हवाई जहाजमा भैरहवावाट काठमाडौं आउदै थिइन्, दुर्गा खरेल । जसै जहाजले रनवे छाड्यो, बेपत्तासँग हल्लन थाल्यो । उनले झ्यालबाट बाहिर चिहाइन् । मुसलधारे पानी परेको छ । उनले आसपासमा बसेका यात्रुहरुतर्फ आँखा दौडाइन् । सबै उदास, हतास, त्रासद !
‘अन्तिम दिन आजै रहेछ कि क्या हो ?’ आत्तिइन् । उनले आँखा चिम्लिइन् । त्यसबेला उनको स्मृतिमा आमाको सग्लो रुप प्रकट भयो ।
हतार हतार ब्याग भित्र रहेको हनुमान चालिसा झिकेर पढ्न थालिन् । उनको ब्यागमा जहिल्यै हनुमान चालिसा हुने ।
‘हवाइ जहाज चढ्नु भनेपनि मरेजत्तिकै हुन्छ’ दुर्गाले सुनाइन्, ‘जहाजले रनवे छाडेपछि मेरो मनमा चैन हुँदैन ।’
दूर्गा खरेल । चिनाइरहनु परेन गायिका हुन् । गीत गाउने भएपछि कन्सर्टको क्रममा कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्छ । तर, यात्रा कति कष्टकर Û
हवाई यात्रामा मात्र हो र ? बसमा समेत उनलाई चैन हुन्न । बसको हर्न बज्नसाथ पेटभित्र हुण्डरी आउन सुरु हुन्छ । ‘हर्न बजेको सुन्ने बित्तिकै मलाई त वाकवाकी लाग्न सुरु हुन्छ’ बस यात्राको अनुभव सुनाउदै भन्छिन् ‘बस चढेको पाँच मिनेट बित्न नपाउदै प्लाष्टिक चाहिहाल्छ ।’
गाडीमा, हवाइजहाजमा वा भनौ यात्राको क्रममा हुने यस किसिमको समस्यालाई मोसन सिकनेस भनिन्छ । मोसन सिकनेसले दुर्गा खरेलको यात्रा अक्सर अमिलो बनिदिन्छ ।
फ्ल्यासब्याकः नेपाली तारा एउटा प्रवेशद्वार
गोरो वर्णकी दुर्गा चिटिक्क परेर स्कुल जान्थिन् । स्कुलमा हुने अतिरिक्त कार्यक्रममा उनको उपस्थिती अनिवार्य हुन्थ्यो । ‘दुर्गाले आज कुन गीत गाउछिन् ?’ शिक्षकहरुले सोध्थे । दुर्गा फुरुङ्ग हुँदै गाउथिन् । स्कुल तह सकियो । सबै साथीभाई लाखापाखा लागे । उनी लागिन् काठमाडौं । नाइटबसमा १७ घण्टाको यात्रा छिचोलेर थानकोट प्रवेश गरिन् । र, राजधानीको हुलमा मिसिइन् ।
एकदिन उनका नातेदार सामिप्यराज तिमल्सेनाले सुझाए ‘नेपाली तारा सुरु हुन लागेको छ, जाउ र्फम भर ।’ अन्तिम दिन । र्फम भरिन् ।
आफ्नै गीतमा झुलुक्क देखिएकी दुर्गालाई मोडलिङको रुची खासै छैन । उनी आफैंलाई थाह छ, ‘अलि होची छु ।’
नेपाली तारमा छनौट भइन् । त्यही उनले संगीतको आरोह-अवरोह बुझिन् । एक बर्षसम्म नेपाली तारकाको समूहमा बसिन् ।
केबल संगीत मात्रै सिकाइदैनथ्यो । मान्छेहरुसँग कसरी बोल्नेदेखि स्टेजमा कसरी प्रस्तुति दिने भन्ने वारेमा प्रशिक्षण दिइन्थ्यो । उत्कृष्ठ ६ मा पुगेकी दुर्गालाई अहिले पनि सम्झना छ धर्मेन्द्र सेवान वाहिरिँदा निकै नरमाइलो लागेको थियो । सबै सहकर्मीलाई अब्बल मान्ने दुर्गा धर्मेन्द्रको स्वरवाट निकै प्रभावित थिइन् ।
कान्छी, तँलाई सञ्चो त छ ?
‘खै त कान्छी आज त फोन गरिनस् ? माया मारिस कि क्या हो ?’
बेलाबखत आमाको फोन आउँछ, झापाबाट । अक्सर उनी आमासँग जोडिएकै हुन्छिन् । दिनदिनै फोन गर्छिन् । यदकदा भने कामले अलमलाउँछ । आमासँग कुरा गर्ने फुर्सद मिल्दैन । त्यसबेला आमाको गुनासो सुनिन्छ, ‘माया मारिस् कि क्या हो ?’
‘कहाँ माया मार्नु नि बिजी थिँए ।’
आमाको अर्को प्रश्न ‘आज सपना नराम्रो देखेको थिँए बिरामी भइस् कि क्या हो ?’
‘मलाई ठिकै छ ।’ आफुलाई सामान्य समस्या हुँदा पनि आमाले बढी चिन्ता गर्ने कारण झुट बोल्ने गरेको उनी बताउँछिन् । तर, आमालाई झुक्याउन त्यति सजिलो भने छैन ‘सञ्चो छैन जस्तो छ आज तेरो स्वर अर्कै छ ?’ आमाले फेरि भनेपछि उनी वाध्य हुन्छिन् । सामान्य हो ठिक छ भन्न ।
चरा जस्तै भुर्र उड्न पाए ?
उनलाई पुर्नजन्ममा विश्वास छैन । फेरी त्यहि अवसर मिल्यो भने अहिलेकै आमाको छोरी हुन पाउँ भन्ने लाग्छ । संसारमा भएका प्राणी मध्ये सबै भन्दा स्वतन्त्रता चराले उपभोग हो जस्तो लाग्छ, उनलाई । के शहर के गाउँ कुनै बन्देज छैन उनीहरुका लागि । उनि भन्छिन् ‘ति चराहरु विवेकशील पनि छन् उनीहरु विचमा कहिल्यै जातको लागि झगडा हुन्न् र कहिल्यै सम्पत्तिका लागि भिड्दैनन् पनि’ उनले भनिन् ।
आफ्नै गीतमा झुलुक्क देखिएकी दुर्गालाई मोडलिङको रुची खासै छैन । उनी आफैंलाई थाह छ, ‘अलि होची छु ।’
कुनै दिन कुनै निर्देशकले हिरोइन बन्ने प्रस्ताव राख्यो भने हिरोका लागि आर्यान सिग्देल प्रस्ताव गर्ने योजनामा छिन् ।
एल्बमको गीत फिल्मलाई
सम्भवत त दुर्गाको नयाँ एल्बम आइसक्थ्यो अहिले । ‘त्यो काले काले…’ बोलको गीतले थप चर्चा पाएकी दुर्गा लगत्तै नयाँ एल्बमको तयारीमा जुटिन् । केही गीत रेकर्ड पनि गराइन् । उनलाई लाग्यो गीत पहिलाको भन्दा पनि राम्रो बन्यो । त्यही राम्रो भएकै कारण हुन सक्छ ति गीत एल्बममा राख्न नपाउने भइन् ।
उनका त्यो गित फिल्म निर्देशकको रोजाईमा पर्यो । ‘एल्बमका लागि गाएको गीत फिल्मका दाइहरुले लगेपछि मेरो एल्बम ढिला भयो ।’ दुर्गाले भनिन् । एल्बमकै लागि भनेर नयाँ गीत रेकर्ड गराएकी दुर्गा ढिलोमा दुई महिनापछि नयाँ एल्बम आउने बताउछिन् । ‘अब आउने गीत पहिलाको भन्दा अब्बल हुने छ ।’ यो पनि दावी गरिन् ।