Comments Add Comment

काठमाडौंमा हवाई इन्धनको माग धान्न आयल निगमलाई मुस्किल


९ मंसिर, काठमाडौं । नेपाल आयल निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक हवाई इन्धनको जोहो गर्न समस्या परेको छ । माग बढदै गएपछि विभिन्न समयमा हवाई इन्धनको आपूर्ति र खपतको अवस्था स्वभाविक अवस्थामा राख्न चुनौती थपिएको निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पछिल्लो समयमा हवाई इन्धनको माग उच्च हुँदै गएकाले माग व्यवस्थापनमा अनेकन चुनौती खडा भएका हुन् । पर्यटकीय सिजनमा उडान संख्याहरु थपिँदा निगमलाई झनै मुस्किल पर्ने गरेको छ ।

दश वर्षअघि त्रिभुवन विमानस्थलमा दैनिक डेढ लाख लिटर मात्रै हवाइ इन्धन खपत हुन्थ्यो । तर, अहिले दैनिक ७ लाख लिटरसम्म हवाई इन्धन माग हुन थालेको भट्टराईले बताए ।

सिनामंगलस्थित हवाई इन्धनको डिपोको भण्डारण क्षमतामा ७० लाख लिटर छ । भारतीय आयल कर्पोरेसन (आईओसी)को रक्सोल डिपोमो काममा विभिन्न कारण आउने अवरोध, वीरगञ्ज नाकाका विभिन्न कारण हुने भन्सार अवरोध तथा नेपालका राजमार्गमा हुने अवरोधका कारण नियमति हवाइ इन्धन आपूर्तिमा समस्या परिरहेको भट्टराईको भनाइ छ ।

यही कारण सिनामंगल डिपो पनि पूर्ण क्षमतामा भडारण गर्न नसकिने र एक-दुई दिन आपूर्ति प्रभावित हुनासाथ निगमलाई माग व्यवस्थापनमा तनाव सुरु हुने गरेको छ ।

‘हामीसँग एक-दुई दिन तेल नआउनसाथ हवाई इन्धनको जोहो गर्ने विषय टाउको दुखाई बनिहाल्छ,’भट्टराई भन्छन्, ‘कुनै कारण हप्तादिन हवाई इन्धन आउन सकेन भने विमानस्थल नै प्रभावित हुने अवस्था आउन सक्छ ।’

तर, विभिन्न उपाय लगाएर भएपनि विमानस्थलको मागअनुसार तेल दिइएको दावी निगमको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय उडान थपिएको र आन्तरिक सेवामा पनि नयाँ ठूला विमानहरु आएकाले माग बढ्दै गएको हो ।

तर, पुरानै भण्डारण क्षमतामा आपूर्ति निर्भर भएकाले व्यवस्थापनमा चुनौती आएको कार्यकारी निर्देशक भट्टराई बताउँछन् ।

त्यसैगरी निगसाग विमानस्थलमा तेल भर्ने प्रविधि निकै पुरानो किसिमको । रिफ्युरलरहरु समय-समयमा बिग्रँदा निगमलाई विमानमा तेल भर्न नै समस्या हुने गरेको भट्टराईले बताए ।

अहिले निगसँग त्रिभुवन विमानस्थलका लागि ८ रिफ्युलर छन्, त्यसमध्ये ६ वटाले नियमित रिफ्युलिङको काम गर्छन् । विमानमा तेल भर्नुपर्ने हिसावले यो निकै कम हो । तर, कहिलेकाँही एकैपटक धेरै रिफ्युलर बिगि्रने गर्दा आयल निगम समस्या पर्ने गरेको छ ।

‘विमानस्थलमा तेल भर्ने उपकरण तथा प्रविधि सबै पुराना भइसके । तर, हामीले अझै त्यसलाई विस्थापित गरेर नयाँमा जान सकेका छैनौं,’ भट्टराई भन्छन्,’सरकारी कम्पनी भएकाले खरिद प्रक्रियासहितका विभिन्न कारणहरुले समस्या आउनासाथ सुल्झाउन पनि असहज भएको छ ।’

भट्टराईले समस्या हुन नदिन आईओसीको रक्सोल डिपोमा नेपालका लागि सबै दिन हवाई इन्धन लोड हुने व्यवस्था गरिएको बताए ।

उनले भण्डारण क्षमता कमजोर भएकाले नयाँ विमान कम्पनीले सेवा थाले भन्ने समाचारले निगमलाई आपूर्ति बढाउने ‘प्रेसर’मा पार्ने गरेको सुनाए ।

‘माग निरन्तर बढिरहँदा हामीमाथि माग व्यवस्थापनको प्रसर पनि बढिरहेको छ,’ भट्टराई भन्छन्,’नियमित रुपमा भारतबाट सहज रुपमा तेल ल्याउने र भण्डारण क्षमता बढाउनेबाहेह अरु विकल्प हामीसँग छैन ।’

भट्टराईले चितवनमा बन्ने पेट्रोलियम भण्डारमा अधिक मात्रामा काठमाडौंलाई लक्षित गरेर हवाई इन्धन भण्डारण गर्नुपर्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment