Comments Add Comment

ललितपुरमा १८ वर्षपछि कमब्याक गर्ने एमालेको दाउ, शाख जोगाउने कांग्रेसको प्रयास

१३ मंसिर, काठमाडौं । माओवादीसँग चुनावी तालमेल गर्दा एमालेले धेरै ठाउँमा आफूले जित्ने आँकलन गरिएका सिटहरु पनि छाड्नुपर्‍यो । तर, ललितपुरमा भने माओवादीका साथमा एमालेले १८ वर्षपछि कमब्याक गर्ने रणनीति बनाएको छ ।

एमालेले ०५६ सालपछि ललितपुरमा चुनाव जितेको छैन । पहिलो संविधानसभा चुनावमा ललितपुरका तीनैवटा सिट माओवादीले जित्यो । ६ वर्षपछि भएको चुनावमा माओवादी तेस्रो हुँदा ललितपुरमा एमाले होइन, कांग्रेसले ‘क्लिन स्वीप’ गर्‍यो ।

एमाले नेता रघुजी पन्त भन्छन्, ‘योपटक हामी एक्लै पनि जित्ने सक्थ्यौं । तर, माओवादीसँग तालमेल भएपछि ललितपुरका तीनवटै सीटमा वाम गठबन्धनले जित्ने पक्का छ ।’

एमालेको मात्र होइन, माओवादीको पनि दाबी त्यही छ । उनीहरुको दाबीको मुख्य आधार संगठन हो । त्यसलाई पुष्टि गर्न स्थानीय तहको मत अघि सार्छन् ।

वाम गठबन्धनले प्रतिनिधिसभाको तीनवटै र प्रदेशसभातर्फ ४ सिट जित्ने र बाँकी २ सिटमा प्रतिस्पर्धा हुने बताएको छ । एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार भन्छन्, ‘सबै क्षेत्रमा हाम्रो राम्रो छ । प्रतिनिधिसभाको सबै सिट जित्छौं ।’

कांग्रेसको दाबी पनि सबै सिट जित्नेछ । कांग्रेस ललितपुरका सभापति मदनलाल अमात्य भन्छन्, ‘हाम्रो स्ट्रेन्थ भनेको संगठन हो र, अघिल्लो चुनावमा जितेपछि हामीले धेरै काम गरेका छौं । जोजो मिलेपनि हामी नै जित्छौं ।’

अर्थराज्यमन्त्री र पूर्वडीआईजीको प्रतिस्पर्धा

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उदयसमशेर राणा र वाम गठबन्धनका नवराज सिलवालसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा अर्थ राज्यमन्त्री राणा र पूर्व डीआईजी सिलवालबीच हुने देखिन्छ ।

यो क्षेत्रमा ६५ हजार ९१८ मतदाता छन् ।

महाकांल, बाग्मती र कोन्ज्योसोम गाउँपालिकाका साथै गोदावरी नगरको १३ वटा वडा पर्ने यो क्षेत्रमा कांग्रेस र एमालेले स्थानीय तहमा झण्डै समान (१५ हजार) भोट पाएका छन् । माओवादी केन्द्रको भोट साढे ९ हजार छ ।

नेपाल प्रहरीको आईजीपी काण्डका कारण चर्चामा आएका तथा जागिर छाडेर राजनीतिमा आएका सिलवालका मिटर ब्याजको स्क्याण्डल पनि आएका छन् । उनी आईजीपीको स्वभाविक दाबेदार थिए, नबनाउनु गलत हो भन्नेहरुको मत सिलवालले पाउन सक्छन् । किनकी उनको सट्टा जयबहादुर चन्दलाई आईजीपी बनाउन लाग्ने कांग्रेस सभापति शेरबहादुर देउवा थिए ।

तर, मिटर ब्याजको स्क्याण्डल कारण सिलवालले वामपन्थीहरुकै मत पनि गुमाउन सक्छन् ।
प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका ऋषिराम घिमिरे, माओवादीका लालकुमारी पुनसहित ८ उम्मेदवार छन् भने ‘ख’मा कांग्रेसका मीनकृष्ण महर्जन र एमालेका चेतनाथ सञ्जेलसहित १३ जना चुनावी मैदानमा छन् । कांग्रेसका प्रदेशसभा उम्मेदवार मीनकृष्ण ‘डन’का रुपमा चिनिएका विवादास्पद पात्रसमेत हुन् ।

महर्जन भर्सेस महर्जन

प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा ७५ हजार ९८१ मतदाता छन् भने एमालेका कृष्णलाल महर्जन र कांग्रेसका चन्द्र महर्जनसहित १३ उम्मेदवार चुनावमा होमिएका छन् ।

मुख्य प्रतिस्पर्धा भने कांग्रेस र वाम गठबन्धनबीच नै हुने देखिन्छ । रोचक के छ भने कांग्रेस र एमाले दुबै दलले प्रतिनिधिसभातर्फ १ र ३ मा जित्ने दाबी गर्दा २ मा भने अन्यत्रको तुलनामा केही कमजोर भएको स्वीकार गर्छन् ।

यो क्षेत्रमा ललितपुर महानगरको ९ वटा वडा र महालक्ष्मी नगरपालिका पर्छ । स्थानीय तहको मत पनि कांग्रेस र एमालेको झण्डै बराबर छ भने माओवादी त्यसको आधा । तर, कांग्रेसलाई समर्थन गरेको राप्रपाको भोट निकै कम छ ।

दुबै पार्टीका उम्मेदवार महर्जन समुदायका भएकाले जातीय भोट पनि विभाजित हुने देखिन्छ ।

प्रदेशसभातर्फ ‘क’मा कांग्रेसका पवनविक्रम थापा, एमालेका माधवप्रसाद पौडेलसहित ९ र ‘ख’मा कांग्रेसका प्रेमकृष्ण महर्जन र एमालेका ज्ञानेन्द्र शाक्यसहित ११ उम्मेदवार छन् । शाक्य एमाले अध्यक्ष केपी शर्मा ओलीका साला हुन् ।

 ‘हेभिबेट’ भिडन्त

ललितपुर क्षेेत्र नम्बर ३ मा भने ‘हेभिबेट’ भिडन्त छ । वाम गठबन्धनबाट माओवादी प्रवक्ता पम्फा भुसाल र कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्य उम्मेदवार छन् ।

८६ हजार ४३९ मतदानता रहेको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कुल उम्मेदवार संख्या भने १३ छ । भुसाल ०६४ मा यो क्षेत्रबाट निर्वाचित भएका थिइन् भने अमान्य निवर्तमान सांसद हुन् । दुबै आफूले जित्नेमा ढुक्क देखिएका छन् ।

यो निर्वाचन क्षेत्रमा ललितपुर महानगरको २० वटा वडा पर्छ भने गोदावरी नगरपालिकाको २ वटा । ललितपुर महानगरको मेयर-उपमेयर कांग्रेसले जितेको छ तर, एमालेले कडा प्रतिस्पर्धा गरेको थियो भने माओवादीको मत पनि छ ।

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेसको १६ हजार ८६५ छ भने एमालेको २० हजार २८५ र माओवादीको ११ हजार ८३९ छ । कांग्रेसलाई समर्थन गरेको राप्रपा (एकीकृत हुँदा)को मत २ हजार ६४६ छ ।

मेयरले पाएको मतलाई हेर्दा पनि कांग्रेस भन्दा एमाले-माओवादीको मत १० हजार बढी छ । नेता रघुजी पन्त भन्छन्, ‘स्थानीय तहमा एमालेले पाएको सबै मत माओवादीलाई जान सक्छ तर, हामी प्रतिस्पर्धामा जित्छौं ।’

क्षेत्र नम्बर ३ को प्रदेशसभातर्फ कमा ११ उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेसका नवराज महत र माओवादीका राजकाजी महर्जनबीच हुने देखिन्छ ।

राजकाजी पहिलो संविधानसभामा ललितपुर २ बाट निर्वाचित भएका थिए । बैद्य समूहमा लागेपछि दोस्रो संविधानसभा बहिस्कार गरेका ललितपुरमा स्थापित नेता हुन् ।

प्रदेशसभातर्फ ‘ख’ मा कांग्रेसका शिवराम बानियाँ र एमालेका जीवन खड्कासहित १२ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment