Comments Add Comment

टिप्पणीः ‘राप्रपा नेपाल’ बन्ला त विवेकशील साझा ?

आक्रोश र सदभावको मत कति झर्ला !

२१ मंसिर, काठमाडौं । आइतबार बिहान मतदानस्थलहरुमा पुग्दा विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रविन्द्र मिश्र निकै उत्साहित देखिन्थे ।

चुनावी अभियानका क्रममा मतदाताहरु आफूलाई भेट्दा धुरुधुरु रोएको स्मारण गर्दै मिश्रले भने– ‘यो विगतप्रतिको आक्रोश र हामीप्रतिको उत्साह हो ।’

रविन्द्रले दाबी गरेजस्तै योपटक विवेकशील साझा पार्टी मतदाताहरुको ध्यान तान्न सफल देखिएको छ । त्यसमा पनि शहरी मतदाता उसप्रति आकर्षित भएको देखिन्छ ।

२०७० को चुनावमा शहरी मतदाताको यस्तै रुझान तत्कालीन राप्रपा नेपालप्रति देखिएको थियो ।

यद्यपि राप्रपा नेपाल र साझा पार्टीबीच थुप्रै असमानता छन् । पछिल्लो समय धेरै सत्ताको खेलमा देखिएको राप्रपा निकै आलोचित बनेको छ । यही कारण उसले आफ्नो मत रक्षा गर्न गाह्रो देखिएको छ ।

जबकि विवेकशील साझा पार्टी भने सुसंस्कृत राजनीति गर्ने नारा दिएर आएको छ ।

विवेकशील साझाले काठमाडौंमा पाएको मत तीनखालका देखिन्छन् ।

पहिलोः कांग्रेस, एमाले, माओवादीसहितका दल र तिनका गतिविधिले दिक्क वाक्क भएको आक्रोशित मत । उनीहरुले मत दिनेबेलामा आफूले मतदान गर्दै गरेको विवेकशीलका उम्मेदवारले जित्छ कि हार्छ भन्ने खासै हेरेका छैनन् ।

दोस्रोः ‘सचेत’ मतदाता, जसले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेका छन् । यस्ता मतदाताहरुको संख्या शहरी क्षेत्रहरुमा बढी छन् । र, उनीहरुको सदभावको मत योपटक विवेकशीलले पाएको छ ।

तेस्रोः युवा मतदाता । उनीहरुलाई पनि आफूतिर तान्न विकेकशील साझा पार्टी एक हदसम्म सफल भएको देखिएको छ । उनीहरु राजनीतिक दाउपेच वा आरोप प्रत्यारोपभन्दा पनि विकास होस्, काम गरेर खान पाइयोस् भन्ने सोच राख्छन् ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य आफूहरुको संगठन नभएकाले सद्भावसँग अन्य दलसँग असन्तुष्टि कार्यकर्ताको ‘आक्रोश मत’ पाएको स्वीकार गर्छन् । उनले भने, ‘हाम्रो चुनौती उनीहरुको अपेक्षामा कति खरो उत्रन सक्छौं भन्ने हो ।’

कति पाउँला विवेकशीलले मत ?

उज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी मिलेर विवेकशील साझा पार्टी गठन गर्दा नै उनीहरुको लक्ष्य थियो, राष्ट्रिय पार्टी बन्ने ।

नयाँ संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्ने समानुपातिकमा ३ प्रतिशत मत ल्याउनुपर्छ भने प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नुपर्छ ।

विवेकशील साझाले काठमाडौं जिल्लाका १० सहित ५८ क्षेत्रमा उम्मेदवारी दिएको छ भने प्रदेशसभाका पनि निश्चित सिटमा उम्मेदवार उठाएको छ । काठमाडौं १ मा पार्टी संयोजक रविन्द्र मिश्र र ५ मा उज्जव थापा उम्मेदवार छन् । काठमाडौं २ मा पार्टी प्रवक्ता सूर्यराज आचार्य आफैं उठेका छन् ।

यो पटक मिश्रको उम्मेदवारीले देशभर माहौल बनाउन निकै मदत गरेको नेताहरु स्वीकार गर्छन् । मिश्र बीबीसीका पूर्वपत्रकार समेत हुन् र उनी राजनीतिमा आएसँगै चर्चाको केन्द्रमा थिए । उम्मेदवार बनेपछि उनीप्रति धेरैको सद्भाव देखियो ।

काठमाडौंमा प्रत्यक्षतर्फ केही सिट जित्ने दाबी गर्दै विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्य भन्छन्, ‘काठमाडौंको १, ५, २ सँगै ७ मा राम्रो छ । ९ पनि राम्रो छ ।’

कैलाली ५ मा पनि आफ्नो पार्टीका उम्मेदवार प्रतिस्पर्धामा रहने उनले दाबी गरे । अन्य क्षेत्रमा पनि आफ्ना उम्मेदवारले सम्मानजनक मत पाउने विश्वास रहेको बताए ।

समानुपातिकतर्फ भने ३ प्रतिशतको थ्रेसहोल्ड सहजै कट्ने विकेकशील साझाको दाबी छ । ‘मतदाताको उत्साह हेर्दा त १० प्रतिशत पुग्न पनि असम्भव छैन तर, हामीले कम्तिमा ६/७ प्रतिशत मत पाउने विश्लेषण गरेका छौं’ आचार्यले भने ।

यो निर्वाचनमा १ करोड ५४ हजार मतदाता छन् । पहिलो र दोस्रो चरणको समग्रमा ७० प्रतिशत मत खस्ने हो र केही बदर हुन्छ भन्ने मान्ने हो भने थ्रेस होल्ड कट्न ३ लाख आसपास मत ल्याउनुपर्ने देखिन्छ ।

यदि विवेकशील साझाले दाबी गरेअनुसार ६/७ प्रतिशत मत ल्याउने हो भने ६/७ सिट पाउनेछ ।

तर, भर्खरै खुलेको र व्यवस्थित नभइसकेको यो पार्टी राष्ट्रिय दल बन्न सकेन भने पनि त्यो चाहिँ अनौठो हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment