Comments Add Comment

आजका पत्रिकाः चुनावको अन्तिम रस्साकसी

१८ मंसिर, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले भिन्न विषयबस्तुलाई पहिलो समाचार बनाएर छापेका छन् । तर चुनावकै समाचारले प्राथमिकता पाएका छन् किनकी आज चुनाव प्रचारको अन्तिम दिन पनि हो ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अन्तर्वार्ताको अंशलाई पहिलो पृष्ठमा छापेको छ ।

कुराकानीको क्रममा प्रधानमन्त्री देउवाले आफूहरु धेरै नबोल्ने र बोलेको कुरा पूरा गर्ने बाचा गरेका छन् । उनले प्रतिस्पर्धी दललाई तुच्छ गाली नगर्ने बताएका छन् । किनकी भोलिका दिनमा फेरि मिलेर जानुपर्ने विकल्प दलहरुलाई रहँदैन ।

अब नेपाल कसैले खोस्न नसक्ने लोकतन्त्रको युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री देउवाले कम्युनिस्टलाई उसको बोलाइबाट नभइ काम गराईबाट नाप्नुपर्ने धारणा राखेका छन् । उनले सुन्दा मीठो लागे पनि नेपालजस्तो विविधताको देशमा राष्ट्रपतीय प्रणाली थाम्न सकिन्छ कि सकिँदैन भन्ने कुराको बिचार पुर्‍याउनुपर्ने बताएका पनि छन् ।

उनले माओवादी अध्यक्ष प्रचण्डले अचानक कुरा फेरेको तर उनको व्यवहारको विषयमा अहिल्यै धेरै बोल्न नचाहेको बताएका छन् । एमाले अध्यक्ष ओलीको लडाइँ लोकतन्त्रका लागि थियो कि कम्युनिस्ट शासनका लागि भन्ने कुरा आगामी दिनले फैसला गर्ने पनि देउवाले बताएका छन् ।

चुनावमा हिंसात्मक गतिविधि भइरहेको सन्दर्भमा प्रधानमन्त्री देउवाले भनेका छन्- अब चुनावपछि सर्वदलीय सहमति गरेर एउटा फैसलामा पुग्नैपर्छ, हिंसात्मक गतिविधिको सामना कसरी गर्ने, कि वार्ता गर्नुपर्‍यो कि मुकाबिला ।

प्रचण्डप्रति यस्तो छ देउवाको दृष्टिकोण

दोस्रो चरणको निर्वाचन प्रचारको अन्तिम रस्साकसीमा दलहरु रहेका बेला कान्तिपुर दैनिकले पनि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ताको अंशलाई पहिलो पृष्ठमा स्थान दिएको छ । प्रधानमन्त्री देउवाले चुनावमा कांग्रेसको बहुमत आउने र ओलीले वाम गठबन्धन दुई तिहाइकै आसपास पुग्ने आंकलन गरेका छन् ।

ओलीले अब मुलुकको नेतृत्व आफूहरुले गर्ने भने पनि देउवाले अधिनायकवादको सपना नदेख्न चेतावनी दिएका छन् । देउवाले माओवादी केन्द्रसँग कुनै तिक्तता नभएको पनि बताएका छन् ।

एमालेले मदन भण्डारीलाई बिर्सियो !

कान्तिपुर दैनिकले सत्रौं पृष्ठमा चुनाव प्रचारको क्रममा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई एमालेले बिर्सिएको समाचार छापेको छ । विगतमा हरेक चुनावी कार्यक्रममा मदन भण्डारीको तस्वीर झुण्ड्याउने एमालेले आजभोलि भण्डारीको सट्टा पार्टी अध्यक्ष केपी ओलीको तस्वीर राखेको प्रसंग समाचारमा छ ।

समाचारमा लेखिएको छ- २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावका प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रुपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ । प्रयोगमा ल्याइएका तुल, ब्यानर, पोस्टर र श्रव्य-दृष्यलगायत कुनै सामग्रीमा भण्डारीको तस्वीर देखिँदैन ।

ज्वरोले लियो १२ को ज्यान

नयाँपत्रिका दैनिकले मुगु जिल्लामा ज्वरोको प्रकोप फैलिएको र हालसम्म १२ जनाको मृत्यु भएको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । मुगुका खत्याड, रोरु, गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोट लगायत गाउँमा ज्वरोको प्रकोप फैलिएको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिंगाटा लाग्ने, बान्ता आउने, आँखा दुख्ने, खाना नरुच्ने लगायतका लक्षण बिरामीमा देखिएको छ ।

तर स्वास्थ्य संस्थामा औषधि छैन । निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले भने औषधि किन्ने बजेट नभएको बताएका छन् ।

नयाँ पत्रिकामै सरकारी वकिलले हेरेका ९ हजार मुद्दा फर्स्योट नभएका समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा स्थान दिएको छ ।

र, यो पनि – घर खाली गर्न सजिलो छैन घरबेटीलाई

नयाँ पत्रिकाले घर खाली गराउन घरबेटीलाई सजिलो नहुने गरी कानुन बनेको समाचारलाई पनि स्थान दिएको छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहाल सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।

समाचारमा लेखिएको छ- आफैलाई घर आवश्यक भएमा बहालमा बसेकालाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनैपरे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२को उपदफा ४ मा उल्लेख छ ।

हेर्नुहोस् आजका पत्रिकाको फ्रन्ट पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment