Comments Add Comment

विश्वकप ड्र आजः जान्नुस् पाँच कुरा

१५ मंसिर, काठमाडौं । बिभिन्न चरणको छनोट प्रतियोगिता पार गरी विश्वकपमा स्थान बनाउन सफल मुलुकहरुको सुरुवाती प्रतिस्पर्धीको टुंगो आज लाग्दैछ ।

पछिल्लो फिफा र्‍याङकिङका आधारमा छनोट भएका ३२ टिमलाई चार समूहमा विभाजन गरिएको छ । जसमध्येबाट चार चार टोली सम्मिलित ८ समूह बनाइनेछ ।

कुन पोलमा कुन-कुन देश ?

छनोट भएका टोलीहरुमध्ये पोल ए मा आयोजक रुस, जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड र फ्रान्स क्रमैसँग छन् ।

पोल बी मा स्पेन, पेरु, स्वीट्जरल्याण्ड, इंग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रेएशिया छन् ।

पोल सी मा डेनमार्क, आइसल्याण्ड, कोष्टारिका, स्वीडेन, ट्युनिशिया, इजिप्ट, सेनेगल र इरान छन् ।

पोल डी मा सर्बिया, नाइजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेविया छन् ।

पछिल्लो फिफा र्‍याङकिङ अनुसार शीर्ष स्थानदेखि ६३ औं स्थानभित्र रहेका ३२ टिमहरु सहभागी छन् ।

कुन समयमा हुन्छ ड्र ?

विश्वकपको ड्र नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजेदेखि रुसको क्रेमलिन प्यालेसमा सुरु हुनेछ ।

विश्वकप ड्रको सञ्चालन सन् १९८६ र १९९० मा विश्वकप खेलेका इंग्लिस स्ट्राइकर लिनकर र रसियन पत्रकार मारिया कोमाण्डनायाले गर्नेछन् ।

विश्वकपको ड्रमा युरोपबाहेकका अन्य कुनैपछि महादेशका टोलीहरुलाई एउटै समूहमा राखिने छैन । युरोपका टोलीहरुको हकमा एक समूहमा बढीमा दुई टोली समावेश गरिनेछ ।

कोको आउँदैछन् ड्रमा ?

विश्वकपको ड्र लेजेण्ड खेलाडीहरु फ्रान्सका लरेन्ट ब्लांक, इंग्ल्याण्डका गर्डोन ब्याङकस्, ब्राजिलका काफू, इटलीका फावियो कानाभारो, उरुग्वेका डिएगो फोर्लान, अर्जेन्टिनाका डिएगो म्याराडोना, स्पेनका कार्लोस पुयोल र जर्मनीका मिरोस्लाभ क्लोजाले गर्नेछन् ।

जर्मनीको रेकर्ड र अपराजित तीन टिम

यस पटकको विश्वकपमा साविक बिजेता जर्मनीलाई उपाधिको प्रमुख दावेदार मानिएको छ । त्यसपछि ब्राजिल, स्पेन, अर्जेन्टिना, फ्रान्स, बेल्जियम र इंग्ल्याण्ड आउँछन् ।

जोचिम लो को टोली जर्मनी लगातार विश्वकप जित्ने योजनामा छ । सन् १९५८ र १९६२ मा पेलेले ब्राजिललाई लगातार विश्वकपको उपाधि दिलाएपछि त्यस्तो सौभाग्य अन्य टोलीलाई अहिलेसम्म जुरेको छैन ।

जर्मनीले सन् २०१० को सेमिफाइनलमा स्पेनसँग पराजित भएयता विश्वकपको छनोट र फाइनल चरणमा अहिलेसम्म पराजय ब्यहोरेको छैन । सन् २०१८ को विश्वकप छनोटमा उसले सबै खेलमा जित हासिल गर्दा ४३ गोल गरेर जम्मा ४ गोलमात्र खाएको छ ।

बेल्जियम, स्पेन र इंग्ल्याण्डले पनि विश्वकप छनोटमा पराजय ब्यहोरेका छैनन् ।

ब्राजिलको विश्वकप छनोट यात्रा भने यसपटक शानदार यसकारण रहृयो कि प्रशिक्षक डुंगाको कार्यकालमा सुरुवाती ६ खेलमा एकमात्र जित निकालेको ब्राजिलले त्यसपछि टीटेलाई प्रशिक्षक नियुक्त गरेपछि १२ खेलमा १० मा जित र २ मा बराबरीको नतिजा निकाल्दै स्पष्ट १० अंकको अग्रताका साथ विश्वकपमा स्थान बनायो । सन् २०१८ को विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली पनि हो ।

त्यस्तै इराना र मोरक्कोले पनि आआफ्नो महादेशीय छनोटमा पराजयबिहीन हुँदै विश्वकपमा स्थान बनाएका थिए ।

यसपटकको विश्वकपमा २ टिमले डेब्यू गदैछन् । युरोपबाट आइसल्याण्ड र मध्य तथा उत्तर अमेरिकाबाट पामाना विश्वकपको पहिलो अनुभव हासिल गर्न रुश जानेछन् ।

केही आश्चर्यजनक नतिजा

यसपटकको विश्वकप छनोटमा केहि आश्चर्यजनक नतिजा पनि देखिए । चार पटकको विश्व बिजेता इटली विश्वकप खेल्न नपाउने भयो । प्लेअफमा उसले स्वीडेनसँग पराजय ब्यहोरेपछि सन् १९५८ पछि पहिलो पटक विश्वकप सहभागिता गुमायो ।

समूह चरणमा स्वीडेनले नै पछि पारेपछि सन् २०१० को उपबिजेता नेदरल्याण्ड्स पनि विश्वकप खेल्न बञ्चित भयो ।

चेक रिपब्लिक, वेल्स, स्कटल्याण्ड, अष्ट्रिया, बोस्निया र टर्की पनि यस्ता मुलुकहरु हुन्, जसले विश्वकपका लागि रुसको टिकट काट्न सकेनन् । उनीहरु समूह चरणमै रोकिए । र, आयरल्याण्ड, नर्दन आयरल्याण्ड र गि्रसले प्लेअफ पार गर्न सकेनन् ।

उत्तर अमेरिकाबाट अमेरिकाले नै समूह चरण पार गर्न सकेन । होण्डुरसले पनि प्लेअफ पार गरेन । दुबै दुई मुलुक सन् १९८६ पछि पहिलो पटक विश्वकपबाट बाहिर रहे ।

अफि्रकाबाट यसपटकको नतिजा केहि अनौठो आयो । आइभरी कोष्ट, क्यामरुन, घाना जस्ता अफ्रीकी पावरहाउसले यसपटक विश्वकपमा स्थान बनाउन असमर्थ रहे ।

विश्व बरियाताको नवौं स्थानमा रहेको चिलीले दक्षिण अमेरिकी छनोट पार गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment