Comments Add Comment

प्रेस रिभ्यूः मध्यमाघमा नयाँ सरकार, गैरसांसद् पनि मन्त्री बन्न पाउने

१३ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई समाचार बनाएका छन् । दलहरुको प्रचार, बम आतंक, नयाँ सरकार गठन प्रक्रियालगायत विषय नै अधिकांश पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

नयाँ सरकार कहिले ?

नयाँ पत्रिका दैनिकले नयाँ सरकार कहिले शीर्षकमा मुख्य समाचार छापेको छ । संविधानमा संविधानसभाको प्रत्यक्ष र समानुपातिकको अन्तिम मत परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नु पर्ने उल्लेख छ । प्रदेश सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै छ ।

नयाँ पत्रिका दैनिक लेख्छ–आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन कम्तीमा तीन साता लाग्ने छ । १० पुससम्ममा अन्तिम नतिजा आएमा मध्य माघमा देशले नयाँ सरकार पाउने छ ।’

गैरसांसद् पनि ६ महिना मन्त्री बन्न पाउने

संविधानले ६ महिनासम्मका लागि गैरसांसद् पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । तर, मन्त्रीमा सपथ लिएको व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्नुपर्नेछ । बन्न नसके यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था संविधानमा छ । तर प्रतिनिधिसभामा उम्मेदवार बनेर पराजित भएका व्यक्ति भने गैरसांसदका रुपमा मन्त्री बन्न नपाउने नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

दाेस्राे चरणमा झन् बढी सुरक्षा चुनाैती

 

दाङकाे तुलसीपुरमा भएकाे बम विष्फोटमा घाइते एक व्यक्ति ।

नयाँ पत्रिकामै दोस्रो चरणको चुनावमा सुरक्षा चुनौती बढेको समाचार पनि उत्तिकै प्राथमिकताका साथ छापेको छ । दाङमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको सभामा भएको विस्फोट, एमाले अध्यक्ष केपी शर्मा ओली बोल्नुअघि ललितपुरको लगनखेलमा भएको विस्फोट, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापा स्थित निवास र एमाले नेता लालबाबु पण्डितलाई लक्षित गरी गराइएको बम विस्फोटलाई समेट्दै दोस्रो चरणमा सुरक्षा चुनौती थप बढेको औंल्याएको छ ।

पहिलो चरणको भन्दा धेरै निर्वाचन क्षेत्र भएको, ठूला नेताबीचको टक्कर, चुनाव विरोधी समूहको सक्रियता र भारतसँगको खुला सिमानाका कारण दोस्रो चरणको चुनवामा सुरक्षा चुनौती थपिएको नयाँ पत्रिकाको खबरमा उल्लेख छ । यता गृह मन्त्रालयले भने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीति फरक हुने जनाएको छ ।

खोसियो सगरमाथा आरोहीको विश्व रेकर्ड

सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पागेलु शेर्पाको कायम गरेको राजधानी दैनिकमा समाचार छ ।

न्यायाधीशद्वय चोलेन्द्रशमशेर जवरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार पेम्बादोर्जी शेर्पाको दाबी झुठो ठहर गर्दै लाक्पा गेलुको विश्व रेकर्डलाई कायम गरेको हो ।

९ जेठ ०६० मा पेम्पादोर्जीले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । तर, तीन दिन नबित्दै लाक्पा गेलुले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाए । अर्को वर्ष ८ जेठ ०६१ मा पेम्बादोर्जीले ८ घण्टा १० मिनेटमा आरोहण गरेर आफ्नै कीर्तिमान बनाएको दाबी पेश गरेका थिए । जसलाई सर्वोच्चले झुठो ठहर गर्दै लाक्पागेलुलाई विश्व कीर्तिमानी भएको ठहर गरेको राजधानीको समाचारमा उल्लेख छ ।

कलेजको १० करोड रकम व्यक्तिको खातामा


कान्तिपुर दैनिकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट १० करोडभन्दा बढी रकम व्यक्तिको खातामा हस्तान्तरण भएको समाचार छापेको छ । सादा कागजमा विवरण लेखेर कतिपय खर्चको औचित्य पुष्टि गर्न खोजिएको समाचारमा उल्लेख छ । जनसम्पर्क र विद्यार्थी संगठनका नाममा खर्च देखाइएको छ । तर भर्पाइ र रसिद भने लेखाको कागजातमा देखिँदैन ।

कलेज सञ्चालक समितिका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेका नाममा पटक–पटक गरी ८ करोड २१ लाख भुक्तानी भएको छ । अर्का सञ्चालक लवराज भट्टराई, उपेन्द्र गौतम र सूर्यबहादुर केसीका नाममा पनि दुई–दुई करोडभन्दा बढी रकम भुक्तानी भएको छ, जुन नियमविपरीत रहेको कान्तिपुरको समाचारमा जनाइएको छ ।

स्थानीय तहमा बजेट खर्च गर्ने संयन्त्र अभाव

कारोबार दैनिकले स्थानीय तहमा बजेट गए पनि संयन्त्रको अभावमा खर्च नभएको समाचार लेखेको छ । समाचार अनुसार, चालु आर्थिक वर्षको पहिलो चौमाससम्म स्थानीय तहको पुँजीगत खर्च शून्यप्रायः छ । केन्द्र सरकारले स्थानीय सरकारलाई दोस्रो चौमासिकको बजेट हस्तान्तरण गरिसके पनि पुँजीगत खर्च नभएको र आफ्नो बजेटबाट ठूला पूर्वाधारको काम गर्न नसकेको समाचारमा उल्लेख छ ।

कर्मचारी अभाव, संस्थागत क्षमता वृद्धि हुन नसक्नुजस्ता कारणले पुँजीगत खर्च हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment