Comments Add Comment

२६ वर्षदेखि बाटो र बिजुलीकै चुनावी आश्वासन, जुन अझै अधुरो छ

१३ मंसिर, नेपालगञ्ज । जबजब चुनाव आउँछ, अन्यत्र जस्तै बाँकेको कर्णाली भनिने बघौडामा उम्मेदवार पुग्छन्, बाटो र विजुली ल्याउँछु भन्छन् । त्यही आशमा कहिले कांग्रेस त कहिले राप्रपा र एमालेलाई जिताएर पठाए तर, लोकतन्त्र आएको छ २६ वर्ष भयो, नत बघौडामा पूर्णरुपले बाटो नै पुग्यो न विजुली ।

नेपालगञ्जबाट राप्ती नदी तरेर जानुपर्ने बघौडा क्षेत्र बाँके निर्वाचन क्षेत्र नं. १ मा पर्छ । उत्तरमा राप्ती सोनारी गाउपालिका र दक्षिणमा भारतको श्राबस्तीसँग जोडिएको बघौडा क्षेत्र भुगोलले समथर भए पनि अत्यन्तै विकट रहेको छ ।

त्यहाँ बिजुलीको पोल गाडिएको २ दशक बितिसके पनि अझैसम्म विद्युत् सेवा पुग्न सकेको छैन ।

०४८ सालदेखि उम्मेदवारहरुले सडक र बिजुलीलाई चुनावी एजेन्डा बनाएर भोट माग्दै आएका छन् । बगौडावासीले ०४८ सालमा कांग्रेसका सैयद मेराज शाहलाई चुनेर पठाए । २०५१ राप्रपाका प्रेमबहादुर भण्डारी सांसद बने । उनले नेपालगञ्जदेखि बघौडासम्म विद्युतीकरणको लागि विद्युतका पोल गाडे तर, विजुली पुगेन । २०५६ सालमा कांग्रेसका ज्ञानु केसीले चुनाव जिते ।

२०४८ सालयता कांग्रेसले दुई तथा राप्रपा, फोरम र एमालेले एक-एक पटक चुनाव जित्यो । यो क्षेत्रबाट चुनाव जितेका राप्रपाका प्रेमबहादुर भण्डारी, फोरमका इस्तिहाक राई र एमालेका दिनेशचन्द्र यादव मन्त्री समेत भए । तर, सडक र बिजुलीको माग पुरा भएको छैन । एमाले नेता यादवका पालामा हुलाकी सडक निर्माण सुरु भयो । तर, यसले अझै पूर्णता पाएको छैन । विद्युत पुर्‍याउन सम्भव नभएपछि सोलार वितरण गरिए पनि दिर्घकालीन समाधान दिएन ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले विद्युतीकरण र सडकलाई मुख्य एजेण्डा बनाएका छन् ।

३४ हजार ९ सय ४२ जनसंख्या रहेको नरैनापुर गाउपालिकामा १५ हजार ४३ मतदाता छन् । विद्युतको कुरा चुनावको बेला उठ्ने र चुनाव सकिए लगत्तै सेलाउने क्रम वर्षौंदेखि दोहोरिँदै आएको स्थानीय ओमप्रकाश मौर्य बताउँछन् ।

बघौडा क्षेत्रमा सरकारले स्वास्थ्य, शिक्षा, सडक र विद्युत् जस्तो आधारभूत सेवा समेत अझैसम्म पुर्‍याउन सकेको छैन । नागरिकता बनाउँदा र भोट हाल्दा बाहेक नेपाली नागरिक भएको महसुस गर्न नपाएको गुनासो बघौडाबासीको छ । ‘जुन जोगी आए पनि कानै चिरेको भने जस्तै अवस्था छ’ उनले भने ।

सामुदायिक विद्युतीकरणमार्फत आˆनो ठाउँमा विद्युत् सेवा पुर्‍याउन त्यस क्षेत्रका साविकका गाविस फत्तेपुर, कालफाँटा, लक्ष्मणपुर, मटैया, कटकुइया, नरैनापुर र लक्ष्मणपुरले ३०/३० लाख तथा तत्कालीन जिविस बाँकेबाट २० लाख गरी करिब ३ करोड उठाएका थिए । तर, सामुदायिक विद्युतीकरण समितिले बैजापुरको धामपुरमा सव-स्टेशन निर्माण बाहेक कुनै काम गरेको छैन ।

कर्णालीको कालीकोटबाट सरुवा भएर नरैनापुरमा आएका एकजना नायब सुब्बाले भने, ‘तराईको सुगम ठाउँ भनेर यहाँ आएँ, यो त कालीकोटभन्दा पनि दुर्गम रहेछ ।’

यहाँ सडकको पनि उस्तै बिजोग छ । सदरमुकाम नेपालगञ्जसँग जोड्ने सडक पक्की नहुँदा वर्षाको बेला स्थानीयले हिँडडुलमा निकै समस्या खेप्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment