Comments Add Comment

जिसस पर्साको सभापतिमा फोरमका नेक महम्मद विजयी

८ मंसिर, वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको सभापतिमा संघीय समाजवादी फोरम नेपालका नेक महम्मद अन्सारी सभापतिमा निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सात मत अन्तरले पछि पार्दै अन्सारी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

अन्सारी १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जतन राउत कुर्मीले १० मत मात्रै पाए ।

यसैगरी उपसभापति पदमा नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद न्यौपाने निर्विरोध चयन भएका छन् ।

उपसभापति पदमा उम्मेदवारी दिएका फोरम नेपालका राजकुमार महतो कोइरीले उम्मेदवारी फिर्ता लिएपछि एमालेका न्यौपाने निर्विरोध चयन भएका हुन् ।

निर्वाचनबाट जिल्ला समन्वय समिति पर्साको महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी गिरिजा देवी , एमालेकी संगीता देवी दुसादीन र फोरम नेपालकी प्रेम कुमारी सिंह क्षेत्री निर्वाचित भएका छन् । यस्तै दलित वा अल्प संख्यक सदस्यमा माओवादी केन्द्रका सुवास साह कानु र फोरम नेपालका रामेश्वर प्रसाद तथा सदस्यहरुमा फोरम नेपालका अमोद कुमार यादव र माओवादी केन्द्रका रामजी महत्तो निर्वाचित भएका छन् ।

गत मंसिर ४ गते मनोनयनका दिन ९ पदका लागि कांग्रेस , एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराएको भए पनि निर्वाचनमा भने एमाले र माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर फोरम नेपाललाई सघाएपछि सभापतिमा फोरम नेपालका उम्मेदवार विजयी भएका हुन् ।

जिल्ला समन्वय समितिको चुनावको लागि पर्सा जिल्लामा २८ जना मतदाता रहेकोमा फोरम नेपालका १०, कांग्रेसका ८, एमालेका ३, माओवादी केन्द्रका ५ र नेपाली जनता दलका २ जना मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment