Comments Add Comment

देउवाको ओठमा मण्डलेको पुरानो चोट ! (भिडियो रिपोर्ट)

सूर्यपुरामा गिरिजा र देउवाको हत्या गर्न खोज्ने को थिए ?

१६ मंसिर, सूर्यपुरा (रुपन्देही) । ‘लोकतन्त्रको रक्षाका लागि’ भोट माग्दै देशदौडाहामा निस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाको ओठमा एउटा पुरानो खत देखिन्छ । यो खत लोकतन्त्रकै लागि लड्ने क्रममा मण्डलेहरुले गरेको सांघातिक आक्रमणका कारण लागेको सम्झन्छन् रुपन्देही कांग्रेसका पुराना कार्यकर्ता ।

निरंकुश पञ्चायतविरुद्ध लड्ने क्रममा कांग्रेसको तत्कालीन उच्च नेतृत्वको सामुहिक हत्या गर्ने उद्देश्यले ०४० फागुन २२ गते रुपन्देहीको सूर्यपुरामा मण्डलेहरुले सांघातिक आक्रमण गरेका थिए । सो आक्रमणमा कांग्रेस नेता देउवालाई चोट लागेको थियो । घटनामा मण्डलेहरुबाट मारिएका यादवनाथ आलोकलाई कांग्रेसले सहिद घोषणा गरिसकेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार तत्कालीन पञ्चहरुले कांग्रेसका शीर्षनेता स्व. गिरिजाप्रसाद कोइराला, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, स्व. शैलजा आचार्य, गोपाल पराजुली – हाल प्रधानन्याधीश) लगायतका नेताहरु बसेको घर घेरेर आक्रमण गरेका थिए । दर्दनाक उक्त घटनामा कांग्रेसका बरिष्ठ नेताहरु मुस्किलले बच्न सफल भएका थिए ।

कांग्रेस नेताहरुलाई मण्डलेको आक्रमणबाट बचाउन खोज्दा २०० जना घाइते भएका थिए भने ३२ जना अङ्गभङ्ग र दुईजना शहीद भएका थिए ।

सूर्यपूराकाण्डको नामले बदनाम उक्त घटना अहिले रुपन्देहीका चिया पसलदेखि मतदातासम्म पुनः चर्चाको विषय बनेको छ । किनभने कांग्रेस कार्यकर्ताले सोही घटनाका योजनाकार मान्दै आएका पञ्चायतका हस्तीलाई नै भोट माग्दै हिँड्नुपर्ने परिस्थिति आएको छ ।

रुपन्देहीका कांग्रेसका कार्यकर्ताहरु उक्त घटनामा जसको हात रहेको दाबी गर्छन्, तिनै व्यक्तिलाई अहिले ‘लोकतन्त्र जोगाउन’ भन्दै भोट माग्नुपर्ने र हाल्नुपर्ने अवस्थामा पुगेका छन् उनीहरु ।

यो घटनाका दोषीहरु को हुन् भन्नेबारे अधिवक्ता धनपति उपाध्यायको रिपोर्टमा समेत उल्लेख रहेको कांग्रेसका नेताहरु बताउँछन् । मण्डलेहरुको सोहीयोजना अनुसार सूर्यपुरा काण्ड घटेको उनीहरुको दाबी छ ।

सूर्यपुरा घटनाका प्रत्यक्षदर्शी हालका प्रधानन्याधीश गोपाल पराजुलीसमेत हुन् । उनले आफ्नो प्रकाशोन्मूख कृतिमा उक्त घटनामा मण्डलेहरुको आक्रमणबाट कसरी बचियो र सँगैको साथी कसरी शहीद भए भन्ने एक चश्मदीतका रुपमा व्याख्या गरेका छन् ।

सो घटनाका अर्का प्रत्यक्षदर्शी मध्येका बिराटनगरका उमेश गिरीले गोठमा लुकेर सो घटनाको फोटो खिचेको प्रंत्यक्षदर्शी बताउँछन् ।

सोही घटनामा हालका प्रधानमन्त्री कांग्रेस नेता शेरबहादुर देउवाको ओठ मण्डलेहरुको हानेको ढुंगाले लागेर काटिएको प्रत्यक्षदर्शी शक्तिप्रशन्न गिरीले बताए । सुरजपुरा घटनालाई स्व. नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनमा भोगेको सबैभन्दा ठूलो विभत्स घटनाका रुपमा लिने गरेका थिए ।

सूरजपुरा घटनाबारे कांग्रेस कार्यकर्ताको भनाइ यस्तो छः

तिनै मण्डलेहरु हाम्रो समर्थनमा चुनाव लड्दैछन्

शक्तिप्रशन्न गिरी, स्व.पुष्पानन्द गिरीका छोरा

कांग्रेसको देश दौडाहा थियो । बषर्ायामअघि नवलपरासीको अग्र्यौलीमा कांग्रेसको भेलामा प्रहरीले लाठीचार्ज गर्‍यो । केही नेता गिरफ्तार भए । त्यसपछि गिरिजाबाबुले रुपन्देहीमा कायकर्ता भेला गर्ने योजना बनाउनुभएछ ।

सम्भावित आक्रमणका कारण कोही जिल्ला नेता कार्यक्रमस्थल निर्धारण गर्न नसक्ने । मेरा बुबा पुष्पानन्द गिरी जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले आफ्नै घरमा कार्यक्रम राख्ने हिम्मत गर्नुभयो । ०४० साल फागुन २० गते जिल्ला कार्यसमितिको बैठकको आयोजना भयो ।

म गिरिजा कोइरालालाई लिन बिहान ८ः३० मा खैरेनी पुग्दा आइपुग्नुभएन, उहाँ ढिला गर्नुभयो । उहाँ आएको आफ्नै जीप बिग्रेको रहेछ दाउन्नेमा । उहाँ पछि रसियन जीप चढेर आउनुभयो त्यतिखेर रसियन जिप चल्थे ।

खैरेनीमा नचिनेका मानिसहरु माला लिएर बसेका रहेछन् । उहाँलाई त्यही स्थानमा हत्या गर्ने योजना रहेछ । उहाँ ढीलो भएकाले मात्रै जोगिनुभयो । पछि १२ बजेदेखि दिउँसो २ बजेसम्म हाम्रो घरमा बसेको बैठक माथि सुकुम्वासी बस्तीका रुपमा चिनिएका देवदह र दीपनगरबाट केही व्यक्तिहरुसहित मण्डलेहरु र त्यसभित्र प्रहरीको समेत परिचालन गरी भिषण आक्रमण भयो ।

नेताहरुलाई हामीले छोपेर जोगाएका हौं । आक्रमण कसले गर्‍यो भन्ने थाहा छ । तर हालको लोकतान्त्रिक गठबन्धनको कारण मैले यसबेला धेरै कुरा भन्न सक्दिनँ । यति भन्छु, त्यसका योजनाकारहरु अहिले हाम्रै समर्थनमा चुनाव लडेका छन् ।

सीता भाउजूको सिन्दुर पुछ्नेलाई बोकेर हिँड्न सकिएन

कृष्ण पौडेल, कांग्रेस नेता एवं प्रदेशसभा स्वतन्त्र उम्मेदवार

०४० फागुन २० मा भएको उक्त भेलामा बिहानैदेखि कांग्रेसका कार्यकर्ताहरु जम्मा भएका थिए । दिउँसो १२ बजेतिर सिभिल ड्रेसका केही मानिसहरु, केही झुत्रा झाम्रा कपडा लगाएका व्यक्तिहरुको भिड बढ्दै गयो । भित्र प्रशिक्षण चलिरहेको थियो ।

गिरिजाप्रसाद कोइराला सवार गाडी दाउन्नेमा बिगि्रएर अर्को गाडी चेञ्ज गरेर आउनु भएको थियो । उहाँ संयोगले बाँचेको मान्छे हो, नत्र खैरेनीमै उहाँलाई मार्ने योजना रहेछ । गाडी चेञ्ज गरेकै कारण उहाँलाई मण्डलेहरुले पहिचान गर्न नसकेर बाँच्नुभो ।

कोइराला सूर्यपुरामा आएर गोप्य भेलामा प्रशिक्षण दिँदै गर्दा एक जना हाफपाइन्ट लगाएको व्यक्ति आएर चिट दियो । उहाँ स्तव्ध हुनुभयो । मन्तव्य रोकेर ‘म थाकेको छु, खाना खाएर बिदा हौंऔं । प्रजातन्त्रले जित्छ, बिजय हाम्रो हुन्छ । राजा बीरेन्द्रको गोप्य सन्देश पनि यही छ’ भन्ने कुरासमेत राख्नुभयो ।

बाहिर स्थिति भयावह भैसकेको थियो । एकाएक मण्डलेहरुको आक्रमण शुरु भयो । घर घेरियो । खुकुरी नचाउँदै मानिसहरु तिमीहरुलाई केही गर्दैनौं, तर कांग्रेसका नेताहरु कता छन् देखाइ देओ भन्दै भित्र पसे । बाहिर हेर्दा २०० मानिस भुइँमा ढलिरहेका थिए । उनीहरु चिच्याइरहेका थिए ।

पुष्पानन्द गिरीको घर वरिपरि केही मानिसहरुले पराल थुपारेर आगो लगाउन शुरु गरे । हामी परालको धुवाँले अत्तालिन थाल्यौं । बाहिर यादवनाथ आलोकलाई खुकुरी प्रहार भएछ । उनी चिच्चाइरहेका थिए । हामीले नेताहरुलाई घरभित्र लुकाएर बचायांै ।

शेरबहादुर देउवा त्यसबेला युवा हुनुहुन्थ्यो । उहाँको मुखमा ईंटाले लाग्यो । यादवनाथ आलोक र रामप्रसाद चौधरीलगायतका घाइतेहरुलाई लडियामा राखेर हामीले बुटवल पुर्‍याँयांै । नेताहरुलाई पनि जोगाएर घरको बुइँगलमा लुकायौं । पछि शान्त भएपछि रुपन्देहीको समेरा हुँदै गिरिजाबाबुलाई मैले बुटवल पुर्‍याएको हुँ ।

यस घटनाका योजनाकार पञ्च नै यतिबेला नेताहरुलाई रिझाएर नेपाली कांग्रेसको साझा उम्मेदवार बनेका छन् । उनी, सिडिओ र अञ्चलाधीशसहितले मण्डले प्रयोग गरेर नेताहरु सखाप पार्ने योजना बनाएका हुन् । आलोकका हत्यारा, आदरणीय सीता भाउजूको सिन्दुर पुछ्नेलाई काँधमा बोकेर हिँड्न सकिएन, त्यसैले अहिले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।

अर्जुन गिरी, कांग्रेस नेता एवं घटनाका प्रत्यक्षदर्शी

त्यसबेला पञ्चहरुले घर घेरे । आलोकको हत्या भयो । त्यो घटनामा मृत्यु भएका आलोको अस्तु बनारस लिएर जानेमध्येको एक म पनि हुँ । त्यतिबेला म नेविसंघको कार्यकर्ता थिएँ । घटना घटेको घर पुष्पानन्द मेरा फुपाजुको घर हो । यो घटनाको मुख्य नाइकेले अहिले देशको विकास र जनताको सुरक्षा गर्छु भन्नु हास्यापद छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment