Comments Add Comment

मधेश विरोधीलाई पराजित गरेपछि मात्रै मधेशीलाई सफलताः महतो

८ मंसिर, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश बिरोधीहरुलाई चुनावबाटै पराजित गरेपछि मात्रै सिँगो मधेशले सफलता पाउने बताएका छन् ।

यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका नेता महतोले जबसम्म समग्र मधेशको विकास हुँदैन, तबसम्म मधेशमा कुनै न कुनै आन्दोलन भैरहने बताए ।

शुक्रबार धनुषाको हाँसपट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतोले मधेसी जनतामाथि बर्षौदेखि विभेद हुँदै आएकाले त्यो विभेद अन्त्य गर्न र मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका तथा अन्य पीडित वर्गका समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनका लागि पनि मधेसी जनताले राजपालाई मत दिनुपर्ने बताए ।

खस मानसिकता बोकेका दलहरुले मधेशी जनतालाई मतदाता र करदाताको रुपमा मात्रै प्रयोग गर्दै आएको आरोप लगाउँदै उनले भने-‘मधेशी जनतालाई खसवादी सोच भएका दलहरु दूई कामका लागि मात्रै प्रयोग गर्दै आएका छन् पहिलो मत लिनलाई र अर्को कर लिनलाई, अब हामीलाई अधिकारका लागि मधेशी दललाई अत्याधिक मत दिनु पर्छ ।’

कांग्रेसले विकासको झुट नारा लगाएर मधेशलाई नै ध्वस्त पारेको उनको आरोप छ । ‘मधेशी जनतालाई अब बराबरीको अधिकार चाहिन्छ भन्दै नेता महतोले बराबरीको अधिकारको लागि मधेशवादी दलहरुलाई नै जिताउनुको विकल्प नरहेको बताए ।

कांग्रेसले आफ्नो विरुद्ध लागेकै कारण मधेशी जनताविरुद्ध भय र त्रासको राजनीति सुरु गरेको आरोप लगाउँदै महतोले मधेशमा भय त्रासको राजनीति गर्ने नेपाली कांग्रेस बिरुद्ध लड्न आफू सदैव तैयार रहेको स्पष्ट पारे ।

तर अब मधेशी जनताको सुरक्षाको जिम्मेबारी आफू माथि आएको र चुनाव जितेर आफूले त्यो जिम्मेवारी पुरा गर्ने महतोले अठोट व्यक्त गरे ।

कांग्रेसले जहिलेपनि मधेसी जनतालाई ठगेको भन्दै उनले यहाँका जनताको आधारभूत आवश्यकता मधेसवादी दलले नै पुरा गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment