Comments Add Comment

प्रसन्न मुद्रामा उपेन्द्रले भने–मेरो प्रतिस्पर्धी कोही छैन

१८ मंसिर, सप्तरी । उम्मेदवारी दर्ता गराएदेखि नै दवाबमा रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शुन्य समयको अघिल्लो दिन प्रसन्न मुद्रामा देखिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका यादव खुशी मात्रै देखिएनन्, राम्रोसँग जित्ने विश्वास समेत व्यक्त गरे ।

सोमबार बिहान पत्रकारहरुसँग सदरमुकाम राजविराजमा भेटघाट गर्दै अध्यक्ष यादवले भने, ‘मेरो प्रतिस्पर्धी समेत कोहि हुने छैनन् । म राम्रोसँग जित्न गइरहेको छु ।’

यादवले जनताले आफूलाई धेरै माया गरेकाले बिना प्रतिस्पर्धीकै आफूले जीत हात पार्ने बताए । उनले भने, ‘धनुषा क्षेत्र नम्बर ३ मा पनि मधेशी गठबन्धनकै उम्मेदवार राजेन्द्र महतो जित्ने पक्का छ ।’

उनले प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत आउने दाबी गरे । ‘यो प्रदेशमा फोरम र राजपाको सरकार बन्नेछ’ यादवको दाबी छ ।

२ नम्बर बाहेक अन्य प्रदेशमा पनि मधेसी जनताले मधेसवादी दललाई नै मत दिने बताउँदै उनले आफूहरुले उल्लेख्य सिट ल्याउने बताए । ‘प्रतिनिधि र प्रदेशसभामा पनि हाम्रो सम्मानजनक स्थान आउँछ’, अध्यक्ष यादवले भने, ‘हामी मजबुत अवस्थामा रहन्छौं ।’

यद्यपि मधेसी गठबन्धनले कति सिट जित्ने ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘अहिले संख्यामा नभनौं, पछि हेरिहाल्नुहुन्छ ।’

सप्तरीलाई नयाँ जीवन दिन उम्मेदवारी

अध्यक्ष यादवले आफू सप्तरीलाई नयाँ जीवन दिन उम्मेदवार बनेको बताएका छन् । जिल्लाको अवस्था जर्जर देखेर आफू यहाँ सप्तरीबासीको आग्रहमा उम्मेदवार बनेको बताए ।

आफ्नो जन्मेको ठाउँ भएपनि आफू मोरङ र सुनसरीबाट यसअघि चुनाव जितेको बताउँदै उनले अब सप्तरीलाई समृद्ध बनाउनेतर्फ आफूले ध्यान दिने बताए ।

‘राजविराजको केही दूरीमै भारतको चार लेनको सडक छ, राजविराज भने जीर्ण छ’ अध्यक्ष यादवले भने, ‘चार लाइनको सडकसँग राजविराजलाई जोडिए यहाँको विकास तीब्र गतिमा हुन्छ ।’

राज्यले जिल्लामा लगानी गर्न नचाहेका कारण पछि परेको बताउँदै उनले भएको सम्भावनालाई पनि उपयोग नगरिँदा विकास हुन नसकेको बताए । ‘यहाँ विकासका धेरै सम्भावनाहरु छन्’, उनले भने, ‘सबै सम्भावनालाई उपयोग गर्दै अगाडि बढ्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment