Comments Add Comment

स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

हिमालपारीको जिल्ला मनाङमा एमालेले यसरी रच्यो इतिहास

पोल्देन छोपाङ गुरुङ

२२ मंसिर, मनाङ । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि अनलाइनखबरमा विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो ।

एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा कांग्रेसका टेकबहादुर २ हजार २१ मतमा रोकिए ।

प्रदेशसभातर्फ भने कमा कांग्रेसका चिन्तबहादुर घले बिजयी भएका छन् भने खमा एमाले समर्थित स्वतन्त्र उम्मेदवार राजिव गुरुङ उर्फ दिपक मनाङ्गे विजयी भएका छन् । मनाङको राजनीतिक इतिहासमै एमालेको यो पहिलो विजय हो ।

को हुन् पोल्देन ?

मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पोल्देन छोपाङ गुरुङ पेशेवर राजनीतिकर्मी होइनन् । ०७० सालको संविधानसभा निर्वाचनपछि एमालेमा प्रवेश गरेका पोल्देन मनाङका स्याउ कृषक हुन् ।

उनले एशियाकै उत्कृष्ट स्याउ फारम चलाएर मनाङमा ख्याती कमाएका छन् । होटल व्यवसाय समेत गर्ने पोल्देन पार्टीका जिल्ला अध्यक्ष पनि हुन् । यसपटक उनका भाइ त्रिपल पी गुरुङले टिकट पाउने चर्चा थियो, तर टेकबहादुरलाई हराउन भाइले दाइलाई अघि सारे ।

चुनावको केही समयअघि ठमेलका मर्स्याङ्दी होटलमा भेटिएका पोल्देनले आफू राजनीतिक कार्यकर्ताभन्दा पनि कृषक र व्यवसायी भएको बताएका थिए । मनाङमा टेकबहादुर गुरुङको ‘शासन’ ढाल्न आफूहरु एमाले भएको बताएका थिए उनले ।

यस्तो छ मनाङको चुनावी इतिहास

संसदीय चुनावको इतिहासमै रेकर्ड राख्ने जिल्ला पनि मनाङ हो । ०५६ सालको आम निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध निर्वाचित भएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । ०६४ सालको पहिलो संविधानसभालाई अपवाद मान्ने हो भने मनाङमा कांग्रेसले सधैं जित्दै आएको छ ।


०४८, ०५१ र ०५६ का संसदीय चुनावमा एमालेले मनाङमा उम्मेदवार पनि पाएको थिएन । ०६४ को पहिलो संविधानसभा चुनावमा एमालेले पहिलोपटक मनाङमा उम्मेदवार उठाएको थियो, जसले ४७ भोट पायो ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेको मत ४७ बाट बढेर ८० पुग्यो । तर ०७० को चुनावको ८० भोट ०७४ को स्थानीय चुनावमा आउँदा बढेर १३ सय कटाउन सफल भएको एमाले प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा आउँदा विजयको इतिहास रच्न सफल भयो ।

०७० सालको चुनावमा कांग्रेसका टेकबहादुर गुरुङसँग ३ सय मत अन्तरमा पराजित राप्रपाका त्रिपल पी गुरुङको समूह नै एमाले प्रवेश गर्‍यो । मनाङमा त्रिपल पी र उनका दाजु पोल्देन छोपाङ गुरुङहरुले एमालेको नेतृत्व गरे । यसमा टेकबहादुर गुरुङबाट पीडित भएका कांग्रेसहरु पनि सहभागी भए ।

यसको परिणाम वैशाखमा सम्पन्न स्थानीय चुनावमा देखियो । जिल्लाका ४ स्थानीय तहमध्ये २ वटामा एमालेले जितेपछि कांग्रेसको परम्परागत गढ तोडियो । एमालेले सदरमुकाम चामे र सबैभन्दा धेरै मतदाता रहेको नेस्याङ गाउँपालिका जितेर जिल्लाको सबैभन्दा ठूलो दल बन्यो ।

केही वडा जितेको राप्रपाको सानो समूह पनि दीपक मनाङ्गेसँगै एमाले प्रवेश गरिसकेपछि एमालेको जित हुने अनुमान धेरैले गरिसकेका थिए । दीपक मनाङ्गेको इमेज काठमाडौंमा जसरी ‘डन’को छ, मनाङमा भने उनी समाजसेवी बनेर प्रस्तुत भए र प्रदेशसभा खमा चुनाव जिते ।

एमालेले चर्को विरोध हुने देखेपछि दीपक मनाङ्गेलाई टिकट दिएन । तर उनी स्वतन्त्र उम्मेदवार बने । एमालेकी उम्मेदवार खण्डाला गुरुङले दीपकलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि एमालेले उनलाई समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment