सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

कचकच एण्ड थकथक

अशोक सिलवाल

‘हाई ! आइ एम नमी’, पातली खालकी एउटीले भनी ।

‘हेलो ! आइ एम भाव’, कालीकाली हिस्सी परेकी अर्की त्यस्तैले भनी ।

होटल मनास्लुमा दुई दिनलाई घुमाउनुपर्ने इन्डियन मूलका दुई केटीहरु छन् भनेर भेट्नुअघि नै मलाई जानकारी दिइएको थियो ।

झट्ट हेर्दा टिनएजर जस्ता देखिने ती केटीहरुलाई मैले भनें, ‘तिमीहरु मैले सोचेभन्दा निकै जवान रहेछौं । यु बोथ सिम्स् भेरी योङ ।’

‘तिमीले के सोचेका थियौ र !’, नमीले आँखा अलि ठूलो पारेर टाउको मतिर ढल्काउँदै सोधी ।

‘अलि उमेर खाएका परिपक्व होलाउ भन्ने सोचेको थिएँ’, मैले आफ्नो पूर्वानुमान बताएँ ।

‘हामीलाई भेट्नुअघि तिमीले जे सोचेका थियौ, तिमीले ठीक सोचेका रहछौं । हामी त्यस्तै नै हौं । ल भन हाम्रो एज’, नमीले निकै खुलेर सोधी ।

‘तिमीहरु पक्कै पनि मभन्दा जुनियर छौ’, मैले भनें ।

‘पहिले तिम्रो एज त भन’, मलाई नै जुनियर प्रमाणित गर्न खोज्दै भावले सोधी । उसको शब्दमा नमीले पनि स्वर थपी, ‘भन त ।’

म अड्कें । मैले आफ्नो उमेर बताइनँ । बरु भनें, ‘पहिले पहिले केटाको तलव र केटीको उमेर नसोध्नु भन्थे । अहिले मसँग ‘केटा’को पनि उमेर नसोधेकै राम्रो’, मैले भनें ।

‘भन न’, उनीहरुले अड्डी कसे । मेरो अड्डी उनीहरुको भन्दा अझ कडा थियो । म डेग चलिनँ । अन्त्यमा उनीहरुले नै उनीहरुको आफ्नो उमेर भने । नमी चौतीस र भाव तेत्तीस बर्षकी रहिछ ।

मैले अपत्यार गर्दै पत्याएँ ।

‘हामीले भनेपछि हाम्रो उमेर तिमीले पत्याउनै पर्छ’, दुवैले एकै स्वरमा भने । उनीहरु एकअर्कामा साथीजस्ता देखिन्थे । हरेक कुरामा हाँस्नुपर्ने र अलि बढी खुल्नुपर्ने । अंग्रेजी फरर बोल्ने उनीहरु बेलाबेला हिन्दी शब्दहरु पनि मिसाउँथे. ।

चुलबुले टाइपका उनीहरुले आ-आफ्ना लोग्नेहरुको कचकचबाट मुक्त भएर यात्रा गर्न नेपाल आएको बताए । त्यसअघि मैले उनीहरु भर्खरका अविवाहित केटीहरु हुन् भन्ने सोचेको थिएँ । उनीहरु दिदीबहिनी पो रहेछन् । त्यो पनि मैले उनीहरुले भनेपछि नै थाहा पाएँ । तर, दुईमध्ये को दिदी र को बहिनी भनेर अनुमान गर्न मलाई निकै कठिन भइरह्यो । म दिदी र ऊ बहिनी वा ऊ बहिनी र म दिदी भनेर उनीहरुले पनि भनेनन् ।

अन्तिममा केही सीप नलागेपछि मैले नै सोधें, ‘तिमीहरुमध्ये को दिदी र को बहिनी ?’

फेरि पनि उनीहरुले सीधा उत्तर दिएनन् । उनीहरुको प्रश्नमा म निकै बेर अलमलिएँ ।

‘तुम दोनो ही बच्चे लगते हो । सो आइ एम अनेबल टु से’, मैले हिन्दी र अंग्रेजीमा हार मानें । अन्त्यमा बल्ल उनीहरुले बताए । नमी दिदी रहिछ । भाव बहिनी भनेर त भन्नै परेन ।

हामी सोह्खुट्टेको आरालो हुँदै स्वयम्भु जाँदै थियौं । छेऊमा रक्सी पसल देखाउँदै नमीले उसको पतिलाई नेपालबाट नेपाली रक्सी भरिएकोे एउटा बोतल लैजाने कुरा गरी ।

‘ऊ रक्सी निकै मन पराउँछ । म हरेक देशबाट फर्किंदा त्यो देशमै बनेका रक्सी उसलाई उपहार दिन भनेर लैजान्छु । रक्सी पाएपछि ऊ निकै खुशी हुन्छ । मलाई उसले रक्सी खाएको मन पर्दैन तर रक्सी उपहार दिंदा उसको अनुहारमा जो खुशी देखिन्छ, त्यो देखेर मलाई निकै आनन्द आउँछ । त्यति मात्र होइन, रक्सी खाएपछि ऊ मात्तिएको मलाई निकै मन पर्छ । ऊ त्यसपछि निकै रोमान्टिक हुने गर्छ । त्यो मलाई झन् मन पर्छ’, नमीले त्यसो भनिरहँदा भावले पनि आफ्नो पतिलाई सम्झी, ‘मेरो पति त त्यसै रोमान्टिक छ । उसलाई रोमान्टिक हुन रक्सी खानै पर्दैन । तर, नमीको पति जस्तै मेरो पति पनि धेरै नै कचकच गर्छ’, भावले भनी ।

‘त्यसैले त हामी उनीहरुको कचकचबाट मुक्त हुन नेपाल आएका हौं’, नमीले थपी । उनीहरु दुवैको साझा धारणा के थियो भने, उनीहरुका लोग्नेहरु कचकचे छन् । उनीहरुको साझा निष्कर्ष के थियो भने, सामान्यतया श्रीमानहरु कचकचे नै हुन्छन् ।

‘श्रीमतीहरु कचकचे हुन्छन् भन्ने आमसोचाई भए पनि तिमीहरुले श्रीमानहरु पो कचकचे हुन्छन् भन्ने खालको कुरा गर्‍यौ’, मैले भनें ।

‘श्रीमानहरु कचकचे हुँदैनन् त’, उनीहरुले उल्टो मलाई सोधें ।

‘श्रीमान वा श्रीमती भएको आधारमा भन्दा पनि व्यक्तिको स्वभाव र व्यवहारको कुरा हो । होइन र ?’, त्यति भन्दै मैले त्यो प्रसंगलाई टुँग्याएँ ।

उनीहरु दुई दिदीबहिनी कम्तीमा बर्षको एक पटक साथीजस्तो भएर यात्रामा निस्कने गरेका रहेछन् । यसरी घुम्न थालेको उनीहरुले बिहे गरेकै बर्षबाट हो रे । यसपटक उनीहरु ४ हप्ताको लागि नेपाल आएका रहेछन् ।

बाबुआमाका दुईमात्र सन्तान रहेछन् उनीहरु । बिहेपछि भाव श्रीमानसँग सिंगापुर बस्दिरहिछ भने नमीले श्रीमानलाई आफ्नो आमाबुवाको घरमा भित्र्याएकी रहिछ । नेपाली शब्दमा भन्ने हो भने उसको श्रीमान घरज्वाईं रहेछ ।

‘बर्षमा एक पटक हामी दुई दिदीबहिनी मात्र घुम्छौं । एक पटक आ-आफ्ना पतिलाई लिएर घुम्छौं । र, एक पटक बुबाआमालाई पनि संगै लिएर लिएर घुम्छौं’, उनीहरुले भने ।

‘त्यमध्ये कुनचाहिं फेबरेट ?’, मैले सोधें ।

ती सबै प्रकारका घुमाइहरुको आफ्नै कलर छन् । यो वा त्यो होइन, हामीलाई त सबै यात्रा फेबरेट लाग्छन्’, उनीहरुले भने । त्यहाँनेर म ती दुई दिदीबहिनीको बौद्धिकताले पनि प्रभावित भएँ ।

निकै नजिकिएर कुरा हुन थालिसकेको थियो । हरेक कुरामा वा बिना कुरैमा पनि नमी मलाई छुन थालिसकेकी थिई । भाव पनि बेलाबेला मलाई धाप मार्दै कुरा गर्थी ।

‘ओ क्या हे ?’, बाटोछेउको पसलमा झुन्ड्याएर राखिएका पाउँहरु देखाउँदै भावले भनी ।

‘खट्टा हे क्या ?’, मैले उत्तर दिनुअघि नै नमीले प्रतिप्रश्न गरी ।

‘यु क्यान बाई एन्ड टेस्ट’, मैले उनीहरुलाई प्रोत्साहित गरें ।

उनीहरुले लब्सीको तितौरा किने । निकै स्वादले मीठो मानी मानी जिब्रो फटकारेर खान थाले । मलाई चाहिं उनीहरुसँगको गफ निकै मीठो लागिरहेको थियो ।

‘चाय’, नमीले फेरि पनि त्यति मात्र भनी । हामी स्वयम्भु घुमेर बौद्ध फर्किंदै थियौ ।

‘हामी चिया भन्छौं’, मैले भने ।

‘हमको चाय पिना हे’, नमीले फेरि भनी ।

‘यु क्यान ड्रिंक टी इन रेस्टुरेन्ट’, त्यति भन्दै मैले उनीहरुलाई बौद्धको एउटा रेस्टुरेन्ट छिराइदिएँ । म अन्य गाइड साथीहरु भेटिएकोले नमी र भाव बसेको भन्दा अलि परको टेबलमा गएँ ।

मैले चिकेन मम खाएँ । उनीहरुले भेज मम खाए । उनीहरु भेजिटेरियन रहेछन् । त्यसपछि उनीहरुले आफ्नो बील तिरे । हामी बौद्ध घुमेर कारतिर अगाडि बढ्दै थियौं ।

‘चाय’, नमीले फेरि भनी ।

‘कस्तो लाग्यो ?’, मैले सोधें ।

‘के ?’। उसले सोधी ।

‘चाय’, मैले भनें ।

‘खाएको भए पो ? खाँदै नखाएपछि कस्तो लाग्यो भन्नु ?’, उसले हल्का हाँस्दै भनी

‘अघि रेस्टुरेन्टमा खाइनौ र ?’, मैले आश्चर्यमा परे झैं गरी सोधें ।

‘मेनुमा चिया थिएन’, उसले भनी ।

‘तैपनि तिमी अर्डर गर्न सक्थ्यौ । अर्डर गरेको भए मेनुमा नभए पनि तिमीले चाय पाउन सक्थ्यौ’, मैले भनें ।

‘हो र ?’। ऊ चुकचुकाई ।

‘हो नि । अघि मलाई भन्नु पर्थेन ? त्यहाँको मेनुमा चिया उल्लेख नभएको मलाई पहिल्यै थाहा थियो । मैले पनि याद गरिनँ । तर, मैले धेरै पटक त्यहाँ स्टिलको गिलासमा चिया पिएको छु । त्यहाँको साहु स्टिलको गिलासमा चिया खान निकै सौखिन छ । मलाई पनि स्टिलकै गिलासमा चिया खाँदा घरमै चिया खाए जस्तो लाग्छ’, त्यति भन्दै सडकतिर हेर्दै मैले यतैकतै भए पनि चिया खाने हो त भनेर नमीलाई सोधें ।

‘खाने हो’, उसले भनी ।

त्यति नै बेला हामी हिंडिरहेको सडकछेऊमै एउटा भट्टी जस्तो पसल आइपुग्यो ।

‘चिया पाइन्छ ?’, हरियो पर्दाबाट टाउको आधा छिराएर सोधें ।

‘पाइदैन’, मतिर हेर्दै नहेरी तिब्बतियन अनुहारकी आइमाइले भनी ।

सँगै टाँसिएको अर्को सटरमा समोसा पसल रहेछ । त्यहाँ त पक्कै पाइएला भन्ने ठान्दै फेरि सोधें, ‘चिया पाइन्छ ?’

‘पाउन त पाइन्छ तर आधा घन्टा लाग्छ’, उम्लिरहेको तेलमा समसा फुराइरहेको साहुले भन्यो । समोसा पसल र भट्टीको सटरको बाहिरपटि्ट सीमानामा रहेको एउटा बेञ्ची थियो । त्यही बसेर आधा घन्टा कुर्ने कि अन्त कतै खोज्ने भनेर दायाँबायाँ कतै होटल छन् कि भनेर सोच्दै गर्दा भट्टीकी आइमाइले पर्दाबाट टाउको बाहिर निकालेर ‘चिया बनाउँछु’ भनी । ।

‘हुन्छ । बनाउनोस्’ भन्दै हामी पर्दाभित्र छिर्‍यौं । साँघुरो भट्टीभित्र दुईटा टेबल थिए । हामी कुनापटि्टको टेबलमा गयौं । चिया पाक्दै गर्दा छ्याङ्को बासनालाई चियाको बासनाले जित्न थालिसकेको थियो ।

चिया आउनुअघि नै नमी र भाव दुवैसँग अनुमति माग्दै साहुनीसँग मैले एउटा चुरोट मागें ।

‘म पनि कहिलेकाँही खान्छु’, चुरोट आइपुग्नुअघि नै नमीले एक्कासी भनी ।

साहुनीले दिएको चुरोट मैले नमीलाई लिनु भनें । मेरो खल्तीमा सलाई पहिलेदेखि नै थियो । उसको ओठमा मैले चुरोट सल्काइदिएँ ।

चिया आइपुग्यो । हामीले त्यही एउटा चुरोट पालैपालो तान्यौं । हामी बीचमा टेबल पारेर आमुन्नेसामुन्ने बसेका थियौं । म धुँवा फाल्दै थिएँ । मैले फालेको धुँवा नमीको अनुहारभरि फैलिएको थियो । धुवाँबीच उसले अनुहार निकै हँसिलो बनाई । एक्कासी भाव मतिर आई र मेरो छातीमा आफ्नो कुम मजाले जोडेर सेल्फी खिची । सेल्फीमा मेरो एउटा हातमा चुरोट थियो भने अर्को हातले उसलाई अंगालो हालेको थियो ।

नमीले पनि मैलेजस्तै चुरोटको धुँवा मतिर फालिरहेकी थिई । भावले चुरोट तानिनँ तर पनि धुवाँ मन पर्ने उसले बताई ।

त्यति नै बेला अर्को टेबलमा चारजना केटाहरु आइपुगे । अलि अघि नै अर्डर गरेको थुक्पा उनीहरुको लागि तयार भइसकेको रहेछ । चुरोटकै धुवाँजस्तै देखिएको थुक्पाको वाफ टबेलबाट सिलिङतिर उक्लिरहेको थियो । उनीहरु हामीतिर हेरिरहेका थिए ।

‘बल्ल मलाई नेपालमा छु जस्तो लाग्यो । बल्ल मलाई यात्रामा छु जस्तो लाग्यो’, त्यहाँबाट कारतिर बढ्दै गर्दा नमीले भनी ।

‘मलाई पनि’, भावले पनि नमीकै कुरामा सही थपी ।

‘नाउ वी आर फ्रेण्ड’, उनीहरुले भने ।

‘यस, वी आर’, मैले भनें ।

पशुपतिमा पुगेपछि उनीहरुले भने, ‘हामीले ड्याडको सपना पुरा गर्‍यौं ।’

‘कसरी ?’, मैले सोधें ।

‘हामी सानै छँदादेखि ड्याड हामीलाई भन्ने गर्नु हुन्थ्यो, जीवनमा तिमीहरु एक पटक नेपालको पशुपतिनाथ पुग्नै पर्छ । अहिले हामी पशुपतिनाथ आइपुगेका छौं । हामी यहाँ आइपुग्नु भनेको हामीले ड्याडको सपना पुरा गरेको होइन र’, उनीहरुले भने ।

ड्याड सानै छँदा हजुरबुवा गुजरातबाट सपरिपवार केन्या सिफ्ट भएका रहेछन् । नमी र भव केन्यामै जन्मे । बाल्यकाल केन्यामै बित्यो । तर, त्यहाँबाट पनि उनीहरु सिफ्ट भएर बेलायत पुगे ।

तर, हामीलाई पशुपतिपछि नगरकोट पुग्नु थियो । नगरकोटमै रात बिताउनु थियो । कोटेश्वर कटेपछि नमीले मधुरो गरी बजिरहेको गीतको भोलुम ठुलो पार्न भनी । एकछिन पछि उसले मोबाइललाई कारको स्पिकरमा जोडेर रिमिक्सवाला गुजराती गीत बजाउन आग्रह गरी ।

गीत घन्किन थाल्यो । गुजराती स्टाइलमा ऊ बसीबसी नाच्न थाली । म पनि त्यसै गर्न थालें । भाव हाँसी रही ।

नगरकोटको होटल कन्ट्री भिल्ला पुग्दा गाढा अध्याँरो भइसकेको थियो । हामी आ-आफ्ना रुमतिर गयौं । तर, त्यसअघि नै केहीबेर नाइटवाक गरौं हैं भनेर भावले भनेकी थिई । दश मिनेटमै निकै फ्रेस देखिने गरी उनीहरु लबीमा आइपुगे । त्यसपछि हामी होटलबाट ग्यालेक्सी चोकतिर हिंड्यौं । चीसो हावाको हल्का सिरसिरमा किराहरुको आवाजमात्र थियो । त्यसमा हाम्रो पदचाप र सम्वाद थपिएको थियो । सडकको परपरसम्म अध्याँरो फैलिएको थियो । नमीले मसँग मोबाइल मागी । उसले मोबाइलको टर्च बाली । टर्चको सानो उज्यालोमा पुतलीहरुजस्तै झुम्मिएर हामी हिंडिरह्यौं । एक्कासी भावले उसको हात मेरो हातमा ल्याई । हामी दुवैले एकअर्काको हात च्याप्प समात्यौं । एक छिन त्यसरी नै हिडिरह्यौं । मैले भावको कुममा हात लगें । अझ नजिकिएकी उसलाई हल्का अंगालो हालें । नमी हामीभन्दा आधा कदम अगाडि थिई । त्यति बेलासम्म ऊ बेखबर थिई । हल्का पछाडि फर्केपछि उसले बहिनी भावलाई मेरो अंगालोमा देखी तर कुनै प्रतिकृया जनाइन । हामी उस्तरी नै अगाडि बढिरह्यौं ।

आधा घन्टापछि हामी गएकै बाटो फर्कियौं । डिनर टाइम भइसकेको थियो । डिनरपछि फेरि नमीले चिया पिई र जीवनका अनेक कुरा गर्न थाली । उसले मेरोबारे पनि बुझन् खोजी ।

‘तिमी विवाहित हौ ?’, उसले सोधी ।

‘तिमीलाई के लाग्छ ?’, मैले प्रश्नमाथि प्रश्न गरें ।

‘मलाई लाग्छ, तिमी विवाहित हौ’, उसले अनुमान गरी ।

‘यदि तिमीलाई त्यस्तो लाग्छ भने किन सोधिरहनुपर्‍यो, त्यही सोच’, मैले भनें ।

‘तैपनि सोधेको नि’, उसले लच्किई ।

‘गेस गर’, मैले फेरि पनि सीधा उत्तर दिइनँ ।

‘तिमी विवाहित हौ’, उसले ठोकेरै भनी ।

‘कसरी तिमी त्यसो भन्न सक्छौ ?’, मैले उसबाट तर्कको अपेक्षा गरें ।

‘किनभने, तिमीलाई केटीमान्छेसँग कसरी ट्रिट गर्नु पर्छ भन्ने थाहा छ’, उसले कारण खोल्न खोजी ।

‘कसरी भन्न सक्छौ ?’, मैले फेरि सोधें ।

‘केटी कुन मनस्थिति र वातावरणमा छे ? तिमी ठीक त्यसरी अगाडि बढ्न सक्छौ’, उसले तर्क पेश गरी ।

‘ओहो ! तिमी त सुक्ष्म अध्ययन गरी गहिरो विश्लेषण गर्न सक्ने खतरा मान्छे रहिछौ’, मैले हाँस्दै भनें ।

डिनर टेबलबाट हामी बाल्कोनीको टी टेवलमा गयौं । दायाँबायाँ अरु दुई चार टेबलहरु थिए । हामी हाम्रै टेबलमा रोमान्टिक कन्भर्सेसन गर्दै थियौं । अरु टेबलका मानिसहरुसमेत बेलाबेला हाम्रो कन्भर्सेसनलाई नियालिरहेका थिए ।

भावले आफ्नो प्रेमको पोको खोली, ‘नमीको एउटा साथी थियो । म उसलाई मन पराउँथें । त्यो कुरा मैले उसलाई भनें पनि । तर, उसले कहिल्यै मेरो कुरामा ध्यान दिएन । ऊसकी अर्कै प्रेमिका थिई । एक दिन यस्तो आयो, त्यो केटा सरासर मेरो नजिक आएर मलाई प्रपोज गर्‍यो । म बोल्न सकिनँ । खुशीले मेरा आँखाहरु भिजेका थिए । एक बर्षसम्म हामीले डेटिङ गर्‍यौं र अन्तत बिहे । अहिले त बिहे गरेको पनि निकै बर्ष भइसक्यो ।’

‘तिम्रो त ?’, मैले नमीतिर हेरेर भनें ।

‘मैले एउटा केटा देखें, उसले मलाई मन परायो । मैले पनि उसलाई मन पराएँ । केही समयपछि नै हामीले बिहे गर्‍यौं । मेरो लभस्टोरीमा कुुनै स्टोरी छैन’, नमीले भनी ।

‘किन छैन ? तिमीले जे भन्यौ, त्यो निकै छोटो तर निकै मीठो स्टारी हो’, मैले त्यसो भन्दा अघिसम्म अलि ठुस्स परेको उसको अनुहार चमक्क चम्कियो ।

रात छिप्पिदै थियो ।

‘चीसो लाग्यो’, नमीले भनी ।

‘लामखुट्टे पनि आउन थाल्यो’, भावले थपी ।

तर, असोजको अन्तिमतिरको त्यो रात त्यहाँ खासै लामखुट्टे थिएनन् । फेरि पनि नमीले चीसोको कुरा गरी । फेरि पनि भावले लामखुट्टेको कुरा गरी । तर, उनीहरु अरु सम्वाद गर्न खोज्दै थिए । उनीहरु अरु थुप्रै बेर अरु थुप्रै कुरा गर्न खोज्दै थिए ।

मैले बीचैमा भनें, ‘चीसो र लामखुट्टेबाट बच्ने हो भने तिमीहरु आफ्नो रुम जाउ । म यतै एकछिन बसेर मेरो रुम जाउँला ।’

मैले त्यसो भनेपछि निकै असजिलो माने झैं गरी उनीहरु आफ्नो रुमतिर लागे । मैले त्यहीँ बसेर एउटा चुरोट सल्काएँ । एक छिनमा म आफ्नो रुम गएँ । सुरुमा निद्रा लागेन । भोलिपल्ट ब्युँझदा एउटा कुरा मनमा आयो, ‘राती उनीहरुले चीसो लाग्यो र लामखुट्टे आयो भनेर भनिरहनु र छुटि्टन पनि नमान्नुको अर्थ सँगै एउटै रुममा बसेर लामो कुरा गरौं भन्ने त थिएन ?’

मनले ठोकुवा गर्‍यो, ‘चीसो र लामखुट्टेको कुरा दाहोराइरहनु र छुटि्टन पनि नमान्नुको अर्थ संगै एउटै रुममा बसेर लामो कुरा गरौं भन्ने नै हो ।’

त्यो अघिल्लो रातको कुरा थियो । भोलिपल्ट बिहान अघिल्लो रातको कुरा सम्झेर के अर्थ । बिहान टेबलमा भेट भएका हामीले सँगै भएर पनि चुपचाप ब्रेकफास्ट खायौं । कार भक्ततपुरतिर अगाडि बढ्यो । उनीहरु खासै केही बोलेनन् । ती दिदीबहिनी अघिल्लो दिनका थिएनन् । हिजोको चञ्चलता थिएन । हिजोको जस्तो प्रश्नहरु थिएनन् । हिजोका जस्तो स्पर्शहरु थिएनन् ।

‘बिहान उठ्दा मलाई एउटा कुरामा थकथक लाग्यो । त्यो के भने हिजो राती मैले म तिमीहरुको रुममा आउँछु भन्नु पर्ने रहेछ । त्यो मेरो दिमागमै आएन । सायद तिमीहरुले त्यस्तै अपेक्षा गरेका थियौ’, मैले उनीहरुलाई भनें ।

‘तिमी साँच्चै केटीमान्छेलाई बुझ्न र त्यही अनुसारको व्यवहार गर्न सक्छौ भनेर मैले तिमीलाई हिजै भनेको थिएँ तर तिमी …’, नमीले त्यति भनी तर वाक्यलाई बीचैमा टुङ्याइदिई ।

नमीको व्यंग्यले मलाई झनै थकथक लाग्यो ।

२०७४ मंसिर ९ गते १७:४८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this