Comments Add Comment

भारतले निर्यातमा अंकुश लगाएपछि प्याजको मूल्य छोइनसक्नु

कालिमाटीमा प्रतिकिलो ४० रुपैयाँ बढ्यो, खुद्रामूल्य १५०

१४ मंसिर, काठमाडौं । गत शुक्रवार कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ रुपैयाँ तिरे । त्यसयता मंगलबार फेरि प्याजको भाउ बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको छ ।

यो कालिमाटी तरकारी बजारभित्रको भाउ हो । बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि प्रतिकिलो ७५ रुपैयाँसम्ममा प्याजको खरिद -विक्री हुन्थ्यो ।

एक्कासी आकाशिएको तरकारीको मूल्य घटेपछि हौसिएका उपभोक्तामा फेरि निराशा छाएको छ ।

यसकारण बढ्यो भाउ

मंसिर ७ गते भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि नेपालमा त्यसको प्रभाव परेको हो । नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ।

प्याजको उत्पादन घटेर आन्तरिक बजारमा मूल्य आकाशिन थालेपछि आन्तरिक बजारमा आपूर्ति बढाउन र नियन्त्रण गर्न भारत सरकारले निर्यातमा अंकुश लगाएको छ ।

भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।

यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकामा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर (करीव ८७ हजार ५ सय नेपाली रुपैयाँ) तय गरिएको छ । न्यूनतम निर्यात मूल्य कायम भएपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडा बताउँछन् ।

विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) का अनुसार प्याजको यस्तो न्यूनतम निर्यात मूल्य १६ पुस (३१ डिसेम्बर) सम्म कायम रहनेछ ।

व्यवसायी भन्छन् – भाउ अझै बढ्छ

व्यवसायीहरू भने प्याजको भाउ अझै बढ्ने चेतावनी दिएका छन् । व्यवसायीका अनुसार भारतमै अहिले प्रतिकिलो प्याजको मूल्य ५५ रुपैयाँ आइसी पर्छ । ‘भारतमै महंगो परेपछि न्यूनतम निर्यात मूल्यको बढेको शूल्क र ढुवानी जोड्दा यहाँ ल्याउँदा थप महंगो पर्न गएको हो,’ महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने । उनका अनुसार अहिले भारतमै प्याजको भाउ शतप्रतिशतसम्म बढेको छ ।

दुई महिनाअघिदेखि नै भारतमा प्याजको मूल्य बढ्न थालेको हो । दुई महिनाअघि भारतबाट प्रतिकिलो ३५ देखि ४० रुपैयाँ आइसीमा व्यवसायीले प्याज आयात गर्थे । न्यूनतम मूल्य कायम भएपछि अहिले प्याजको भाउ ४० प्रतिशतसम्म बढेको महासंघ बताउँछ । व्यवसायीले अहिले भारतबाटै प्रतिटन ८० हजार रुपैयाँमा प्याज खरिद गरिरहेका छन् । व्यवसायीले भारतका नासिक, इन्दौर, कानपुर, चण्डीगढ लगायतका क्षेत्रबाट प्याज आयात गर्छ ।

व्यवसायीका अनुसार भारतले पछिल्लो समय फेरि निर्यातमा असहजता थपेको छ । पहिले खुलारुपमा ल्याउन सकिने स्थिति रहेकामा केही दिनयता प्रतितपत्र -एलसी) खोलेरमात्र प्याज निर्यात गर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । ‘अहिले भन्सारमा प्रतितपत्रबाटमात्रै आयात गर्ने व्यवस्थाले झन्झट थपेको छ,’ एक व्यवसायीले भने ।

नेपालमा गोदामको व्यवस्था नहुँदा पनि संकट आउनेवित्तिकै हाहाकार हुने अवस्था आएको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment