Comments Add Comment

गोरखाको चुनाव सकिएपछि नारायणकाजी अस्पतालमा, बाबुराम चुनावी अभियानमा

१५ मंसिर, गोरखा । पहिलो चरणको चुनाव सकिए पनि गोरखाका उमेदवारहरुलाई चैन छैन । दोस्रो चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना हुने भएपछि नतिजाको पर्खाइमा उनीहरु बेचैन छन् ।

मंसिर २१ गते साँझ पाँच बजेपछि मात्रै गोरखाका नेताहरुको भाग्य कैद भएको मतपेटिका खुल्नेछ । त्यसैले नेताहरु सोही दिनको पर्खाइमा छन् ।

अहिले गोरखाका उमेदवारहरु कहाँ के गरिरहेका छन् त ? एक रिपोर्टः

नारायणकाजी श्रेष्ठः अस्पताल भर्ना

गोरखा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य उमेदवार एवं माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यतिबेला ग्वार्कोस्थित किष्ट अस्पतालमा भर्ना भएका छन् ।

निर्वाचन हुने केही दिन अघिदेखि नै बिरामी परेका श्रेष्ठलाई अझै ठीक हुन सकेको छैन । मंसिर १० गतेको निर्वाचन हुनु केही दिन अघिदेखि नै बिरामी परेका श्रेष्ठ मतदान गरेर काठमाडौ र्फकेसँगै झन् बिरामी भएका हुन् ।

डाक्टरको रिपोर्ट अनुसार उनको रगतमा हेमोग्लोविनको मात्रा कम भएको बताइएको छ । साथै उनको रुखाखोखी बिगि्रएकाले स्वास्थ्य अवस्था कमजोर भएको स्रोतले बतायो ।

गोरखाको चुनावी अभियान सकेपछि माओवादी नेता श्रेष्ठ तराईका विभिन्न जिल्लामा जाने तयारीमा छन् । तर, उनी बिरामी भएकाले अभियानमा जान सकेका छैनन् । अस्पतालले शुक्रबार डिस्चार्ज दिने र केही दिन घरैमा आराम गर्नुपर्ने श्रेष्ठका सहयोगीले अनलाइनखबरलई बताए ।

डा. बाबुराम भट्टराईः चुनावी अभियानमा

गोरखा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उमेदवार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी अभियानका क्रममा राजधानी हुँदै मधेस झरेका छन् ।

दोस्रो चरणको निर्वाचनका लागि उनी मधेसका बिभिन्न जिल्लाको चुनावी कार्यक्रममा व्यस्त छन् । मधेशका विभिन्न जिल्लाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले नयाँ शक्ति सँगै लोकतान्त्रिक गठवन्धनका अन्य पार्टीका लागि पनि मत माग्न पछि परेका छैनन् । बिहीबार झापा, मोरङ र सुनसरीको चुनावी कार्यक्रममा सहभागी भएका भट्टराई शुक्रबार सिराहा, सप्तरी र महोत्तरीको चुनावी प्रचार कार्यक्रममा सहभागी हुने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै शनिबार सर्लाही, बारा, चितवन हुँदै नवलपरासीको चुनावी कार्यक्रममा सहभागी हुने डा. भट्टराईको योजना छ । भट्टराई माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठसँग चुनाव लडेका छन् ।

चीनकाजी श्रेष्ठः पोखरा जाँदै

गोरखा क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उमेदवार नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठ केही दिनको आराम पश्चात चुनावी प्रचारका लागि शुक्रबार पोखरा पुग्दैछन् ।

चुनावका समयमा भएको दौडधुपका कारण थकाई लागेकाले केही दिन आराम गरेको उनले अनलाइखबरलाई भने । ‘आमा सिकिस्त बिरामी भएर न्यूरो असपतालमा हुनुहुन्छ, आमालाई पनि हेर्नुपर्‍यो, फेरि चुनावले आफैं बिरामीजस्तो भएँ, केही दिन आराम गरेर आज पोखरा जाँदैछु,’ श्रेष्ठले भने ।

पार्टीको निर्देशन अनुसार श्रेष्ठले पोखराको चुनावी कार्यक्रमा सहभागी भएर तनहुँ हुँदै गोरखा आउने बताए । श्रेष्ठ माओवादी केन्द्रका हरिराज अधिकारीसँग चुनाव लडेका हुन् ।

हरिराज अधिकारीः पोखरामा सक्रिय

गोरखा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार माओवादी केन्द्रका हरिराज अधिकारी यतिखेर पोखराको चुनावी कार्यक्रममा व्यस्त छन् ।

मंसिर १० गते मतदान सकिएको भोलिपल्टै पोखरा पुगेका थिए । स्याङजा, पर्वतको चुनावी अभियानमा सहभागी भएर उनी पोखरा फर्किएका हुन् । पोरखाबाट तनहुँ जाने र २१ गते गोरखा आउने उनको योजना छ ।

प्रदेश सभा सदस्य उमेदवारहरु भने कोही काठमाडौंमा छन् भने कोही गोरखामा छन् । उनीहरु मतगणनाको दिन पर्खेर बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment