Comments Add Comment

मनै लोभ्याउने सल्यानको सुन्तला गाउँ

एकै परिवारले आम्दानी गर्छन् ४० लाखसम्म

८ मंसिर, सल्यान । जिल्लाको डाँगीगाउँ सुन्तला गाउँका रुपमा परिचित छ । साविकको कोटमौला गाविस (हाल वागचौर) नगरपालिकामा पर्छ, यो गाउँ ।

कपुरकोटको तरकारी, डाँगीगाउँको सुन्तला र माल्नेटाको अदुवाले ख्याति कमाएका छन्, देशभरि ।

सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन, अहिले । बगैंचामै आइपुग्ने व्यापारीले बजार पुर्‍याइदिन्छन् । आँगनमै हातहातै आम्दानी हात पर्ने भएकाले किसान व्यावसायिक खेतीमा लागेका छन् ।

सुन्तला नेपालको मध्यपहाडी भेगमा उत्पादन हुने फल हो । र, यो समुद्री सतहको एक हजारदेखि १४ सय मिटरसम्ममा फल्छ । बिरुवा रोपेको पाँच वर्षदेखि फल लाग्न थाल्छ । एउटै बोटले दुई सय किलोसम्म उत्पादन दिन्छ ।

डाँगीगाउँमा ०३० सालदेखि सुन्तला खेती शुरु भएको हो । स्थानीय शेरबहादुर डाँगीले चार वटा बोटबाट यसको शुरुवात गरेका थिए ।


सरकारी निकायले खासै सहयोग नगरे पनि व्यावसायिक खेती फस्टाएको अगुवा किसान अंगेश्वर डाँगी बताउँछन् । सुन्तला खेतीका संस्थापक शेरबहादुरका छोरा हुन्, अंगेश्वर । उनको परिवारै सुन्तला खेतीमै लागेको छ ।

गत वर्ष तत्कालीन कृषिमन्त्री गौरीशंकर चौधरी र कृषि विभागका महानिर्देशकसहितको टोली गाउँमै पुगेको थियो । त्यस क्रममा किसानले अगाडि सारेका कुनै माग पूरा नभएको डाँगी बताउँछन् ।

दाङको तुलसीपुरबाट रुकुम जोड्ने राप्ती राजमार्गको खरीबोटदेखि डाँगीगाउँसम्म कच्ची सडक निर्माण भएको छ । स्थानीय कृषकले उक्त सडक कालोपत्रे गर्न सके व्यावसायिक खेती अझ फस्टाउने बताउँदै आएका छन् ।

डाँगीगाउँका हरेक परिवारले सुन्तला रोपेका छन् । कात्तिकदेखि पुस अन्तिमसम्म गाउँ नै पहेंलपुर देखिने गर्छ ।


कृषक टेकबहादुर डाँगीका अनुसार यहाँका सुन्तला बाँके र कैलाली पुर्‍याउँछन्, व्यापारीले । अहिले बगैंचामै प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्म भाउ छ ।

बोटमा गोठे मलको प्रयोग गरिएकाले पूर्ण अर्गानिक उत्पादन हुन्छ । बोटमुनि बेसार, अदुवा र पिँडालु लगाउन सकिने भएकाले किसान थप लाभमा रहन्छन् ।

मकै, गहुँजस्ता परम्परागत खेती गर्न छाडिएको छ । गाउँ नै सुन्तलाको जंगलजस्तो देखिन्छ । घर वरिपरि पहेंलपुर लोभलाग्दा दाना लटरम्म छन् । हाँगाले धान्नै नसक्ने गरी दाना लागेकाले टेको लगाएर अड्याउनु परेको छ ।

रुकुमको त्रिवेणी रुँघाका क्षेत्रबहादुर बोहरा भेटिए, डाँगीगाउँमा । उनी भन्दै थिए, ‘सुन्तला हेर्नकै लागि आएको हुँ ।’ यो मौसममा प्रचार प्रसार गर्न सकिए कृषि पर्यटन प्रबर्द्धन गर्न सकिने उनको भनाइ छ ।


हरेक घरमा पुग्ने पाहुनालाई बोटबाटै टिपेर सुन्तला थालीमा राखी स्वागत गर्ने गरिन्छ ।

फूल र फल लाग्ने मौसममा असिना नपरे त्यस वर्ष राम्रो आम्दानी लिन सकिने किसानको अनुमान हुने गर्छ ।

राष्ट्रिय समस्या बनेको ‘सिट्रस गि्रनिङ पोजिटिभ’ भाइरस यहाँ पनि देखा पर्न थालेको छ, जसका कारण बोट पहेंलो हुँदै सुक्ने गर्छ ।

असिना र भाइरसको प्रकोप नभए एउटै परिवारले वर्षमा ४० लाखसम्मको सुन्तला बिक्री गर्ने गरेको स्थानीय भीम डाँगी बताउँछन् । सुन्तलाले गाउँको जीवनस्तर पूरै फेरिएको अर्का किसान भरतनाथ योगी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment