Comments Add Comment

कमला रोकाः पहिलो महिला छापामारदेखि सांसदसम्म


२२ मंसिर, काठमाडौं । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे ।

कमला रोकाको जन्म २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा भएको थियो । उनी माओवादी जनयुद्धको पहिलो महिला छापामार हुन् ।

२०४६ सालदेखि नै राजनीतिमा लागेको बताउने उनी कक्षा १० पढ्दा पढ्दै भूमिगत भएकी थिइन् । उनी २०५२ सालबाट तत्कालीन नेकपा माओवादीमा पूर्णकालीन भइ भूमिगत राजनीति सुरु गरेकी हुन् । माओवादीले जनयुद्ध लड्न बनाएको छापामारको उनी सदस्य थिइन् र ठूलाठूला युद्ध मोर्चाहरुको अग्रभागमा रहेर लडिन् । उनी माओवादीको पहिलो महिला छापामार हुन् ।

०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य भएकी कमला ०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भइन् । अहिले उनी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य छिन् ।

रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मिएकी कमला लेखिका पनि हुन् । कथा तथा निबन्ध लेख्ने कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र ‘सारी सोल्जर’मा रहेका पात्रहरूमध्ये एक हुन् ।

उनको श्रीमान् पूर्व आपूर्तिमन्त्री एवम् पूर्व वाईसीएल अध्यक्ष गणेशमान पुन हुन् । कमला आफै युवा तथा खेलकुद मन्त्रीसमेत बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment