Comments Add Comment

अझै साँघुरो बन्दै खुलामञ्चः वीर अस्पतालको स्टोर पनि सारिँदै

बसपार्क र पार्किङका कारण साँघुरिएको स्थल थप संकुचित

११ मंसिर, काठमाडौं । एकपछि अर्को गर्दै अतिक्रमणको चपेटामा परेको खुलामञ्च अब वीर अस्पतालका सामग्री राख्ने भण्डार स्थल पनि बन्ने भएको छ ।

जापानी सहयोग नियोग (जाइका) को सहयोगमा अस्पतालको एउटा भवन पुनर्निर्माण गर्न लागिएका कारण उक्त भवनमा रहेका सामग्री खुलामञ्चमा सार्न लागिएको हो ।

काठमाडौं महानगरका प्रहरी प्रमुख विष्णु जोशीका अनुसार अस्थायी टहरा बनाएर अस्पतालका सामान राख्न लागिएको हो । ‘महानगरपालिकासँग अनुमति लिएरै अस्पतालले स्टोर बनाउन लागेको हो,’ जोशीले भने ।

अतिक्रमणको चपेटामा

उपत्यकामा खुलास्थानको अभाव कति जटिल बनेको छ भन्ने प्रमाण बनेको छ, खुलामञ्च । कुनै विशेष प्रयोजनमा खुला स्थान नपाएपछि सरकारी तवरबाटै यसको अतिक्रमण तीव्र बनेको छ ।

यसअघि अत्याधुनिक बसपार्क बनाउने बताउँदै उपत्यका र आसपासका जिल्लामा चल्ने बसहरुलाई डेढ वर्षदेखि खुलामञ्चमा पार्किङ गरिँदै आएको छ ।

बसपार्कका कारण साँघुरिएको खुलामञ्च अब नाम मात्रैको ‘खुला’ हुने अवस्थामा पुगेको छ ।

डेढ वर्ष अघिसम्म खुलामञ्चमा सार्वजनिक कार्यक्रम मात्र हुने गर्थे । केही व्यापारीले त्यतिबेला पनि फुटपाथ पसलहरु राख्ने गरेका थिए, त्यहाँ । महानगरले फुटपाथ बजार हटाएपछि खुलामञ्च व्यवस्थित हुने अनुमान थियो । तर, दिनानुदिन झन् ‘बेहाल’ बन्दैछ ।

अहिले एक तिहाइभन्दा बढी भागलाई जस्तापाताले बेरेर बसपार्क सञ्चालन गरिएको छ । पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणको योजना अगाडि नबढ्दा खुलामञ्च अतिक्रमण गर्नुको औचित्य पुष्टी गर्न सकेको छैन, महानगरले ।

उल्टै बाँकी भाग पनि वीर अस्पतालको भण्डारण स्थल बनाइँदैछ । खाली रहेको स्थानलाई जस्तापातले बेर्न शुरु गरिएको छ ।

तत्कालीन ट्राफिक प्रहरी प्रमुख मिङमार लामाको पहलमा पार्किङ स्थल तोकिएपछि उक्त क्षेत्र आठ महिनायता थप अस्तव्यस्त छ ।

बाँकी सानो खुला क्षेत्र पनि ढल फुटेर जलमग्न छ । वरपरका झाडी फैलिएका क्षेत्रमा पनि बटुवाहरु खुला शौच गरिरहेको देख्न सकिन्छ ।

खुलामञ्चलाई व्यवस्थित गर्ने योजना नबनेको पनि होइन । महानगरपालिकाले आधुनिक र सुविधासम्पन्न भूमिगत पार्किङ निर्माण गर्ने योजना ल्याएको थियो ।

त्यसका लागि सम्भाव्यता अध्ययन पनि भइसकेको छ । सार्वजनिक-निजी साझेदारीमा त्यस्तो पार्किङ स्थल बनाउन महानगरका तत्कालीन प्रमुख रुद्रसिंह तामाङले स्थानीय विकास मन्त्रालयमा प्रस्ताव गरेका थिए ।

तर, भूकम्पीयलगायत जोखिमलाई कारण देखाउँदै जनप्रतिनिधिले उक्त योजना अगाडि बढाएका छैनन् । १२ वैशाख ०७२ को विनासकारी भूकम्पका बेला हजारौंले खुलामञ्चलाई आश्रयस्थल बनाएका थिए ।

भूमिगत पार्किङ निर्माण नगरिए पनि खुला क्षेत्रलाई संरक्षणसहित उचित व्यवस्थापन र सरसफाइ गर्नुपर्ने स्थानीय बासिन्दाको सुझाव छ ।

महानगरपालिकाले भने खुलामञ्चको व्यवस्थापनमा खासै चासो दिएको छैन । दिनानुदिन साँघुरिँदै गएपछि सानातिना सभा पनि सडकमै गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

तस्वीरहरुः श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment