Comments Add Comment

आजका पत्रिका: झापामा म्याच फिक्सिङदेखि जेलबाटै भोट प्रभावितसम्म

१४ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् । बुधबार मात्रै देशका विभिन्न स्थानमा विस्फोट भए । आज राजधानीबाट प्रकाशित भएका दैनिक पत्रिकाहरुले म्यादी प्रहरीको ज्यान गएको र उम्मेदवार गम्भीर घाइते भएको घटनालाई जोड्दै हिंसात्मक घटनामा वृद्धि भएको जनाएका छन् ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनालाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् । पत्रपत्रिकाहरुका अनुसार, ओभरटेक गर्न खोज्दा बस त्रिशूलीमा खसेको हो ।

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरण अन्तर्गत हुने निर्वाचनको विषयलाई पनि पत्रपत्रिकाहरुले छुटाएका छैनन् । विभिन्न निर्वाचन क्षेत्रका चुनावी प्रतिष्पर्धाका विश्लेषणले आज पनि पत्रपत्रिकाहरु भरिएका छन् । यसका अलावा निर्वाचनको मुखमा सरकारले राज्य कोषको दुरुपयोग गर्दै कार्यकर्तालाई रकम बाँडेको, स्थानीय तहमा पूर्वाधार निर्माण र कर्मचारीलाई अवकाशमा पठाउन सरकार आर्थिक दबाबमा परेको, व्यापार घाटा भयावह भएपछि सरकार श्वेतपत्र जारी गर्ने तयारीमा लागेको लगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

झापामा म्याच फिक्सिङ

कान्तिपुर दैनिकले झापाको चुनावमा ‘म्याच फिक्सिङ’को चर्चा चलिरहेको भनेर प्रमुख समाचार छापेको छ । झापा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको समर्थनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् । तर एमाले र माओवादीले भित्रभित्रै सिटौलालाई सघाउन सक्ने परिदृष्य देखिएको भन्दै कान्तिपुरले त्यसलाई ‘म्याच फिक्सिङ’ भनेको हो ।

समाचारमा लेखिएको छ, ‘वाम गठबन्धनविरुद्ध नरम बनेर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ ।’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसका कृष्णप्रसाद सिटौलाप्रति आक्रामक छैनन् । उसैगरी सिटौला र कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि एमालेप्रति आक्रामक छैनन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए । कम्युनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लादने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन् । सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भएका थिए ।

सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहँदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रामक देखिन्छन् ।

समाचारमा लेखिएको छ, ‘०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङ्देनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफू जसरीपनि चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’सँग जोडेर हेरिएको छ ।’

सिटौला र लिङदेन दुबैले म्याच फिक्सिङ भन्ने कुरा बेकार भएको बताउँछन् ।

बढ्यो चुनावी हिंसा

निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा हिंसात्मक घटनामा वृद्धि भएको छ । निर्वाचनविरोधीले गतिविधि बढाउँदा म्यादी प्रहरीको ज्यान गएको छ भने उम्मेदवार गम्भीर घाइते भएका छन् ।

नागरिक दैनिकका अनुसार, दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन् । चुस्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गरिएको उपत्यकाका ललितपुर र भक्तपुरमा विस्फोटका घटना बढेका छन् । नागरिक दैनिक आफ्नो खबरको अगाडि लेख्छ– विस्फोटका घटना उपत्यकामा नै बढे पनि गृहका जिम्मेवार अधिकारी मौन छन् ।

कात्तिक २४ बाट निर्वाचनविरोधी समूहले विभिन्न स्थानमा विस्फोट गराउँदै आए पनि मानवीय क्षति भएको थिएन । ४० विस्फोटक घटनामध्ये नुवाकोट र रौतहटको चन्द्रपुरमा भएको विस्फोटको घटना ठूलो हो ।

रुट फेर्दा पनि एम्बुसमा

कांग्रेस उदयपुर–२ का उम्मेदवार रुट परिवर्तन गर्दासमेत एम्बुसमा परेको खुलासा भएको छ । अर्कै बाटो प्रयोग गर्ने तयारीमा रहेका कार्कीले एम्बुसको हल्लापछि रुट परिवर्तन गरेका थिए । तैपनि उनी एम्बुसमा परेका छन् ।

कार्कीका चालक राजन कार्कीले अन्नपूर्ण पोस्ट दैनिकसँग रुट परिवर्तन गर्दासमेत एम्बुसमा परेको बताएका छन् ।

कसले हान्दैछ बम ?

अन्नपूर्ण पोस्ट दैनिकमै कसले हान्दैछ बम शीर्षकको एक समाचार टिप्पणी बिहीबार प्रकाशित भएको छ ।

चुनावी गतिवधि सुरु भएसँगै तीव्र बनेको विस्फोटमा पहिलोपटक मानवीय क्षति भएपछि आमजनताले बम विस्फोट गराउनेको खोजी गर्न सरकारलाई दबाब दिइरहेका छन् । के उद्देश्यले र कसले गराएको थियो विस्फोट रु मुलुकभर कसले र किन बम पड्काइरहेको छ ? आमजनता यसको जवाफ खोजिरहेका छन् ।

गृह मन्त्रालयले विस्फोटमा परी घाइते भएका एक म्यादी प्रहरीको उपचारक्रममा मृत्यु भएको पुष्टि गरे पनि कसले विस्फोट गराएको थियो भन्ने जवाफ दिन सकेको छैन । विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् वा उच्छृंखल समूह वा सर्वसाधारणले भन्ने गरेजस्तो ‘अदृश्य विदेशी शक्तिु या अरू कुनै समूह ? यसबारे सरकारसँग प्रशस्त सूचना भएको र सुरक्षा निकायले पहिचान पनि गरिसकेको विभिन्न स्रोतले पुष्टि गरेका छन् । तर, सरकारले आधिकारिक रूपमा जानकारी नदिँदा सर्वसाधारणमा त्रास बढ्दो छ । ‘कसले विस्फोट गराउँदै छ भन्नेबारे पछि भन्छौुं, गृहप्रवक्ता नारायणप्रसाद दुवाडीले भने ।

जेलबाटै भोट प्रभावित

जेलमा रहेका अभियुक्तको अन्तर्वार्ता रेडियोमा प्रसारण हुने सूचनाले मंगलबार बिहानैदेखि सहरमा तरंग आएको थियो। अन्तर्वार्ताकार पत्रकार अजय अनुरागीले बिहानै फेसबुक स्टाटसमार्फत साँझ ७ बजे अन्तर्वार्ता प्रसारण हुने जानकारी दिएलगत्तै उनको मोबाइलमा एकपछि अर्को कल आउन थाल्यो।

उनलाई फोन गर्ने राजपा समर्थक कोही प्रसारण नगरिदिन अनुरोध गरिरहेका थिए त कोही जेलमा रहेका बन्दीको अन्तर्वार्ता लिन र प्रसारण गर्न नपाइने दाबी गरिरहेका थिए। अनुरागीचाहिँ जेलरलाई निवेदन दिएर बन्दीसँग अन्तर्वार्ता लिएको र कैदी, बन्दी प्रेसमार्फत आफ्नो कुरा सार्वजनिक गर्न स्वतन्त्र रहेको जिकिर गरिरहेका थिए।

बन्दीको समर्थन पाएको कांग्रेस पनि ढुक्क थिएन। बन्दीले बोलेका कुराले नकारात्मक प्रभाव पार्ने त हैन भनेर संशकित कांग्रेस समर्थक उनले के के बोले भन्ने कुरा अन्तर्वार्ताअघि नै जान्न चाहन्थ्यो। काठमाडौंमै रहेका उम्मेदवार विमलेन्द्र निधिले पनि केही पत्रकारलाई फोन गरी अन्तर्वार्तामा के के भनेका छन्, भनेर बुझ्न खोजेका थिए।

अन्तर्वार्ता प्रसारण हुने कुराले मात्र यस क्षेत्रको चुनावी माहोलमा तरंग ल्याउन सक्ने बन्दी सञ्जय साह हुन्, जो ०६४ र ०७० सालको संविधानसभामा जनकपुर सहर पर्ने क्षेत्रबाट निर्वाचित भएका थिए। अन्तर्वार्ता प्रसारण हुने समय (साँझ ७) भन्दा आधा घन्टाअघि नै साहका समर्थक गाडीमा ठुल्ठूला स्पिकरसहित सहरका प्रमुख चोकमा भेला भइसकेका थिए। स्पिकरमार्फत परसम्म सुनिने गरी अन्तर्वार्ता सुनाइएको थियो।

डिल्लीबजार जेलमा रहँदा साह निधिको पक्षमा सक्रिय भएका थिए। र, उनले भोटमा पार्नसक्ने प्रभावबारे चर्चा सुरु भएको थियो। बिहीबार काठमाडौंबाट सिरहा कारागार ल्याएपछि उनका समर्थकले राजपा उम्मेदवार राजेन्द्र महतोविरुद्ध प्रचारबाजी सुरु गरिसकेका थिए। सरुवा भई केही दिनअघि सिरहा जेलमा आएपछि धनुषा ३ को चुनावी दंगलमा साहको चर्चा चुलिएको छ। साहका समर्थक जनकपुरबाट ३ घन्टा यात्रा गर्नुपर्ने सिरहा पुगेर उनको निर्देशन लिइरहेका छन्।

जनकपुर बम विस्फोट, सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका साथै सम्पत्ति शुद्धीकरण मुद्दा झेलिरहेका साहको दुई हेभिवेट प्रतिस्पर्धा गरिरहेको क्षेत्रमा यति धेरै चर्चा किन रु धनुषा(३ को चुनाव निधि र महतोको राजनीतिक भविष्यको टर्निङ प्वाइन्ट हुने अनुमान गरिएको छ।

कांग्रेस नेतृत्वमा पुग्न सक्ने ठानिएका निधि चुनाव हारेपछि पर्न सक्छन्। राजपा अध्यक्ष मण्डलमा महन्थ ठाकुरपछिको नेता ठानिएका महतोलाई लगातार दोस्रो पराजयले धक्का लाग्नेछ। तर, चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन, मतदाता नै नेक टु नेक प्रतिस्पर्धा हुने भनिरहेका छन्।

यस्तो प्रतिस्पर्धामा महतोलाई जान सक्ने थोरै मात्र निधिको पक्षमा पारिदिन सके त्यही निर्णायक हुने भएकाले साहको महत्व चुलिएको छ।

अन्नपूर्ण पाेस्ट दैनिकका अनुसार, जेलबाटै निधिको पक्षमा सक्रिय हुन थालेपछि महतो पक्ष चिन्तित देखिन्छ। स्थानीय चुनावमा जनकपुर उपमहानगरपालिकामा राजपाको प्रचार संयोजन गरेका धमेन्द्र साह सञ्जय निकट हुन्। सञ्जयले निधिलाई समर्थन गरेपछि उनी अहिले चुपचाप बसिरहेको बताउँछन्। निधि पक्षचाहिँ केही न केही फाइदै हुने अनुमान लगाइरहेको छ।

कार्यकर्ता पोस्दै सरकार

निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताका नाममा मनपरी रकम विरतण गरेको छ । निर्वाचन प्रभावित पार्न कांग्रेस नेतृत्वको सरकारले एक हजार २ सय ७८ जना कार्यकर्तालाई रकम बाँडेको हो ।

नागरिक दैनिकका अनुसार, बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई औसतमा १ लाख २३ हजार ४ सय ३५ रुपैयाँ बाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment