Comments Add Comment

मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना

२० मंसिर, वीरगञ्ज । मौन अवधि चुनाव प्रचार गर्न तथा मतदातालाई प्रभावित पर्न नपाइने समय हो । तर, यसलाई ‘मनी अवधि’ का रुपमा प्रयोग गर्नेहरु पनि कम छैनन् ।

मौन अवधिमा मतदातालाई पैसा बाँड्न हिँडेको आरोपमा पर्सामा वाम गठबन्धनका तीनजना कार्यकर्ता पक्राउ परे । पर्साको क्षेत्र नं ३ पर्ने पोखरीया नगरपालिका-९ सेमरबारी चोकबाट तीन लाख नगदसहित बहुदरमाई नगरपालिका-७ फुलकौलका अशोककुमार रौनियार, बासुप्रसाद यादव, वृजेश पटे पक्राउ परेका हुन् ।

बुधबार विहान ना १ ह ९३३२ अटो रिक्सामा तीन लाख नगदसहित एमाले चुनाव चिन्हमा छाप लगाएको मतपत्र लिएर गाउँतिर जाँदै गरेको संयुक्त सुरक्षा गस्तीले चेकजाँचको क्रममा पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये अशोक कुमार रौनियार पर्सा क्षेत्र नं ३ का एमाले नेता राजकुमार गुप्ताको भाइ हुन् । उनीहरुविरुद्ध निर्वाचन कसुर सजायँ ऐन अन्र्तगत मुद्दा चलाइएको छ । दोषी ठहर भएमा १ वर्षसम्म कैद र विगो वमोजिम जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धानपछि विवरण सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।

मौन अवधिमा रकमसहित नियन्त्रणमा लिएपछि उम्मेदवार र कार्यकर्तामा हल्लीखल्ली मच्चिएको छ ।

तर, एमालेका एक उच्च नेताले भने २५ लाखसम्म उम्मदेवारले खर्च गर्न पाउने अवस्थामा बुथ खर्च लिएर हिँडेका कार्यकर्तालाई पक्राउ गरिनु आपत्तिजनक भएको बताएको छ ।

मौन समयमा आर्थिक चलखेल भएको भन्दै एक समूहले अर्को समूहविरुद्ध प्रहरीमा सूचना दिइरहेका छन् । रकम बाँड्न गएकाहरुलाई पक्राउ गरेको खबर जताजतै फैलिएपछि भोज भत्तेर भइरहेका ठाउँबाट सूचना आइरहेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।

‘मासु घरघरमा बाँडेको, पैसा दिएको, सारी वितरण गरेको, साइकल दिने आश्वासन दिएको, भगवानका नाममा छोराछोरीको टाउकोमा हात राख्न लगाएर कसम खाएको सूचनाहरु आइरहेका छन्’ रेग्मीले अनलाइनखबरसँग भने ‘मुर्लीबाट त्यस्तै सूचना आएर गएको मासु बाँड्नेहरु मासु नै छोडेर भागेछन् ।’

यस्ता सूचना पाउनेवित्तिकै सुरक्षा निकाय पुगेर कारबाही गरिरहेको दाबी स्थानीय प्रशासनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment