयोजक पौडेलले बताएका छन् ।

धेरै नेपालीहरुको खेलकुदप्रतिको मोहलाई ध्यानमा राख्दै आफ्ना सामाजिक क्रियाकलापहरुमा युएईका नेपालीहरुलाई नजिक ल्याउन खेलकुद प्रभावकारी माध्यम भएको ठहर गर्दै यस्ता खेल प्रतियोगिताहरु आयोजना गरेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment