Comments Add Comment

कांग्रेसको आश दोस्रो चरणमा, बालकृष्ण खाँड भन्छन्- राम्रो नतिजा आउँछ

'व्यवस्थापकीय कमजोरीले मनाङ र मुस्ताङका सिट गुमायौं'


२२ मंसिर, काठमाडौं । पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ ।
कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘पहिलो चरणमै पनि बाँकी जिल्लाको मत गन्दा हाम्रो सिट सुधि्रन्छ । दोस्रो चरणको चुनावमा त हाम्रो स्थिति धेरै सुधि्रएको छ ।’

खाँडको बुझाइमा पहिलो चरणमा वाम गठबन्धन कांग्रेसभन्दा भारी नै थियो, कतिपय चुनावी क्षेत्रहरुमा ।

‘कांग्रेसको संगठनको व्यवस्थापनका केही कमी कमजोरी थिए । मनाङ, मुस्ताङलगायत जिल्लामा व्यवस्थापकीय क्षमता कम भएकै हो,’ खाँडले भने ।

मनाङमा हालसम्मका सबैजसो निर्वाचनमा कांग्रेसले विजय हासिल गर्दै आएको थियो । यसपटक व्यवस्थापकीय क्षमताको कमजोरीकै कारण उक्त सिट गुमाउनुपरेको खाँडको विश्लेषण छ ।

खाँडले अनलाइनखबरसँग भने, ‘दोस्रो चरणमा धेरै मिहिनेत गरेका छौं, साथीहरुलाई पनि धेरै हदसम्म साथमा लिएका छौं ।’

तथापि, दोस्रो चरणमा पनि केही जिल्लामा व्यवस्थापकीय क्षमता अब्बल हुन नसकेको खाँडले स्वीकारे ।

‘अधिकतम कोशिस गरिएको हो । केन्द्रीय प्रतिनिधिहरु नै पठाएर केन्द्रले पहलकदमी र चासो देखाएकै थियो,’ उनले भने, ‘देशव्यापी मिडिया सेन्टर स्थापना गरेर प्रचार प्रसारलाई व्यापक बनाइएको थियो ।’

कांग्रेस एक भएर चुनावी मैदानमा होमिएकाले दोस्रो चरणको नतिजा राम्रो हुने आशा रहेको खाँडको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment