Comments Add Comment

रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा

१८ मंसिर, बुटवल । रुपन्देहीका अन्य क्षेत्रमा कांग्रेस र मधेसी दलहरुसँग प्रतिस्पर्धा गरिरहेको वाम गठबन्धनले क्षेत्र नम्बर २ लाई ‘सेफ जोन’मा राखेको छ । एमाले उपमहासचिव विष्णु पौडेल हृयाट्रिक जितको प्रयासमा छन् । स्थानीय तहको मत र माओवादीको साथले परिस्थिति उनको अनुकुलमा देखिन्छ ।

तर, पौडेललाई सजिलै जित्ने दिने पक्षमा कांग्रेस छैन । कांग्रेसले युवराज गिरीलाई उम्मेदवार बनाएको छ ।

गिरी कांग्रेसका पुराना नेता पुष्पानन्दका छोरा हुन् । नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा आएका गिरी यो पटक बुटवलमा कांग्रेसलाई ‘कमब्याक’ गराउने दाबी गर्छन् । बुटवलमा एमालेले विकास गर्न नसकेको र जनताको विश्वास आफूले जितेको भन्दै उनी भन्छन्, ‘यो पटक कांग्रेसको कमब्याक हुन्छ ।’

गिरीका प्रतिस्पर्धी एवं पूर्वअर्थमन्त्री एमाले नेता पौडेल भने आफ्नो जितप्रति ढुक्क देखिन्छन् । रुपन्देहीलाई विकासको नमूना बनाउने योजना सुनाउँदै उनले भने, ‘बुटवलबासीले मेरो विकल्प खोज्लान् जस्तो मलाई लाग्दैन ।’

प्रदेशसभातर्फ एमालेले लिला गिरी र निवर्तमान जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट कमा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंह र खमा काजीमान श्रेष्ठ उम्मेदवार छन् ।

सुकुम्बासीको भोट निर्णायक

बुटवलको निर्वाचनमा सुकुम्बासी भोटलाई निर्णायक मानिन्छ । चुनावी मैदानमा भएका सबै उम्मेदवारले सुकुम्बासीको मत तान्ने अनेक उपाय अपनाउने गरेका छन् ।

झण्डै १५ हजारको संख्यामा रहेका उनीहरुलाई निर्वाचनका बेला लालपूर्जा दिलाउने आश्वासन दिइन्छ । तर, जितेपछि फर्किएर नआउने गरेको उनीहरुको गुनासो छ ।

बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता वडा नम्बर ११ देविनगरमा छ । सुकुम्बासी बस्ती रहेको यो वडामा १३ हजार ८८७ मतदाता छन् ।

हालै सम्पन्न स्थानीय निकायको निर्वाचन मत परिणामअनुसार एमाले-माओवादीको मत ३६ हजार दुई सय ७९ रहेको छ भने कांग्रेस-राप्रपाको २१ हजार पाँच सय ४१ छ । यो क्षेत्रमा जनमुक्तिले दुई हजार सात सय ४५ मत ल्याएको थियो । यहाँ १ लाख ५ हजार २ सय छ मतदाता रहेका छन् ।

विवेकशील साझा संगठन बनाउँदै

रुपन्देही २ मा विवेकशील साझा पार्टीबाट हरिकृष्ण अधिकारी चुनावी मैदानमा छन् । सु-संस्कृत राजनीति मार्फत् समृद्धि हासिल गर्ने उद्देश्यले चुनाव लडेको उनी बताउँछन् । तर, विवेकशील बुटवलमा भर्खर संगठन निर्माणको क्रममा रहेको पार्टी हो ।

नयाँशक्ति पार्टीका मनिकर कार्की उम्मेदवार छन् । एक दशकदेखि पत्रकारिता तथा लेखनमा संलग्न कार्की सबै पेशागत जिम्मेवारी छाडेर राजनीतिमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment