Comments Add Comment

भद्रगोल काठमाडौं ! फुटपाथमा पार्किङ, बीच सडकमा पोल


१९ मंसिर, काठमाडौं । सडकमा सवारीको निर्वाध आवागन हुनुपर्छ र फुटपाथमा पैदलयात्रुको पनि । तर, राजधानी काठमाडौंको सडक र सडकपेटी भने न सवारीमैत्री छन्, न पैदलयात्रुमैत्री । स्थानीय जनप्रतिनिधि पाइसकेको राजधानीले काँचुली फेर्ने कुनै संकेत देखिएको छैन ।

विकासका काममा बेथिति र भद्रगोल कुन हदसम्म छ भन्ने प्रमाण सडक र सडकपेटीलाई एकसोरो नियाल्दा नै भेटिन्छ । एक वर्षमा काठमाडौंका सडकमा विभिन्न निकायले ६ अर्बभन्दा बढी खर्चन्छन् ।

यतिको बजेट खर्चिँदा पनि ठेकेदाहरु समय-समयमा कामको समयमै भुक्तानी नभएको भन्दै आन्दोलनमा उत्रिन्छन् । अहिले पनि विभिन्न आयोजनाका ठेकेदारहरु भएको कामको भुक्तानी नभएको भन्दै विभागमा ठेकेदारहरु दैनिजसो हुल बनाएर धाइरहेका छन् । काम कति भएको छ भन्ने त सडकमा देखिहालिन्छ ।

सडक विभागअन्तरगतका दुईवटा सडक डिभिजन, काठमाडौं महानरपालिका, उपत्यका विकास प्राधिकरण, काठमाडौं सडक विस्तार आयोजना, काठमाडौं दिगो शहरी यातायात सुधार आयोजना, एकीकृत बाग्मती सभ्यता विकास समिति, काठमाडौं चक्रपथ सुधार आयोजना, सडक सुधार योजना लगायतका निकायले सडक सुधारका लागि काम वर्षैभरि गर्छन् ।

यी सबैले खर्चने अर्बौं बजेटले काठमाडौंको भीआईपी सवार हुने सडकलाई पनि सुधार्न सकेको छैन । मेलम्चीको पाइप बिछ्याउने कामले सडक बिग्रिएको बाहना गरिरहेका यी निकायले अझै पनि अनेकन तर्क तेस्र्याएर सडकलाई त्यतिकै छाडिएको छ ।

हेलचक्र्याइँको तथ्य कागजमा खोजिरहनु पर्दैन, दैनिक सडकमा आवत-जावत गर्नेले भोगेकै छन् । बरु, कागजमा भने सुधारका कामका फेहरिस्त तयार छन् । फिल्डमा भने सडकको हालत लाजमर्दो र जोखिमयुक्त छ ।

गिज्याउँदै बिजुलीको पोल

सुधारको काम भएका सडकको पनि हालत खराब छ । उदाहरणका लागि गोल्कोपाखाबाट समाखुसी जोड्ने सडकलाई हेरौं ।
यो सडकको विस्तारको काम सकिएको छ । पिच पनि भइसक्यो । पेटी पनि बनिसक्यो ।

तर, सडकको बीचमै बिजुली र टेलिकमका पोल खडा भएर बसेका छन् । अरुको कुरा छाडौं, सर्वसाधारणले आफ्नो घरमा तार टाँगेर लैजान पाडेका ग्रीलका पाइप पनि सडककै बीचमा छन् ।

यो सडकमा पछिल्ला दिनमा सवारी दुर्घटना बढेका छन् । कारण हो, विस्तारपछि सडकको बीचमा परेको पोललाई हटाउन कसैले ध्यान दिएन ।


यो पोल सार्ने काम विद्युत प्राधिरकण र नेपाल टेलिकमको हो । प्राधिकरणले प्राविधिक कारणहरु देखाउँदै पोल सार्न सकेन ।
त्यसको झोंकमा डिभिजन सडक कार्यालय काठमाडौंले पोल नहटाउँदै पिच हाल्दैछ ।

सडकमा ट्राफिक लाइनहरु पनि रेखाङ्कन पनि गर्दैछ । अब पोल उप्काउना साथ सडकमा नयाँ भ्वाङ पर्नेछ । त्यसपछि त्यसलाई टाल्न अर्बौं बजेट निकासाको तयारी गर्नुपर्छ ।

बीचमा ठडिएका पोलका कारण सडकमा अझै ढुक्कसँग यात्रा गर्ने अवस्था छैन ।

‘पिच त हालियो । पोल बीचबाट हटाइएन । यसले हामीलाई यहाँ बस्न नै डरमर्नु भएको छ’ कपुराधाराका स्थानीय ब्यापारी सन्दीप शिल्पकारले भने,’पोलमा आएर बाइक ठोक्किन्छन् । आँखै नहेरी बाइक चलाउनेले पोलमा ठोकेर कहिले हाम्रो पसलभित्रै छिर्छन् कि भन्ने डर छ ।’

समाखुसी, टोखा, बालाजुलगायत रुटमा चल्ने माइक्रो पनि यही बाटोबाट चल्छन् । तीव्र गतिमा माइक्रो हाँक्ने चालक पनि पोलले दुर्घटनाको जोखिम बढाएको बढाउँछन् ।

‘सडक विस्तार भएपछि सजिलो होला भनेको । पोल नसरेपछि विस्तार गर्नु/नगर्नुको कुनै अर्थ नै छैन,’ माइक्रो चालक सुमन लामाले भने,’हाम्रो विकासको मोडल यस्तै रहेछ ।’


काठमाडौंको रिंगरोडमै पनि बीचमै पोलहरु भेटिन्छन् । भित्री सडकहरुमा त झन यस्तो समस्या धेरै छ ।
सडक डिभिजन-२ काठमाडौंका प्रमुख देव तामाङ विद्युत् प्राधिकरण र नेपाल टेलिकमलेको ढिलासुस्तीका कारण पोल नसरेको बताउँछन् ।

‘ठेक्काको म्याद सकिने बेलासम्म पनि पोल हटाइएन । त्यसैले धुलो-हिलो कति राख्ने भनेर पिच गर्‍यौं,’ तामाङले भने,’सडक विस्तार भएपनि जोखिम भने रहिरह्यो । अब प्राधिकरणले चाँडै हटाउँछु भनेको छ ।’

उनले धपासी क्षेत्र लगायत विस्तार गरिएका धेरैजसो सडकमा यो समस्या रहेको स्वीकारे ।

‘खाल्डो शहरमा खाल्डै खाल्डा’

काठमाडौंका सडकको बेथिति बयान गर्दा खाल्डाको प्रशंग छाड्न मिल्दैन । काठमाडौंमा त्यस्ता कुनै सडक नै छैनन्, जुन खाल्डारहित छ । चुनाव लागेपछि भने खाल्डा टालटुल गर्ने काम महानगरपालिकाले थालेको छ ।

भीआईपी हिँड्ने सडकमा पनि खाल्डाको कमी छैन भने सर्वसाधारण मात्रै यात्रा गर्ने सडकको हालत बयान गरिनसक्नुछ ।
काठमाडौंमा रिंगरोडसहित सबैजसो सडक खाल्डामय हुँदा पनि त्यसलाई पुर्न कसैको ध्यान गएको छैन ।


अब सडकका खाल्डालाई जिम्मेवार निकायले पनि समान्य रुपमा लिन थालिकसकेका छन् । सर्वसाधारणले पनि सडकका सबै खाले दूदर्शालाई पचाइसकेका छन् ।

वर्षामा सडकको खाल्डा पुर्दा खर्च मात्रै हुने तर्क गरेका महानगरपाालिकाका मेयर विद्यासन्दर शाक्यले हिउँद लागिसकेको पत्तो पाउन चुनावसम्मै कुर्नुपर्‍यो ।

त्यसैले बर्षाभरि सडकमा हिलो र पोखरीको नियती भोगेका सर्वसाधरण अब धुलोलाई ‘साथी’ बनाउँदैछन् ।

यसले दुर्घटनाको जोखिम मात्रै बढाएको छैन, वातावरण र मानवस्वास्थ्यमा पनि ठूलो असर गरिरहेको तथ्य जिम्मेवार बन्नुपर्ने गैह्रजिम्मेवारहरुले फिक्का बनाएका छन् ।

महानरपालिकासहितका जिम्मेवार निकायहरु अब सडकको खाल्डा पुर्ने कामका लागि टेण्डरको प्रक्रियामा लागेको बताइरहेका छन् ।

समयमै काम हुने हो भने यो समयसम्म टेण्डरको प्रक्रिया सकिएर काम अर्को बर्षा सुरु भइसक्नुपर्ने हो ।

‘सडकको बेथितिले सबै हैरान छन् । जिम्मेवार अधिकारीहरु पनि यसबाट पीडित नै छन्’ बालाजुका स्थानीय कृष्ण राजबंशी भन्छन्, ‘बोध भएर पनि काम नगर्ने संस्कृति बसेको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि के-के न होला भन्ने थियो, उनीहरु नै को-कोसँग मिलेर झन भद्रगोल बनाए ।’

जिम्मेवार निकाय भने सडकको बेथितिको सबै दोष मेलम्चीलाई दिएर बसेका छन् । सडक डिभिजन कार्यालय काठमाडौं-१ का प्रमुख मुकुन्दराज अधिकारी अझै ३ वर्ष मेलम्चीकै कारण सडकको अवस्था नसुध्रिने बताउँछन् ।


‘काम गर्न धेरै समस्या छन् । हामीले सडकलाई चुस्त बनाउने गरी काम गर्न पाएका छैनौं,’ अधिकारीले भने,’सडकलाई अहिलेको अवस्थामा ल्याउन पनि हामीले धेरै मिहिनेत गरेका हौं ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेनद्र कार्की पनि अब सडक सुधारका काम अघि बढेकोर अब फटाफट सबै सडकमा सुधार हुने रेडिमेड उत्तर दिन्छन् ।

एम्बुस थाप्दै सडक

काठमाडौंका सडक धराप थापेर बसेका छन् । विभिन्न स्थानमा बिजुली, केबल र टेकिलमका तारहरु लत्रिएका छन् । त्यसैका कारण कतिबेला सडकमा दुर्घटनामा परेर कसले ज्यान गुमाउँछ भन्ने पत्तो छैन ।

गएको बर्षामा सामखुसीमा बालिका सत्या सापकोटा ढलमा बगेको घटनालाई पाठका रुपमा लिएर अघि बढ्नुपर्ने निकायहरुले अझै आँखा चिम्लिरहेका छन् ।

सडकका छेउका ढल छोप्ने काम नभएकोमा सामखुसीका स्थानीय रुष्ट छन् । सापकोटा बगेको नाला क्षेत्रलाई रेलिङले बार्ने मेयरको कामलाई उनीहरुले ‘मूर्खता’को संज्ञा दिइरहेका छन् ।

भित्री शहरमा मात्रै हैन, राजधानीको मुटु रत्नपार्कमा पटक-पटक गाडी दुर्घटनामा पारिरहेको एउटा मामुली सानो ढलको खाल्डोलाई ढक्कन लगाउन कसैले चासो देखएका छैनन् ।


‘धेरैपटक बाइक र गाडी यो खाल्डोमा परिसकेको छ । एउटा फलामको ग्रील लगाएर ढाक्दा हुन्थ्यो,’ रत्नपार्क व्यवसायी सुमन राजथला भन्छन्,’कसैलाई मतलवै छैन, थाहा त सबैलाई छ नि ।’

रिंगरोडसहितका मुख्य सडकहरुमा त खुला ढल बगिरहेकै छन् । त्यसले प्रदुषण मात्रै बढाएको छैन, दुर्घटनाको जोखिम उच्च बनाएको छ । सडकका बीच भागमा रहेका निर्माणका क्रममा अलपत्र छाडिएका विभिन्न फलामजन्य धरापहरु त्यत्तिकै छाडिएका छन् ।


ठाडो परेर सडकमा ‘एम्बुस’ जस्तो बनेका छडहरु काट्ने र बंग्याउने काममा स्थानीय पनि चासो दिँदैनन् ।

सडकमा पार्किङ मस्ती

सडकमै हुने पार्किङ पनि सडकको अर्को समस्या बनेको छ । महानगपालिका र ट्राफिक प्रहरी यसलाई व्यवस्थित गर्ने मामिलामा चुकेका छन् ।

विस्तार भएका सडक र कोरिडोर सडकहरु अहिले पार्किङ गर्ने राम्रो स्थल बनेका छन् । पे-पार्किङ भनेपछि तर्सिने गाडी मालिकहरु सकेसम्म सडकमै दिनभर गाडी रोक्न पाए दंग पर्छन् ।


दैनिक गाडीको संख्या बढ्दै गर्दा पार्किङको प्रवन्ध गर्न सरकार चुकेको छ । गाडी किन्नेहरुलाई पनि पार्किङस्थलको जोहो गर्नु नै छैन । किनभने-सडकमा पार्किङ गर्न पाइएकै छ ।

झन पछिल्लो समयमा सोलार बत्तीका लागि जथाभावी गाडिएका पोलले पेटीलाई थप साँघुरो बनाइदिएको छ । पेटीका बीच-बीचमै गाडिएका पोलले यात्रुलाई सडकमै धकेल्छ ।

सडकपेटीको बेहाल

काठमाडौंका सडकपेटी पनि अहिले दुरावस्थामा छन् । टायल टाँसिएका पेटी पनि हिँडनै नसकिने अवस्थामा पुगेका छन् ।
धेरैजसो क्षेत्रका सडकपेटीका टायल उप्किसकेका छन् । करोडौं खर्च गरिएको फुटपाथमा पैदलयात्रुलाई हिँडन सकस छ । धेरै स्थानमा पेटीका टायल उप्किएर साइडमा चाङ लगाएर राखिएका छन् ।


मेलम्चीले पनि धेरै पेटीहरुको टायल उप्काएर पाइप बिछ्यायो । तर, काम सकिएपछि तत्कालै पुनः बछि्याउन उसले पनि चासो दिएको छैन । बिछ्याएका ठाउामा पनि टायल उप्किएर यत्रतत्र छरिएका छन् ।

अन्य क्षेत्रमा त यो बेथिती छँदै नै छ, सिंहदरबार र संसद भववसँगै रहेको पेटीमा पनि यो बेहालत देखिन्छ । यसले राजधानीको मात्रै हैन, देशकै प्रतिष्ठामा आँच पुर्‍याइरहेको हेक्का भएर पनि काम गर्नेहरु हात बाँधेरै बसेका छन् ।

पेटीमा ब्यापारीको रजाइँ

काठमाडौंमा धेरैजसो सडकपेटीमा ब्यापारीको रजाइँ छ । आफ्नो पसलभरिको सामान पेटीभरि फिँजाएर ब्यापारीहरु दंग परेर बसेका छन् ।

पैदलयात्रुलाई सडकबाट नहिँडी सुखै छैन । पानीपोखरीका एक बाँसको फर्निचर बिक्री गर्ने पसलका ब्यापारीले अनलाइनखबरले पेटीमा राखिएका समानको तस्वीर खिचेको देखेपछि दुब्र्यवहार नै गरे ।


व्यापारीहरुको यस्तो दादागिरीको अघि काठमाडौं महानगरपालिका नतमस्कत छ । सडक पेटीमा ब्यपार गर्न बस्ने त छँदै छन्, त्यसमाथि पसलका समान पनि पेटीभरि फिँजाएर बस्नेहरुका कारण काठमाडौंको पैदलयात्रा पनि कठीन बनेको छ ।

महानगरपालिकाका नगर प्रहरीले यस्ता ब्यापारीसँग ‘हप्तावारी’ असुल्ने गरेको आशंकालाई यस्ता दृश्यले बल पुर्‍याइरहेकै छन् । विभिन्न स्थानका सडकपेटीमा ग्यारेज र ग्रील उद्योग नै चलिरहेका छन् ।


‘देख्नुपर्ने निकायहरु दृष्टिविहीन जस्तो भएर बसेको छन्, गुनासो हामीहरु बरु अपराधी जस्तो बनेका छौं,’ कमलपोखरीकी स्थानीय मनिता महर्जन भन्छिन्, ‘पेटी ब्यापार गर्नेहरुको हो भने सबै सडकमा ठमेलमा जस्तो गाडी निषेध गरिदिए हुन्छ । सडकमा कुन दिन केले हानेर मार्ने हो थाहा छैन ।’

निर्माण सामग्रीको चाङ

सडकपेटीमा ब्यापार गर्ने मात्रै हैन, निर्माण समाग्री थुपार्ने समस्या पनि उस्तै छ । धेरै पेटीमा अहिले निर्माण सामग्रीको चाङ भेटिन्छन् । त्यसलाई हटाउन पनि जिम्मेवार निकायको कुनै जोडबल छैन ।


घर बनाउने तथा मर्मत गर्नेले पेटीभरि निर्माण सामग्री थुपार्दा महानगरपालिकाको तत्काल कारवाही गरेर हटाउन सक्छ । तर, उसलाई यो विषय समान्य नै लाग्छ । तर, यसको मारमा भने पैदलयात्रु नै परिरहेका छन् ।

निर्माण सामग्रीलाई व्यवस्थापन गर्ने गरी कुनै निकायले याजना पनि बनाएका छैनन् । हप्तौंसम्म पेटीमा थुपारेर राखिने ढुंगा गिट्टी बालुवा, छड, सडक दुर्घटनाको कारण बनिरहेका छन् ।

सवारी फुटपाथमा, यात्रु सडकमा

काठमाडौंमा सडकपेटीमा मौलाउँदो पार्किङको सवाल पनि सँगै छ । पैदलयात्रुलाई सडकमा हिँड्न बाध्य बनाएर फुटपाथमा पार्किङ गर्नेहरु प्रति ट्राफिक प्रहरी पनि ‘एक्सन’ लिन सकिरहेको छैन ।


देशको मुख्य प्रशाशनिक केन्द्र सिंहदरबारसँगैको अनामनगरमा त्यसको विशेष नमूना नै देख्न पाइन्छ । काठमाडौंका पेटीमा हुने सवारी पार्किङ अब सामान्य बनिसक्यो ।

यात्रुलाई सडकमा झार्न बाध्य पार्ने गरी पेटीमा भएको पार्किङ हटाउने आँट कसैले गरेको भेटिन्न । ब्यापारीले अतिक्रमण गरेर बचेका काठमाडौंका सडक पेटी हेर्न हो भने पनि निर्माण ज्यादै अवैज्ञानिक छ ।

बीचमै हराउने पेटी

सडक फराकिलो बनाउने नाममा पेटीलाई खुम्च्याइएको छ । विभिन्न भागमा त सडकपेटी नै बीचमै हराउँछन् । कतिय सडकपेटी पसलभित्र पुगेर टुंगिएका छन् ।


सडक विस्तार भएका अधिकांश सडकमा बनेका पेटी अवैज्ञानिक छन् । कतिपय ठाउँमा त आधा फूटका पेटी छन् ।

‘यस्तो पेटीमा खुट्टा अड्याएर सर्कसका मान्छे मात्रै हिँड्न सक्छन् होला,’ डिल्लीबजार क्षेत्रको पेटी देखाउँदै एक स्थानीयले भने,’ कि सडक साँघुरो पार्नुपर्‍यो कि क्षतिपूर्ति दिएर भए पनि पेटी फराकिलो बनाउनुपर्‍यो ।

काठमाडौंमा कतिपय पेटी स्थानीय घरभित्र नै पुगेर टुंगिन्छन् । केही स्थानमा सडक विस्तारका लागि माथिल्लो तल्ला नभत्काउन पेटीमा पर्ने भागलाई मात्रै खुला गरिदिँदा सुरुङजस्तो पेटी पनि बनेका छन् ।


घरका पिल्लर पनि नहटाई खोलिएका ती पेटी काम नलाग्ने त छँदै छन्, देख्दा उत्तिकै हास्यास्पद पनि लाग्छन् ।
सडकमा देखिने बेथिति यति मात्रै छैनन् । आकासे पुलमा फस्टाएको ब्यापार, ट्राफिक आइल्याण्डको कन्तबिजोक, मेटिएका जेब्राक्रस र ट्राफिक लाइन लगायतले पनि काठमाडौंलाई कुरुप बनाइरहेको छ ।

सँगै सडकमा लेन मिच्दै कुद्ने र जभावावी रोक्ने सवारी र जहाँ मन लाग्यो त्यही बाटो काट्ने पैदलयात्रु पनि सडकको बेथितिका दोषी छन् ।

सडकपेटीका अवैज्ञानिक रेलिङ र सडक छेउमा असरलल्ल बनेका तार पनि काठमाडौंको सभ्यतालाई खोस्ने कारक बनेका छन् । त्यसैले भोट मागिरहेका नेतालाई भनौं, यस्तो बेथिति हामीलाई मान्य छैन #it’s_not_ok





















तस्वीरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment