Comments Add Comment

सिनेमा बहसः कस्तो हुनुपर्छ सिनेमा ?

किन भुत्ते बनिरहेकन छन् फिल्म ? 

सिनेमा के हो, कस्तो हुनुपर्छ ? यी आधारभूत प्रश्नमै अल्झिएका छौं, हामी । अपवादलाई छाडेर हेर्ने हो भने, नेपाली सिनेमा अझैपनि गतिशिल छैन । प्रयोगको चरणमा छ । यसो गर्दा हुन्छ कि, उसो गर्दा हुन्छ कि भन्ने दोधारे मानसिकताबाट गुजि्ररहेका छन्, फिल्मकर्मीहरु ।

फिल्म कसका लागि बनाउने ? भन्ने कुरामा पनि हामी विभाजित छौं । समीक्षकका लागि ? अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि ? दर्शकका लागि ?

दर्शकका लागि भन्ने उत्तरमा पनि मतऐक्यता छैन । अर्थात फिल्मकर्मीका निम्ति दर्शक विभाजित छन्, मल्टिप्लेक्स र सिंगल थिएटरका । एकखाले सिनेकर्मी छन्, जो ‘फर्मुला’ फिल्म बनाइरहेका छन् । अर्काथरी ‘अग्र्यानिक’ (उनीहरुकै भनाइमा) फिल्म बनाइरहेका छन् ।

दुःखलाग्दो चाहीँ, दुबैथरी फिल्मको धार भुत्ते हुँदै गएको छ । कमेडी जनराको फिल्ममा दर्शकले मनोरञ्जन लिन्छन् भन्ने रेडिमेड सोंच अधिकांश फिल्मकर्मीमा हावी भएको छ । त्यसैले फिल्ममा जबरजस्ती हास्य दृश्य र द्विअर्थी संवाद लाद्ने प्रवृत्ति देखिएको छ ।

अर्कोतिर यस्ता सिनेमा पनि बनिरहेका छन्, जसलाई दर्शकले औधी रुचाएका छन् । कथा, संवाददेखि दृश्यांकनसम्मको सिलसिलाबद्ध लयले बाँधिएका सिनेमाहरु पनि बनिरहेका छन् ।

यही पृष्टभूमिमा  हामीले केही फिल्ममेकरसँग सोधेका थियौं, फिल्म के हो ? कस्तो हुनुपर्छ ?

यसमा प्रदिप भट्टराई (जात्रा), सुरज भुसााल (होस्टल रिर्टन्स), अशिम शाह (दुई रुपैयाँ), दिवाकर भट्टराई (ऐश्वर्य) र निकेश खड्का (फाटेको जुत्ता) सहभागी छन् ।

फिल्म कस्तो हुन्छ वा हुनुपर्छ ?

प्रदिप भट्टराई– फिल्म भनेको आर्ट हो । यो यस्तै हुनुपर्छ भन्ने छैन । निर्देशकले आफुलाई मनपरेको कथाबस्तुमाथि रहेर आवाज र दृश्यमार्फत दर्शकलाई व्यक्त गर्ने चिज हो ।

सुरज भुसाल– फिल्म, दर्शकले मनोरञ्जन लिनका लागि हुनुपर्छ । मनोरञ्जन कुन अर्थमा हुन्छ त्यो अडियन्स को टार्गेट ग्रुपमा निर्भर हुन्छ । वा फिल्ममेकरले कुन प्रपोजको लागि बनाएको हुन्छ, त्यसमा पनि भर पर्छ ।

अशिम शाह– मेरो विचारमा फिल्म भनेको हेर्दा आनन्द महसुष हुने हुन सक्नुपर्छ जस्तो लाग्छ, त्यो आनन्द हाँसेर होस्, रमाएर होस्, रुवाएर नै किन नहोस् ।

दिवाकर भट्टराई– फिल्म चाहे जुन कन्टेन्टमा बनोस्, तर मनोरञ्जनात्मक, कलात्मक र आफ्नो देशको कला संस्कृति मिसिएको हुनुपर्छ ।

निकेश खड्का – फिल्म जस्तोसुकै पनि हुन सक्छ, कमर्शियल वा आर्टस् सामाजिक/लभस्टोरी/थि्रलर/कमेडी वा जे सुकै । तर, प्रस्तुती चाहि सम्बन्धित बर्गले रुचाउने हुनुपर्छ ।

२. फिल्मले कसरी दर्शकलाई तान्छ ?  दर्शक आकर्षित गर्न के कस्ता तत्व हुनुपर्छ ?

प्रदिप भट्टराई- दर्शक तान्ने ध्याउन्नमा हल्का फिल्म बनाउने भन्दा गहकिला फिल्म हेर्नो बानी लगाउनु राम्रो  । तै पनि बढी कन्पिmलक्ट भएका सिनेमामा दर्शक बढी इंगेज हुन्छ जस्तो लाग्छ मलाई ।

सुरज भुसाल- दर्शकको स्वाद अनुसार फिल्मको कन्टेन्ट भयो भने फिल्मले दर्शक तान्छ । कन्टेन्ट आसपासको अवस्थिती अनुसार हुन्छ । जस्तो कि, अहिले हाम्रो देशको अवस्था र सबैको फस्र्टेशनले कमेडी फिल्म मात्रै हेर्न दर्शक मन पराउँछन् । दर्शक एक छिन भएपनि खुसी हुन्छन् । अर्को, अहिलेको फिल्ममा एउटा रमाइलो गीत भयो भने फिल्ममा दर्शक तानिन्छन् ।

असिम शाह-  फिल्म राम्रो बनायो भने दर्शक आफै तानिन्छ । इमान्दार रहेर मिहेनतसाथ फिल्म बनाइयो भने दर्शक स्वत आकषिर्त हुन्छन् ।

दिवाकर भट्टराई- फिल्मको कन्टेन्ट, लुक्स नै हो, दर्शकलाई तान्ने । दर्शकले मनोरञ्जन खोज्छन् । मनोरञ्जन दिन सके दर्शक आउँछन् ।

निकेश खड्का- जुन जनराको फिल्म बनाइन्छ, त्यही त्यही जनराकै रहनसहन, त्यही अनुरुपको लोकेशन, संवाद, गेटअपको ख्याल राख्नुपर्छ ।

३. नेपाली फिल्ममेकरको सबैभन्दा ठूलो कमजोरी र भ्रम के हो ?

प्रदिप भट्टराई- हाम्रो भ्रम भनेको हामी दर्शकलाई यस्तो मनपर्छ, उस्तो मनपर्छ भनेर फिल्म बनाइरहेका हुन्छौ । हामीले के बुझ्नुपर्छ भने माग अनुरुप सामान बनाइन्छ, फिल्म होइन ।

सुरज भुसाल- दर्शकको रुची वा स्वाद नबुझ्नु नै कमजोरी हो ।

असिम शाह- कथा राम्रो हुँदाहुँदै पनि पटकथामा मिहेन तगर्न नसक्नु अथवा राम्रो पटकथालाई पर्दामा उतार्न नसक्नु नै अहिलेको हाम्रो कमजोरी हो ।

दिवाकर भट्टराई- नेपाली फिल्ममेकर अहिले पनि व्यवसायिक भइसकेका छैनन् । फिल्म मेकिङलाई धेरै कमले मात्र व्यवसायिक कोणबाट लिने गरेका छन् । ९५ प्रतिशत फिल्ममेकरमा फिल्म मेकिङको ज्ञान नै छैन । जुन क्षेत्रमा अपूर्ण ज्ञान हुन्छ, त्यहाँ भ्रम नै भ्रम हुन्छ ।

निकेश खड्का- नयाँ विषय र प्रस्तुतीमा जोखिम लिन नचाहने हो कि ?

४. फिल्म मेकिङका क्रममा सम्बन्धित बिषयको अध्ययन गर्ने, अनुसन्धान गर्ने प्रवृत्ति हामीकहाँ कति छ ?

प्रदिप भट्टराई– एकदमै कम छ । तर, बिस्तारै बढ्दै चाहि गइरहेको छ है ।

सुरज भुसाल– फिल्ममा रिसर्च गर्ने चलन खासै छैन । नगर्नुको कारण चाहि, कसैलाई दुख गर्नु छैन । लाइट फिल्म बन्छ फर्मुलामा ।

असिम शाह- अहिले सबै नयाँ पढेलेखका फिल्ममेकरले इन्डष्ट्रिमा ज्वाइन गर्नुभाछ । त्यसैले सब्जेट र स्टोरीको रिसर्च पनि राम्रो गरेको देखिन्छ । कति सब्जेट यति जटिल हुन्छ त्यसलाई रिसर्च नगरी उठाउन सकिदैन ।

दिवाकर भट्टराई– विगतको तुलनामा अहिलेका फिल्ममेकरले अध्ययन, अनुसन्धान गरिरहेका छन् । यद्यपी पर्याप्त स्रोत साधन छैन । हाम्रो स्कुलिङ स्ट्रोङ नभएकाले कुनैपनि कुरामा म्यचुरिटी छैन, जुन हाम्रो फिल्ममा स्पष्ट देख्न सकिन्छ ।

निकेश खड्का– फिल्म मेकिङका क्रममा सम्बन्धित विषयमा अध्ययन गर्ने, वर्कशप गर्ने, लोकेसन हन्ट गर्ने जस्ता अभ्यास हामीकहाँ पनि हुन थालेका छ ।

५. अहिले हामीकहाँ बनिरहेको फिल्मको स्तर कस्तो छ ?

प्रदिप भट्टराई- हामी अहिले सिक्ने क्रममा छौ । एउटा पुस्ताले नयाँ पुस्तालाई चलचित्र हस्तान्तरण गरेको अवस्था हो यो । त्यसैले आज स्तर हेर्दा कमजोर लागेपनि भोलिका दिनमा यो थप परिपक्क हुँदै जानेछ ।

सुरज भुसाल– हाम्रो फिल्मको स्तर घट्दैछ ।

असिम शाह– अहिले हामी परिवर्तनको क्रममा छौं । दर्शकले नेपाली फिल्मबाट अपेक्षा राख्न थालेका छन् । दर्शक र बजार पनि बढेका छन् । साथै चलचित्रको स्तर पनि त्यही अनुरुपमा वृद्धि हुँदै गएको छ । यसलाई अझ क्रमबद्ध र परिस्कृत बनाउँदै लानुपर्छ ।

दिवाकर भट्टराई- अहिले हामीकहाँ जुन बजेट छ, त्यस हिसाबले ठिकै छ । तर, बजेटभन्दा महत्वपूर्ण भनेको क्रिएटिभ काम हो, त्यसमा चाहि हामी धेरै पछि छौं । खासमा भन्ने भने, हामी फिल्मको मूलधारमा छैनौ । सब-वेमा हिँडिरहेका छौं ।

निकेश खड्का– देश, काल परिस्थिती, आर्थिक अवस्था अनि विदेशी फिल्मको खुला प्रभावका बावजुत नेपाली फिल्मको स्तरलाई कम आँक्न सकिदैन, मिल्दैन पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment