Comments Add Comment

पत्रपत्रिका समाचारः ३ लाख चालक लाइसेन्सविहीन, ६ वर्षमा ५५ हजार दुर्घटना

मतदाता रिझाउन धमाधम निर्णय

१५ मंसिर, काठमाडौं । राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले आज फरक–फरक विषयलाई समाचार बनाएका छन् । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणमा हुने निर्वाचनको विश्लेषण पस्केका पत्रपत्रिकाहरुले बढ्दो सडक र हवाई दुर्घटनाको विषयलाई पनि आज महत्त्वका साथ छापेका छन् ।

३ लाख चालक लाइसेन्सविहीन, ६ वर्षमा ५५ हजार दुर्घटना

नयाँ पत्रिका दैनिकले आज सडक दुर्घटनाको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, ६ वर्षमा ५५ हजार दुर्घटना भएका छन् । यी दुर्घटनामा ११ हजार ८ सय ३४ को ज्यान गएको छ भने उत्तिकै घाइते भएका छन् । उदेकलाग्दाे कुरा के छ भने ३ लाख चालकले लाइसेन्सविनै सवारी चलाउँदै आएका छन् ।

‘यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारीसाधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारीचालक अनुमतिपत्र लिएका छन्’, नयाँ पत्रिका दैनिकले समाचारमा लेखेको छ ।

ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाउँदा पनि दुर्घटना बढेको बढ्यै छ ।

समाचार अनुसार ब्ल्याक स्पट पहिचान भइसके पनि रोकथाम हुन सकेको छैन । नौबीसेदेखि मुग्लिनसम्मको सडकखण्डका विभिन्न ठाउँलाई सडक विभागले ब्ल्याक स्पट तोकेको छ । ८० किलोमिटरको सो सडकखण्डमा धेरै दुर्घटना हुने गर्छन् । नोक्सान हुन सक्ने उच्च जोखिम हुँदाहुँदै पनि रोकथामका काम सुस्त छन् ।

हवाई दुर्घटनाको ६८ वर्षः ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु


नेपाली हवार्इ क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (इयू) ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची) मा यसलाई राखेको थियो । करिब ६ महिनाअघि मात्रै यसलाई आइकाओले नेपालको आकाश सुरक्षित रहेको भन्दै फुकुवा गरिसकेको छ ।

नेपाली आकाशमा पहिलोपटक सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ जहाज बाराको सिमरामा दुर्घटना भएको थियो । यो नै नेपालीभूमिमा भएको पहिलो जहाज दुर्घटना थियो ।

अन्नपूर्ण पाेस्ट दैनिकका अनुसार, हवाई इतिहासको यो ६८ वर्षमा ८४ दुर्घटना भएका छन् जसमा ६ सय ६८ को ज्यान गएको छ ।

नयाँ जहाज थप्न रोक लगाउने तयारी

हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ २ वर्षको लागि नयाँ जहाज र एयरलाइन्सको अनुमतिमा रोक लगाउने तयारी गरेको छ । नयाँ जहाजका लागि भएको पार्किङ वेले नधान्ने भएपछि आन्तरिकतर्फका सबै एयरलाइन्सलाई पनि जहाज ल्याउन कम्तीमा दुई वर्षसम्म रोक लगाउने तयारी भएको हो ।
देशभरका विमानस्थलको जहाज पार्किङ क्षमता ४६ वटा मात्रै रहेको र हाल आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीसँग पनि ४६ वटै जहाज पुगेपछि नयाँ जहाज थप्न रोक्ने तयारी गरिएको खबर आजको कारोबार दैनिकले लेखेको छ ।

मतदाता रिझाउन धमाधम निर्णय

चुनावमा जातीयता, पैसा र मदिरा हाबी भएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले मतदातालाई प्रभावित बनाउने गरी निर्णय गर्न थालेको लेखेको छ । यसै क्रममा दोस्रो चरण निर्वाचन आउन ७ दिन बाँकी रहँदा बिहीबार मन्त्रिपरिषद् बैठकबाट मकवानपुर हेटौंडाको बाइपास सडकबारे पनि निर्णय गरेको समाचारमा जनाइएको छ ।

‘बैठकले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापालाई सहयोग पुग्नेगरी हेटौंडाको सो सडकका बारे निर्णय लिएको हो’, नागरिक दैनिकको समाचारमा भनिएको छ ।

एसियाली मापदण्डअनुसार उक्त राजमार्गको चौडाइ बढाउनुपर्ने हुँदा हेटौंडाका स्थानीयको घर भत्काउनुपर्ने अवस्था थियो । जसको स्थानीयबाट विरोध हुँदै आएको थियो । सो क्षेत्रका मतदाताको मत तान्ने उद्देश्यसहित थापाको प्रस्तावमा अन्यत्रबाट बाइपास सडक बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको समाचारमा उल्लेख छ ।

नागरिककै समाचारमा मुसलमान मतदातालाई प्रभावित गर्नेगरी विदासम्बन्धी निर्णय पनि सरकारले बिहीबार गरेको जनाइएको छ ।

बेल्ट एन्ड रोडमा पार्न अर्थलाई ऊर्जाको पत्र

नागरिक दैनिकमै ऊर्जा मन्त्रालयले ४ सय केभीको केरुङ–रसुवागढी–गल्छी अन्तरदेशीय प्रसारण लाइन बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत निर्माण गर्नेगरी सहयोगका लागि चीनसमक्ष प्रस्ताव राख्न अर्थ मन्त्रालयलाई सुझाव दिएको खबर पनि छ ।

खबर अनुसार ऊर्जा मन्त्रालयले बिहीबार अर्थ मन्त्रालयलाई पत्र पठाउँदै उक्त प्रसारण लाइन निर्माण प्राथमिकतामा पार्न सुझाव दिएको हो ।

नेपाल विद्युत्त प्राधिकरणले स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक प्रतिवेदनका आधारमा ऊर्जाले प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसमक्ष पठाउन अर्थलाई आग्रह गरेको समाचारमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्तकी बुहारी समानुपातिकमा

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् ।

नागरिक दैनिकका अनुसार, माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ । प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले बुहारी चुनावी प्रतिष्पर्धामा रहेको बताए । ‘मेरा छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्, त्यसैले उनीहरु स्वतन्त्र हुन्’ यादवले नागरिकसँग भनेका छन्, ‘यो उनीहरुको व्यक्तिगत छनोट हो ।’

निर्वाचनमा खटिए सुक्ष्म अनुगमनकर्ता


निर्वाचन आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन शुक्रबारदेखि ८८ जना उपसचिवस्तरका कर्मचारीलाई अनुगमनमा खटाएको छ ।

राजधानी दैनिकका अनुसार, अनुगमनमा खटिएका कर्मचारीहरुले जिल्लाजिल्लामा गएर राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिना पालना गरे–नगरेको सुक्ष्म रुपमा अनुगमन गर्नेछन् ।

अनुगमनका क्रममा आचारसंहिताविपरीत कार्य गरिएको फोला परेको खण्डमा ती अनुगमनकर्ताहरुले तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउनेछन् भने आयोगले आवश्यक कारबाही गर्नेछ ।

७५३ वटै स्थानीय तहमा सरकारको वेबसाइट

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, वेबसाइट अद्यावधिक गरे–नगरेको, सरकारले गरेका निर्णय–सूचनालगायत अपलोड गरे–नगरेको , आय व्ययको विवरण, विद्युत्तीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत गर्नेछ ।

समाचार अनुसार मन्त्रालयले स्थानीय सरकारको वेबसाइट र जीआइएस म्यापलगायत समेटेर मोबाइल एप्स पनि तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment