Comments Add Comment

ऋचा भन्छिन्-‘मैले खेलेका कतिपय चलचित्र दर्शकले नहेरुन् भन्ने लाग्थ्यो’


कुनै पनि कलाकारले आफूले खेलेको चलचित्र हलमा लागेर चाडै उत्रियोस् भन्ने चाहँदैन । अझ, त्यो चलचित्र असफल होस् र दर्शकले नै नहेरिदिए हुन्थ्यो भन्ने सोच्दैनँ ।

तर, कतिपय कलाकारलाई भने त्यस्तो सोच पनि आउने रहेछ । तपाइले यति धेरै चलचित्र किन गर्नुभएको भन्ने प्रश्न गर्दा केही स्टार भनिएका कलाकारको मुखबाट एउटै जवाफ आउँछ-‘पैसाका लागि ।’

पैसाका लागि चलचित्र खेल्ने धेरै कलाकार त्यो चलचित्रप्रति त्यती ध्यान पनि दिदैनन् । कारण, उनीहरुलाई त्यो चलचित्र चल्दैन भन्ने कथा पढ्दा नै थाहा हुन्छ । तर, एउटा चलचित्रमा लाखौ लगानी गर्ने निर्माताले कलाकारले साथ नदिदा घर खेत नै गुमाउने परेको उदाहरण पनि चलचित्र क्षेत्रमा नदेखिएको होइन ।

नायिका ऋचा शर्माले पनि केही चलचित्र सम्बन्धका लागि र केहि चलचित्र पैसाका लागि गरेको बताएकी छिन् । चलचित्र ‘छक्का पन्जा’ हेरेर आफू ‘मुर्ख’ भएको बताएकी ऋचाले सोही कार्यक्रममा अर्को प्रसंगमा यस्तो बताएकी हुन् । उनले एउटा कलाकारको नाताले आफूले सुरुदेखि नै राम्रो चलचित्र छान्ने गरेको बताएकी छिन् । तर, केही चलचित्र भने आफूले सम्बन्धका लागि गरेको उनले बताइन् । ऋचाले भनिन्-‘कतिपय चलचित्र मैले साथीभाइका लागि, आफन्त र इष्टमित्रका लागि गरेकी छु । जुन चलचित्रमा काम गर्न म चाहन्नथेँ, तर मैले गरेँ ।’

ऋचाले कतिपय चलचित्रमा आफूले पैसाका लागि पनि काम गरेको बताएकी छिन् । उनले अगाडि भनेकी छिन्-‘म ती चलचित्रको नाम त लिन चाहन्नँ । तर, कतिपय चलचित्र यस्ता पनि छन् जुन दर्शकले नहेरे हुन्थ्यो जस्तो मलाई लाग्थ्यो । ती चलचित्र हलमा लागेर ‘फ्लप’ भएर उत्रिहाले हुन्थ्यो भन्ने पनि मलाई लाग्थ्यो ।’

‘यो सुन्दा नकारात्मक लाग्ला, तर कतिपय भूमिका मैले गरेकी छु जुन गर्न चाहन्नथेँ’, ऋचाले भनेकी छिन् । ऋचाका अनुसार उनलाई चलचित्र ‘टलक जंग भर्सेस टुल्के’मा गरेको ‘फूली’ क्यारेक्टरले लामो समयसम्म प्रभाव पारेको थियो । यस्तै, चलचित्र ‘आधा लभ’मा उनले गरेको ‘राधा’को भूमिकाले पनि उनलाई लामो समयसम्म प्रभाव पारेको उनको भनाई छ । उनको भनाइमा चलचित्रको प्रभाव समाजमा धेरै समय पर्छ । त्यो कि सकारात्मक वा नकारात्मक हुन्छ ।

अहिले कलाकारहरु निर्माता बन्ने क्रम बढेको छ । केही महिना अगाडि नायक रमेश उप्रेतीले आफूले पहिला निर्मातालाई दुःख दिएको भन्दै माफी नै मागेका थिए । एउटा चलचित्रमा काम गर्न राजी भएर हस्ताक्षर गरिसकेपछि कलाकारले त्यसलाई धेरै दर्शकसम्म पुर्‍याउने जिम्मा लिन पनि आवश्यक छ । चलचित्र खेल्न सुरुमै मन लागेन भने कथा पढेरै ‘नाई’ भन्ने अधिकार कलाकारमा छ । तर, संझौता गरिसकेपछि चलचित्र असफल भैदिए हुन्थ्यो भन्ने कामना गर्नु कलाकारको धर्म पक्कै होइन । निर्माता बनिसकेका कलाकारले यो कुरा पक्कै वुझ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment