Comments Add Comment

प्रेस रिभ्यूः देउवा भन्छन्- मै प्रधानमन्त्री, प्रचण्ड भन्छन्- ५० वर्ष कम्युनिष्ट सरकार

१७ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले आगामी निर्वाचनकै विषयबस्तुलाई पहिलो समाचार बनाएर पहिलो समाचार छापेका छन् ।

कान्तिपुर दैनिकले निर्वाचन लक्षित बम विस्फोटका घटनामा संलग्नता कसको छ भनेर खुट्याउने प्रयास गरेको छ । साथै फेरि पनि आफू नै प्रधानमन्त्री बन्ने कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिलाई पनि प्राथमिकता दिइएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफै प्रधानमन्त्री बन्ने बताएको समाचार कान्तिपुरले लेखेको छ । समाचारमा लेखिएको छ, ‘कांग्रेसले जिते फेरि प्रधानमन्त्री मै हुन्छु । यस ठाउँका लागि मैले गर्छु कि पूर्वका केपी ओली वा प्रचण्डले गर्लान् ? त्यसकारण यहाँका जनताले कांग्रेसलाई जिताउनु आवश्यक छ ।’

यसैगरी आगामी चुनावमा चितवनको माडीको ‘खास लडाइँ’लाई पनि कान्तिपुरले केलाउने प्रयास गरेको छ ।

कान्तिपुरले निर्वाचन लक्षित बम विस्फोटका घटनामा संलग्नता कसको छ भनेर खुट्याउने प्रयास पनि गरेको छ ।  बम विष्फोटमा प्रहरीले विप्लव माओवादीको संलग्नता छ भनेर प्रहरीले बताइरहे पनि सरकार (गृह मन्त्रालय)ले भने मुख खोल्न नसकेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचन विरोधी तत्व’का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले सन्त्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।

अब ५० वर्ष कम्युनिष्टको सरकारः प्रचण्ड

राजधानी दैनिकले दलहरुले चुनावको आन्तरिक मूल्यांकन गरिरहेको समाचारलाई प्रमुख स्थान दिएको छ । समाचार अनुसार वाम गठबन्धनले दुई तिहाइ, लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमत र मधेसवादी दलले केन्द्रमा बलियो उपस्थिति जनाउने आंकलन गरेका छन् ।

राजधानी दैनिकले तेस्रो पृष्ठमा माओवादी अध्यक्ष प्रचण्डले अब ५० वर्षसम्म कम्युनिस्टको सरकार रहने दावी गरेको समाचारलाई पनि स्थान दिएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै प्रचण्डले दोस्रो चरणको निर्वाचनलगत्तै दुई तिहाइ बहमुतसहित वाम गठबन्धनको सरकार बन्ने र पाँच वर्ष जनताको पक्षमा राम्रो काम गरेसँगै ५० वर्ष कम्युनिस्टको सरकार चलाउने योजना रहेको बताए ।

९९ प्रतिशत विप्लव कार्यकर्ता पक्राउ

नयाँ पत्रिका दैनिकले दोस्रो चरणको चुनावमा दलहरुबीचको गठबन्धनले शीर्ष र चर्चित नेताको क्षेत्र पेचिलो बन्दै गएको र चुनावमा रोचक भिडन्त हुने समाचारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यससँगै चुनावमा सुरक्षा चुनौती बढेपछि रणनीति परिवर्तन गरिएको विषयलाई प्राथमिकता दिइएको छ ।

सुरक्षाकर्मी थप सशक्त रुपमा प्रस्तुत हुने, चेकजाँच र खानतलासी बढाउने, अनुसन्धानमा थप जनशक्ति परिचालन गर्ने र सुरक्षा निकायहरुबीच समन्वय बढाउने निर्णय सरकारले गरेको समाचारमा उल्लेख छ ।

हाल निर्वाचनमा एक लाख ७७ हजार सुरक्षाकर्मी परिचालित छन् । र चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पक्राउ पर्नेहरु ९९ प्रतिशत विप्लव माओवादीका रहेका छन् ।

अब पढाउन लाइसेन्स चाहिने

नयाँ पत्रिका दैनिकले नै शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको हो ।

समाचारमा लेखिएको छ- आयोगले शिक्षकलाई अहिलेसम्म तहगत मात्र लाइसेन्स दिने गरेको छ । आयोगका अनुसार तहगत रूपमा लाइसेन्स दिँदा विषयवस्तुमा राम्रो ज्ञान भएका शिक्षक कम आउने गरेका छन् ।

‘शिक्षाको गुणस्तरीयताका लागि शिक्षकलाई विषयको किटान गरेर लाइसेन्स दिनुपर्ने अवस्था छ, निमाविदेखि माथि विषयगत रूपमा लाइसेन्स दिनुपर्छ भन्नेमा लागेका छौं,’ आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले भने ।

विषयगत लाइसेन्स दिने विषयमा छलफल सुरु भइसकेको र थप छलफल गरेर यस विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ छ । लाइसेन्स दिँदा प्रत्येक पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्नेसमेत व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

अमेरिकी डलर दुई महिनायताकै कमजोर

परिवर्तनीय (संसारको धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर दुई महिनायताकै कमजोर भएको समाचारनागरिक दैनिकले अार्थिक पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ- नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ । कमजोर डलरका कारण आयातित बस्तु सस्तोमा पाइने सम्भावना बढेको छ । यसले गर्दा उपभोक्तालाई राहत पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।

र यो पनि- शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा र मकै

अन्नपूर्ण पोष्टले  मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइलाबाट सेकुवा र मकै पोलेर बिक्री हुने गरेको समाचार छापेको छ ।

समाचारमा लेखिएको छ- धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।

 शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन् ।

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन् । उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment